‘सेयर बजारकाे विशेषता नै घटबढ हुनु हाे’

चैत १८, २०७५

एटुजेट अनलाइन खबर

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साढे तीन वर्ष पहिलेकै विन्दुमा ओर्लिएको छ। पुँजी बजार मापक नेप्से २०७२ साउन ३१ मा १११२.०५ विन्दुमा रहेको थियो। अहिले नेप्से पुनः त्यही १११२.८७ विन्दुमा आइपुगेको छ। नेप्से यसरी ओरालो लाग्नुको कारणका बारेमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंश:

सेयर बजार निरन्तर ओरालो लागेको छ। यसरी घट्नुको कारण के हो जस्तो लाग्छ ?
सेयर बजार घट्नुको मुख्य कारण त बैंकमा लगानीयोग्य पुँजी (तरलता) को कमी नै हो। तरलता अभावको कारण सेयरधितोमा राखेर लिने ऋणको ब्याजदर वृद्धि हुन पुुग्यो। उच्च ब्याजदरमा लिएर सेयर खरिद गर्दा नाफा हुँदैन। ८ प्रतिशतसम्ममा पाइने ऋणको ब्याजदर अहिले १६ प्रतिशतसम्म पुगेको छ। त्यति महँगो ब्याजदरमा रकम लिएर सेयर बजारमा लगानी गर्दा नाफा गर्न सकिँदैन। कम्तीमा पनि ब्याजदर सिंगल अंकमा आउनुपर्छ। सेयर बजार घट्नुको दोस्रो कारण, मागभन्दा आपूर्ति बढी भयो। दुई अर्ब चुक्ता पुँजी भएका बैंकले ८ अर्ब पुर्‍याए। चुक्ता पुँजी बढाउनका लागि बैंक तथा वित्तीय संस्थाले धमाधम बोनस र हकप्रद सेयर जारी गरे। यसले गर्दा बजारमा सेयरको संख्या बढ्यो। तर, खरिद बिक्रीकर्ता भने सेयर संख्यामा वृद्धि भएअनुसार बढ्न सकेनन्। तेस्रो कारण, मार्केटमेकरको अभाव हो। बजार अत्यधिक घट्न थालेपछि ठूला ठूला संस्थाले सेयर खरिद गर्ने चलन बंगालादेश र चीनमा छ। नेपालमा पनि त्यस्तै किसिमको मार्केट मेकर भइदिएको भए यति धेरै बजार ओरालो लाग्ने थिएन। नेपाल नागरिक लगानी कोष, सञ्चय कोषजस्ता ठूला संस्थाहरू मार्केट मेकरका रुपमा आउनुपर्छ । ती संस्था अचाक्ली बजार बढ्यो भने सेयर बिक्री गरेर बजारलाई नियन्त्रण गर्ने र निरन्तर ओरालो लागेर धराशयी हुन लाग्यो भने खरिद गरेर सेयर बजारलाई बचाउने काम मार्केटमेकरले गर्नुपर्छ। त्यस्तो व्यवस्था हुन सकेको छैन।

ओरालो लागेको सेयर बजारलाई उकास्नका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
पहिलो कुरा त ऋणको ब्याजदर १० प्रतिशतभन्दा कममा आउनुपर्‍यो। दोस्रो मार्केट मेकरको काम गर्नका लागि नागरिक लगानी कोष, सञ्चय कोष जस्ता संस्थालाई ल्याउनु पर्‍यो। तेस्रो प्राथमिक सेयर जुन असार साउनको भेल जस्तै आएका छन्, त्यसलाई रोक्नुपर्छ। सेयर बजारको दायरा बढाउनु पर्छ । ७७ जिल्लामै सेयर बजारका बारेमा जनचेतना जगाउने काम गर्न सक्नुपर्छ। यी यस्ता कुरामा ध्यान दिन सकिएको खण्डमा सेयर बजारमा सुधार आउने छ।

