गाई व्यवस्थापनमा समस्या

बैशाख १५, २०७६

एटुजेट अनलाइन खबर

दमौली, वैशाख १५ – तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा निर्माण हुँदै गरेको गौसंरक्षण केन्द्रका गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । दिनदिनै छाडा गाई थपिने क्रम बढेसँगै संरक्षण केन्द्रलाई नै गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको हो । त्यसले गर्दा संरक्षण केन्द्रका चार गाई मरेको छ । छाडा चौपाया व्यवस्थापनका लागि शुक्लागण्डकी नगरपालिकाको रु १७ लाखको लगानीमा निर्माण हुँदै गरेको केन्द्रमा रहेका २५० मध्ये चार गाई मरेको शुक्लागण्डकी नगरपालिका–९ का अध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।

केन्द्रमा दिनदिनै गाईहरू थपिने क्रम बढेसँगै आहारा अभाव हुन थालेको छ । उनका अनुसार संरक्षण केन्द्रमा दैनिक १० गाई थपिएका छन् । ‘खानेकुराको प्रबन्ध राम्रोसँग गर्न सकिएको छैन, तराईबाट रु ६० हजारमा ल्याइएको परालसमेत सकिएको छ’, उनले भने ।

गाईलाई पानी खुवाउन सोही ठाउँमा पोखरी खनिएको छ । तर उक्त पानी स्वस्थ छ कि छैन भनेर परीक्षण गर्न समस्या परेको छ । ‘गाईहरू दैनिकरूपमा थपिदै जाने र गाईलाई आहारा खुवाउन नसक्दा समस्या हुने देखिएको छ’, उनले भने ।

 

गाईहरूले संरक्षण केन्द्रकै हाताभित्र रहेको दुवो घाँस खाएकाले केन्द्रको चौर बालुवामा परिणत भएको छ । केन्द्रका गाईको हेरचाहका लागि नगरपालिकाबाट केही दिनअघि मात्रै दुई हेरालो खटाइएको छ । हेरालोले गाईलाई घाँस भएको ठाउँमा चराउन लैजाने भएका छन् । ‘खानेकुरा नपुगेपछि समय मिलाएर गाईलाई चराउन लैजाने व्यवस्था मिलाएका छौँ’, उनले भने ।

 

नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्या भएपछि निर्माण शुरु भएको संरक्षण केन्द्र अझै सकिएको छैन । गौसंरक्षण समितिका संयोजक गीता महतका अनुसार हाल ट्रष्ट निर्माणको काम भइरहेको छ । ६०० रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा जग्गालाई तारबार, चौपायाका लागि खानेपानीको लागि पोखरी निर्माण भइसकेको छ ।

 

छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात अवरोध हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।