एसइइ डान्स च्याम्पियनशिप

चैत १२, २०७५

एटुजेट अनलाइन

काठमाडौं, चैत १२ – एसइइका विद्यार्थीरूलाई मञ्च र अवसर प्रदान गर्न नेपालमा ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ हुने भएको छ । कार्यक्रमका परिकल्पनाकार महेश गोदारले नृत्य मनोरञ्जनको साधन मात्र नभई सीपसहितको शिक्षा हो भन्ने सर्वव्यापी मान्यतालाई स्थापित गराउन कार्यक्रम गर्न लागिएको बताए ।

उनले बैशाख १० गतेबाट २५ गतेसम्म देशका विभिन्न शहरमा अडिसन हुने र अडिसनबाट ६० जनालाई टिभी राउण्डमा ल्याइने बताए । ‘टिभी राउण्डमा आएका ६० जनालाई प्लस टु पढनका लागि शत प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ’, उनले भने, ‘विजेतालाई नगद १ लाख रुपैयाँसहित स्कुटर प्रदान गरिनेछ । त्यस्तै उपविजेतालाई नगद ३० हजार, तृतियलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

म्याम्स टिभिका महाप्रबन्धक दिनेश सुवेदीले कार्यक्रममा भोटिङ राउण्ड नहुने भएकाले निष्पक्ष निर्णय हुने दाबी गरे । कार्यक्रमको निर्णायकमा कोरियोग्राफर गम्भिर विष्ट, नन्दा बस्याल र प्रेम श्रेष्ठ रहेका छन् ।
म्याक्स टिभीको प्रस्तुतीमा बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा हुन लागेको कार्यक्रम एनटिभी प्लस र म्याक्स टिभी अन्तर्गत १० भन्दा बढी च्यानलबाट प्रसारण हुनेछ । अडिसन पोखरा, काठमाडौं, धरान, बिर्तामोड, कोहलपुर, सुर्खेत, धनगढी, बुटवल, नारायणघाट, धादिङ, इलाम र बनेपामा हुनेछ ।