स्वास्थ्यकर्मीबाट तलबभत्ता माग

चैत १७, २०७५

एटुजेट अनलाइन

सिञ्जा, चैत १७ – जुम्लाका सात स्थानीय तहका स्वास्थ्यकर्मीले तलबभत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले स्वास्थ्यकर्मीको छ महीनाको तलबभत्ता भुक्तानीका लागि माग गरेका हुन् ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, नेपाल नर्सिङ सङ्घलगायतले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत सो ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादव जुम्ला आइपुग्ने कार्यक्रम भएकाले तलबभत्ताका लागि परामर्श गरिदिन आग्रह गरेका थिए ।

ज्ञापनपत्रमा कात्तिकदेखि हालसम्मको तलबभत्ता नपाएको र पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले कर्मचारीको दैनिक जीवन कष्टकर भएको उल्लेख गरिएको छ ।

सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षिकरूपमा अपुग हुँदै आएकाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि आवश्यक पहल गरिदिनसमेत माग गरेका हुन् ।

उनीहरूले समायोजन प्रक्रियामा प्रशासनतर्फका कर्मचारीलाई एक तह बढुवा गरी समायोजन गरेकाले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि सोहीअनुसार एक तह बढुवा गरी तहगत प्रणालीमा सम्मानजनक समायोजन गर्न माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले स्वास्थ्यकर्मीले तलब नपाएको विषयमा स्वास्थ्यमन्त्रीसँग कुरा राख्ने बताए ।