सङ्ग्रहालय सहितको ‘झापा नाटक घर निर्माण गरिने

चैत १७, २०७५

एटुजेट अनलाइन

सुरुङ्गा, चैत १७ – बहुजातीय , सांस्कृति सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माणका लागि पहल थालिएको छ । सो कार्यका लागि झापामा एक सातासम्म नाटकमञ्चन गरी रकम सङ्कलन गर्न लागिएको हो ।

प्रदीप नेपालद्वारा लिखित ‘वर्वरिक उपन्यास’लाई झोराहाट नाट्य समूहका संयोजक भरत गुरागार्इंले नाट्यमा रुपान्तरण गर्नुभएको थियो । आगामी वैशाख ७ गतेदेखि १३ गतेसम्म बिर्तामोडमा उक्त नाटक देखाइने क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले जानकारी दिए । उनका अनुसार सो नाटकबाट सङ्कलित रकमले झापामा सङ्ग्रहालय सहितको नाटक घर निर्माण गरिने छ ।
झण्डै रु २५ करोडको लगतमा निर्माण गरिने नाटक घरका लागि स्थानीय मनोज निरौलाले रु एक करोड बराबरको साढे तीन कठ्ठा जमीन प्रदान गर्नुभएको छ ।

पार्किङसहितको साततले नाटक घर निर्माणका लागि अहिले विस्तृत गुरुयोजना तयार भइरहेको बताउँदै अध्यक्ष कल्पितले भने,‘पहिलोचरणमा नगरपालिकाको सहयोगमा नाटक घर निर्माणका लागि पूर्वाधार जुटाइँदैछ । अहिले नाटक घर निर्माणस्थलसम्म पुग्न बाटो कालोपत्रे, विद्युत्, खानेपानीलगायत पूर्वाधारको काम भइरहेको छ ।’

नाटक मञ्चनबाट रु २० लाख सङ्कलन गरिने र भवन निर्माणको प्रारम्भिक काम शुरु गर्न देवी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानु प्रसार्इंको संयोजकत्वमा १५ सदस्यीय नाटकमञ्चन समिति गठन गरिएको छ ।

यसअघि उक्त नाटक काठमाडँौँस्थित कुञ्ज थ्रिएटर र राष्ट्रपति भवनसहित देशका विभिन्न ठाउँमा मञ्चन गरिएको थियो ।