तपाई सेयर बजार सुधार हुने कुरामा कतिको विश्वस्त हुनु हुन्छ ?
सेयर बजार सुधार त हुन्छ नै। तर, कहिले भन्ने मात्रै हो। सेयर बजार संसारमा नै घट्ने र बढ्ने त गर्छ नै। नेपालको बजार सुधार हुन पनि त्यति लामो समय लाग्दैन्। तर, सुनौलो अवसर आउन अब धेरै लामो समय कुर्नु पर्दैन्।
सेयर बजारमा लगानी लगाएर डुब्ने पनि त छन् नि ? कस्ता लगानीकर्ता त्यसरी डुबेका छ ?
सेयर बजारमा लगानी गर्नु भन्दा पहिले कम्पनीको वित्तीय सूचकांक स्वस्थ्य छ कि छैन्, हेर्नु पर्ने हुन्छ। त्यसैगरी, त्यो संस्था चलाउने सञ्चालक कस्ता छन्। त्यो पनि हेर्नु पर्ने हुन्छ। हामी कहाँ सेयर किन्ने अनि मात्रै त्यो कम्पनी कस्तो छ भनेर अध्ययन गर्ने चलन छ। सेयर खरिद गर्नु पहिले नै अध्यान गर्नु पर्ने काम सेयर खरिद गरेपछि गर्ने चलनले गर्दा लगानीकर्ता डुबेका छन्। अर्को कुरा सेयरमा लगानी गर्नेसँग धैर्यता पनि हुनु पर्छ। आज लगानी गरेर भोली नै प्रतिफल खोज्नेहरू सेयर बजारमा नआए हुन्छ। कम्तीमा १, २ वर्ष लगानी गरेर कुर्न सक्छु भन्नेले मात्र सेयर खरिद गर्ने हो। आज तरकारी बेचेरपछि यति नाफा गर्छ भन्ने तरिकाले सेयरमा प्रवेश नगरे हुन्छ। अहिले पनि सेयर संख्या बढेको बढै छ, सेयरको मूल्य न घटेको हो।

सेयर बजारमा आउनेलाई के सल्लाह दिनु हुन्छ ?
लगानी गर्नु भन्दा पहिले अध्ययन गर्नुहोस्। अरूको देखासिकीमा भरमा लागेर सेयर बजारमा प्रवेश नगर्नुहोस। फलानो सेयर बजारबाट यति कमायो म पनि त्यस्तै कमाउँछु भनेर आउनेहरू धेरै डुबेका छन्। पछिल्लो समयमा आत्महत्या गर्ने पनि त्यस्तैले धेरै गर्न थालेका छन्। घाटी हेरेर हाड निल्ने भन्ने उखान छ, आफूसँग भएको भन्दा बढी ऋण लिएर लगानी गर्ने डुबेका छन्। आफ्नो हैसियत हेरेर लगानी गरौँ। त्यसो भयो भने बजार तल माथि गर्दा पनि अताली हाल्नु पर्ने हुँदैन्।

सेयर बजारमा प्रवेश कसरी गर्नुभयो ?
०६५ सालतिरको कुरा हो, मलाई एउटा सहकारीमा प्रवन्धक पदका लागि कुरो आयो। मैले ठीक छ, म गर्छु भने। तलब पनि आकर्षक नै थियो। पढ्ने क्रममा विद्यार्थीसँग उति सारो पैसा त हुँदैनथ्यो तर मैले जागिर खान थालेकीले पैसासँग खेलाउन थालें। ठ्याक्कै मिति त सम्झिन्नँ, त्यसैताका कमर्सियल बैंकहरूले सर्वसाधारणलाई जारी गरेको साधारण सेयर निष्कासनबारेको सूचना पत्रिकामा पढें। त्यसैबेला मेरा भिनाजु र मामाहरू सेयरका बारेमा खुबै चर्चा गरिरहनुहुन्थ्यो। मैले पनि चासो बढाउन थालें।
लगत्तै सम्वन्धित बैंकमा गएर सेयर भरें। उसबेला प्राथमिक सेयर (आइपीओ) भर्नेको उत्तिसारो चाप नभएर होला, मलाई दुबै बैंकमा तीन तीनसय कित्ता सेयर पर्यो। मेरो सेयरसम्वन्धी ज्ञान त्यसबेलासम्म थिएन। तैपनि जुनसुकै कम्पनीको साधारण सेयर खुल्थ्यो भने पनि मैले भरेकै हुन्थें। यसरी सेयर बजारमा मेरो प्रवेश भयो।

