भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’

बैशाख १५, २०७६

एटुजेट अनलाइन खबर

बनेपा, वैशाख १५ – भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन ।

जिल्लाभरिमा भूकम्पले क्षति पु¥याएका घरमध्ये अहिलेसम्म करीब ४० प्रतिशतले मात्रै तेस्रो किस्ता लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्कमा उल्लेख छ । जम्मा क्षति पुगेका लाभग्राहीमध्ये १० प्रतिशतले त सम्झौता गर्न नै बाँकी रहेको विवरणमा उल्लेख छ । स्थानीय तहका प्रमुखहरूले भने गाउँमा इञ्जिनीयर पर्याप्त मात्रमा नहुनु र भएका पनि गाउँमा नबस्ने गरेका कारण छिटो काम हुननसकेको बताएका छन् ।

पछिल्लो समयमा पुनःनिर्माणका काम स्थानीय तहबाट नै गर्ने गरी गुनासो सुनुवाइ र पुनःसर्वेक्षण गर्ने भनेर प्रशिक्षण गोष्ठी सञ्चालन गरेको भए पनि इञ्जिनीयर र प्राविधिक नखटाएको कारण कुनै पनि काम अगाडि नबढेको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताए ।

 

सो गाउँपालिकामा अहिलेसम्ममा ३७ प्रतिशतले तेसो किस्ता लगेका छन् भने ६६ प्रतिशतले दोस्रो र ८७ प्रतिशतले मात्रै पहिला किस्ता लगेको तथ्याङ्कमा उल्लेख छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भएका लाभग्राहीको पुनःनिर्माणको काम सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताए । जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने काम र लाभग्राहीले निर्माण गर्ने भूकम्प प्रतिरोध घर निर्माणमा तेस्रो किस्ता लिनेको सङ्ख्या ५१ प्रतिशत रहेको उनको भनाइ छ ।

 

जनस्तरबाट काम भइरहेको भए पनि प्राविधिक र इञ्जिनीयर पर्याप्त मात्रमा नहुँदा समस्या भएको उनले बताए ।

 

सो गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ५१ रहेको छ भने दोस्रो किस्ता लिनेको सङ्ख्या ८२ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ९७ प्रतिशत रहेको छ । उता खानीखोला गाउँपालिकामा पनि जनशक्ति अभावका कारण पुनःनिर्माणको कामलाई प्रभावित बनाएको पालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए । ‘भूकम्प लाभग्राही घर बनाउन लागिरहेका छन्, तर समयमा नै प्राविधिक र इञ्जिनीयरको उपस्थिति नहुँदा ढिला भइरहेको छ’, उनले भने, ‘एकातिर प्राविधिक र इञ्जिनीयर पर्याप्त छैनन्, अर्कोतिर भएका इञ्जिनीयर पनि गाउँमा नजाने र नबस्ने गरेका कारण पनि समस्या उत्पन्न भइरहेको छ ।’

 

लाभग्राहीलाई समयमा नै उचित परामर्श र प्राविधिक सल्लाह नभएका कारण करीब ८०÷९० लाभग्राहीले एककोठे मात्रै घर बनाएर सम्पन्न गरिसकेको भए पनि पछि प्राविधिक रुपले उपयुक्त नभएका कारण किस्ता नै रोकेर समस्या भइरहेको बताए ।

 

जिल्लामा स्थानीय तहगत हिसाबले पुनःनिर्माणको क्रममा भएको प्रगतिमा बनेपा नगरपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३३ प्रतिशत र ४६ प्रतिशतले दोस्रो किस्ता तथा ८९ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् । बेथानचोक गाउँपालिकामा ३८ प्रतिशत तेस्रो किस्ता, ६६ प्रतिशत दोस्रो किस्ता र ८६ प्रतिशत पहिला किस्ता लिइसकेका छन् । स्थानीय तहमध्ये भुम्लु गाउँपालिकामा ६३ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन् । त्यस्तै ७९ प्रतिशत दोस्रो किस्ता र ९४ प्रतिशतले पहिला किस्ता लिइसकेका छन् ।

 

उता पनौती नगरपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३५ प्रतिशत, दोस्रो किस्ता लिनेको सङ्ख्या ५१ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८८ प्रतिशत रहेको छ । रोशी गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३८ प्रतिशत रहेको छ भने दोस्रो किस्ता लिनेको सङ्ख्या ६५ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८५ प्रतिशत रहेको छ भने तेमाल गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३८ प्रतिशत रहेको छ । त्यस्तै दोस्रो किस्ता लिनेको सङ्ख्या ६४ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८६ प्रतिशत रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्कमा उल्लेख छ ।