हुम्लामा अज्ञात रोगले आठको मृत्यु, गुल्मीमा दूषित पानी पिउँदा ९८ बिरामी

बैशाख १५, २०७६

एटुजेट अनलाइन खबर

हुम्ला, वैशाख १५ – अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन ।

एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् । शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले बताएका छन् । एक हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेमा सो गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् । वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।

स्वास्थ्यचौकीमा पर्याप्त मात्रामा औषधि नभएको र स्वाथ्यकर्मी नबसेकाले बिरामीको सङ्ख्या बढेको गाउँपालिका अध्यक्ष बागचल छत्याल मल्लले बताए । मृत्यु हुनेको श्वासप्रश्वास र दमसम्बन्धी समस्या रहेको उनको भनाइ थियो ।

घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । अहिले रोग सङ्क्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको अध्यक्ष मल्लले बताए ।

दूषित पानी पिउँदा ९८ बिरामी

तम्घास, वैशाख १५ – गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् । बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य छको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिनुभएको छ ।

बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त ठाउँमा अचानक मङ्गलबार केही मानिस सामान्य रूपमा बिरामी परेको र त्यसपछि विस्तारै मानिस बिरामी पर्दै जान थालेपछि नगरपालिकाले बिहीबार जिल्ला जनस्वास्थ्यको टोलीलाई खबर गरेपछि जिल्ला जनस्वास्थ्यको टोली उक्त क्षेत्रमा पुगेर शिविर सञ्चालन गरी बिरामीको उपचार गरेको थियो ।

दूषित पानी सेवन गरेका कारण बिरामी परेका अधिकांश मानिसमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत महेश श्रेष्ठले बताए । दूषित पानीका कारण मानिस बिरामी परेपछि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उक्त पानी कसरी दूषित भयो भन्नेबारेमा पानीको परीक्षण गरिने बताए ।

उक्त ठाउँमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको र सामान्य बनेको बताइएको छ । जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले स्थिति सामान्य बन्दै गएको भन्दै बिरामी थप उपचार गरेर सदरमुकाम तम्घास फर्किएको बताएका छन् । उक्त ठाउँमा अहिले स्थानीयस्तरमा रहेका छ स्वास्थ्यकर्मी अस्थायी शिविरमा रहेका बिरामीको रेखदेखमा खटिएका छन् । खानेपानीको समस्या भएको उक्त ठाउँमा नुरखोलाबाट बगेको दूषित पानी स्थानीयवासीले उपभोग गर्न बाध्य बनेको स्थानीय हरि छन्तेलले बताएका छन् ।