समयसँगै मेरो सेयर दुगुना चारगुना, दशगुना हुँदै गयो। आफूले लगाएको रकमभन्दा तीस र चालिस गुणासम्म नाफा पनि भएको छ। दुईवर्ष पहिला एउटा अमूक कम्पनीको आइपीओमा पैसा हालेकी थिएँ। मेरो नाममा १० कित्ता र बाबाको नाममा १० कित्ता परेको थियो। लगानी २० कित्ताका लागि दुई हजार परेको थियो। एक वर्ष त्यो सेयर राखेँ तथापी मूल्य आकासियो मैले ६० हजारमा बेचें।

काम गर्दै गएपछि पुँजीबजारप्रति मेरो लगाव बढ्दै गयो। त्यसपछि म दोस्रो बजारमा हामफालें। सुरुमा मैले केही दिन ब्रोकर कार्यालय गएर त्यो स्क्रिनमा आएको हरियो, रातो र सेतो मात्रै हेरें। सोधौँ, कसलाई सोध्ने। नसोधौँ, के हो के हो मेसै नपाइने। अनि विस्तारै हरियो भनेको बढेको, रातो भनेको घटेको र सेतो भनेको हिजोकै भाउमा कारोवार भएको भनेर बुझ्न थालें। त्यसपछि बिस्तारै सेयर मार्केटमा रस बस्न थाल्यो।

आफ्नो अफिसको काम १२ बजेसम्म सक्यो, सहयोगीलाई अफिस जिम्मा लगायो अनि हिड्यो ब्रोकर अफिसतिर। एवं रीतले मैले काम गर्दै गएँ। पैसा पनि बिस्तारै बन्दै गयो। म यो मार्केटको व्यवहारबाट कहिल्यै हार खाइनँ। पछि के बुझ्न थालें भने मार्केट किन घटेको हो र किन बढेको हो ? हुन पनि सेयर मार्केटमा यस्तै हुने गर्छ। र, यस्तैलाई यो मार्केटको सुन्दर पक्ष भनिँदो रहेछ।

तपाई त सेयर बजारमा लगानी गर्दा गर्दै लगानीकर्ताहरूको नेता नै हुन पुग्नु भयो नि ?
गत श्रावण २ गते पुनर्गठन भएको नेपाल पुँजी बजार लगानीकर्ता संघले मलाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा चयन गर्यो। मैले खासै लामो समय पुँजीबजारमा काम नगरेको भए पनि लगानीकर्ताको भावना बमोजिम मैले यो जिम्मेवारीलाई सहस्र स्वीकारें।

गत जेठ १८ गते आन्तरिक राजस्व विभागले एउटा हास्यास्पद र विवादास्पद निर्णय गरेर छापामार शैलीमा सबै ब्रोकर कार्यालयमा परिपत्र जारी र्गयो। पत्रको व्यहोरा राईट र बोनस सेयरको फेस भ्यालु एक सय रुपैयाँ कायम गरी सो भन्दा माथि बिक्री गरेमा पाँच प्रतिशत लाभकर बिक्रीकर्ताबाट असुल उपर गर्नू भन्ने आशयबाट प्रेरित थियो। यस्तो परिपत्र आउनु लगानीकर्ताहरूलाई सरासर गला रेटेजस्तै थियो। किनकि बोनस वा राइट इस्यू गर्दा बुक क्लोजको दिन नेप्सेले मूल्य समायोजन गरिसकेको हुन्छ। यस्तो परिस्थितिमा हामीले त्यो परिपत्र अनुसार तिर्नु भनेको घाटामा कर तिर्नु हो। सरकारले यो निर्यण नसच्याउने हो भने हामी तमाम लगानीकर्ताहरूको पाटीको बास हुने निश्चित थियो। हामीले विरोध नगरी धरै थिएन। हामी विरोधमा उत्रियौँ।

