टिभी नायिका जुहीले भनिन्, ‘२१ मार्चको राती मृत्युसँग भएको थियो सामाना’

चैत १८, २०७५

एटुजेट अनलाइन खबर

काठमाडौं, चैत १८ – टेलिभिजन नायिका जुही परमारले हालै आफ्नो इन्स्टाग्राम पोष्टमा केही दिन अघि आफूले मृत्युसँग सामना गर्नुपरेको र त्यसपछि कसरी बच्न सफल भइन् भनेर जानकारी दिएकी छिन् ।

जुहीले आफ्नो पोष्टमा लेखिन्, ‘२१ मार्च अर्थात् होलीको रात मेरो स्वास्थ्य एक्कासी खराब भयो । म सास फेर्न सकिरहेको थिइनँ । मेरो सास रोक्किएको थियो र म पाँच मिनेट पनि बाँच्दिन होला जस्तो भएको थियो । मैले एकजना साथीलाई छोरी समायराको हेरबिचार गरिदिन पनि आग्रह गरेँ । म त्यतिबेला साथी आश्का गोराडियाको घरमा थिएँ । उनले मलाई तत्काल अस्पताल लिएर गइन् । त्यतिबेला मैले मेरो जीवनको प्रत्येक पल सम्झिएँ । त्यतिबेला सबैजना मबाट टाढा गइरहेको भान भयो । मेरो आत्मा मबाट जाँदै गरेको महसुस भएको थियो । तर म यस्तो होस् भन्न चाहन्नथिएँ किनभने म आफ्नी छोरीसँग बस्न चाहन्थेँ । मैले त्यतिबेला भगवानसँग कुरा गरेँ । मैले भगवानसँग माफी मागेँ र छोरीका लागि जीवनदान दिन आग्रह गरेँ ।’

सबैलाई माफी दिएँः जुही

जुहीले थपिन्, ‘सबैले सोच्छन् कि म निकै स्ट्रङ्ग महिला हुँ तर स्ट्रङ्ग महिलासँग पनि मन हुन्छ । मलाई पनि नराम्रो लाग्छ, मलाई पनि पीडा हुन्छ । त्यतिबेला मैले आफ्नो सम्बन्धविच्छेद बारे पनि सोचेँ र एक्लो अभिभावक हुनेबारे पनि सोचेँ, मैले आफ्नी छोरीको बारेमा मात्र सोचेँ ।’

‘मैले ती हरेक व्यक्तिलाई माफी दिएँ जसले ममाथि गलत गरेका थिए । म यस्तो समयमा कसैसँग पनि दुश्मनी मोल्न चाहँदैनथेँ । हाम्रो सबैभन्दा ठूलो खुसी यो हो कि हामी सास फेरिरहेका छौं । जतिबेला हामी सास फेर्न बन्द गर्छौं त्यो पल सबै समाप्त हुन्छ । यति नै बेला मैले सास फेर्नुको वास्तविक अर्थ बुझेँ । म ती सबैलाई धन्यवाद दिन चाहन्छु जसका कारण मैले अर्को बिहान देख्न पाएँ ।’

जुही परमार र सचिन श्रोफले सन् २००९ मा विवाह गरेका थिए । विवाहको दुई वर्ष पछि नै उनीहरुको सम्बन्ध बिग्रन थाल्यो । जुहीले श्रीमान्सँग सन् २०१८ मा सम्बन्धविच्छेद गरिन् । रिपोर्टका अनुसार जुहीले श्रीमान् सचिनसँग सम्बन्धविच्छेद गरेबापत् कुनै सम्पत्ति वा पैसाको माग गरिनन् ।