टोखा र तारकेश्वरमा निःशुल्क स्वास्थ्य शिविर

बैशाख १५, २०७६

एटुजेट अनलाइन खबर

काठमाडौँ, वैशाख १५ – सामाखुशीस्थित अल नेपाल अस्पताल र गोँगबुस्थित जनकल्याण सामाजिक केन्द्रको आयोजनामा टोखा र तारकेश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोे छ ।

अस्पताल र केन्द्रको आयोजनामा टोखा नगरपालिकाका ११ वडा, तारकेश्वर नगरपालिकाका ११ वडा र काठमाडौँ महानगरपालिकाका वडा नं ३ र २६ मा सो शिविर सञ्चालन गरिएको हो ।

टोखा नगरपालिकाका छ वडामा उक्त शिविर सञ्चालन भइसकेको जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए । ‘आगामी दिनमा टोखा र तारकेश्वरका सबै वडाका साथै महानगरपालिकाका दुईवटा वडामा शिविर सञ्चालन गछौँ’, उनले भने ।

 

शिविरमा पाठेघर अर्बुद रोगको उपचारका साथै उपचारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । अल नेपाल अस्पतालका प्रबन्ध निर्देशक निर्मल सापकोटाले टोखाका जनतालाई टाढा गएर उपचार गराउन समस्या परेकाले सामाजिक संस्थासँग सहकार्य गरेर शिविर सञ्चालन गर्दै आएको बताए ।

 

विसं २०७० मा सामाजिक काम गर्ने उद्देश्यका साथ स्थापना भएको उक्त केन्द्रले गोरखा, चितवन, नुवाकोट, सिन्धुपाल्चोकलगायत क्षेत्रमा स्वास्थ्य शिविर, राहत वितरणजस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।