छोरी सुहानाको सफलता कुर्दै आमा झरना

चैत १६, २०७५

एटुजेट अनलाइन

काठमाडौं, चैत १६ – केही दिन अगाडि आयोजित चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक झरना थापाले छोरी सुहाना थापाको करिअरलाई लिएर मन छुने कुरा गरिन् । झरनाले भनेकी थिइन्–‘मैले यो चलचित्रबाट छोरीलाई डेब्यू गराउँदैछु । आजबाट मैले मेरी छोरी सुहानालाई तपाइहरुमाझ छाड्दैछु । जसरी, एउटा स्कुलमा एउटा अभिभावकले आफ्नो बच्चालाई लिएर जान्छ र त्यहाँ छाड्छ । उ राम्रो र योग्य मानिस बनोस् भनेर उसले स्कुलमा छाडेर जान्छ ।’
झरनाको भावना यतिमात्र मात्र रोकिएन । उनले छोरीको बारेमा भनिन्–‘मैले मेरी छोरीलाई म हिडेको बाटोमा लिएर आएकी छु । मैले मेरी छोरी सुहानालाई तपाइहरुमाझ छाड्दैछौ, अब तपाइहरुको आर्शिवादको आवश्यकता छ ।’

उनले चलचित्र हेरिसकेपछि छोरीको कामलाई दर्शकले मन पराउने दाबी गरिन् । उनले आफूले दर्शकको मनमा छाप छाडेको भन्दै छोरीले पनि त्यस्तै छाप छाड्ने विश्वास समेत व्यक्त गरिन् । झरनाको बोलीमा छोरीप्रतिको माया र करुणा थियो । सायद, यो कुरा सुहानाले पनि महशुश गरेको हुनुपर्छ ।
झरनाको यो बोलीमा छोरीको करिअरप्रतिको चिन्ता र उनीप्रतिको विश्वास स्पष्ट झल्किएको थियो । झरनाले छोरी सुहानालाई चलचित्र क्षेत्रमा अहिले नै ल्याउने सोच बनाएकी थिइनन् । तर, झरनाको सोच भन्दा अगाडि नै सुहाना नायिका बनेकी छिन् ।
छोरीको करिअरको चिन्ताले झरनालाई सताउन थालेको प्रष्ट हुन्छ । अर्कोतिर, सुहाना पनि आफ्नी आमाले पाएको सफलता आफूले पाउन सक्छु या सक्दिन भन्नेमा चिन्तित देखिएकी छिन् । झरना र सुहानाको यो माया लोभलाग्दो छ । दर्शकले ‘ए मेरो हजुर ३’लाई मन पराइदिएको खण्डमा झरना र सुहानाको अनुहारमा नयाँ चमक आउने पक्का छ ।