हामीले विरोध बडो भद्र किसिमले र्गयौँ। पुँजीबजारको इतिहासमा लगानीकर्ताका तर्फबाट आजसम्म नभएको खरिद विक्री नै नगर्ने किसिमले विरोध जनायौँ। नभन्दै जेठ २२ गते एकै कित्ता सेयर पनि खरिद बिक्री भएन। आश्चार्य त यस्तो भयो कि १५ लाखभन्दा बढी लगानीकर्ता रहेको पुँजीबजारमा एक मतले देशैभरिबाट न सेयर खरिद भयो, न त बिक्री नै। हामी १५ लाखभन्दा बढी लगानीकर्तामा कुनै मतान्तर भएन।

जब हामी विरोधमा उत्रँदै थियौँ, म त्यसबेला नेपाल पुँजीबजार लगानीकर्ता संघकी उपाध्यक्ष थिएँ। नेपालमा पुँजीबजारको हकहितका लागि खुलेका अन्य दुई संगठनसँगको सहकार्यमा विरोध जनाइरहेका थियौँ। यसै सिलसिलामा जेष्ठ २३ गते अर्थमन्त्रालयवाट हामीलाई वार्तामा बोलावट भयो। सचिवले लौ अब कारोवार गर्नुस् एउटा आयोग बनाएर १५ दिनभित्र यो विवादित विषय टुंग्याउँला भन्नुभयो। त्यसपछि हामी तीनवटै संगठनका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गरेर कारोवार सुचारु गर्याैँ समय व्यतीत हुँदै जाँदा मन्त्रालयबाट बनाएको समितिको म्याद पनि सकियो। तर, निर्णय हुन सकेन। त्यसपछि हामीमाथि परेको अन्यायविरुद्ध पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्यौँ र सम्पूर्ण बेलीविस्तार लगाऔँ भनेर हामी नेपाल निवासतिर हान्नियौँ।

त्यसको केही समयपछि नै हाम्रो पुँजीबजार संगठनमा मतमतान्तर सुरु भयो। अब संगठनको नेतृत्व तपाईले लिनुपर्छ भनेर दुई तिहाई साथीहरूले मसँग कुरा राख्नु भयो। जीवन आफूले सोचेजस्तो सरल रेखामा कहिल्यै हिँड्दैन, सधैँ बक्र रेखामा हिँड्ने गर्छ भन्ने बुझेर मैले स्वीकारे गरें। त्यसैले गत साउन २ गतेबाट अध्यक्षको भूमिकामा रहँदै गर्दा आफूले कामबाट पछि नहट्ने प्रण गर्नतिर लागें। हुन त कम्मल ओढेर ध्यू खान पल्किएका केही अजासु (अति जान्ने सुन्ने) माझ आफूलाई स्थापित गराउन चानचुने कुरा थिएन।

संघले पुँजी बजार सुधारका लागि अहिलेसम्म के के काम गर्यो त ?

लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले श्रावण २७ गते राजघानीमा अन्तरकृया कार्यक्रम संचालन गर्न सफल भयो। बर्तमान सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा गभर्नर चिरन्जिबी नेपाल, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल , पुर्वअर्थमन्त्री रामशरण महत लगायत ठूलो संख्यामा सम्बन्धित क्षेत्रका विज्ञहरूको उपस्थिती रहेको थियो। यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउन सफल भयो। फलत बजारमा क्रमशः सुधार देखा पर्दै गयो।

भाद्र १५ संघले प्रदेश नं २ जनकपुरमा नेपाली पुँजी बजारमा वर्तमान सेयर बजारका अवसर र चुनौतिहरू विषयक अन्तरकृया कार्यक्रम सम्पन्न र्गयो। कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, बुद्दिजिवी लगायत सयौँको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो। सबैभन्दा नजिक रहेर पनि केन्द्रिय राज्यसँग मनको दुरी भने टाढा रहेको उक्त प्रदेशमा यस्तो कार्यक्रम गर्नुलाई पक्कै पनि हल्का हिसाबले लिन सकिदैन थियो। सरोकारवालाहरूले यस कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए।

यसै बिचमा संघले चितवन हेटौडा, कैलाली, धादिड. लगायतका विभिन्न जिल्लामा गएर सेयर शिक्षाको कार्यक्रमको सुरुवात गरिसकेको छ। समग्रमा भन्नु पर्दा बजार र लगानिकर्ताको हितको लागी नियामक निकायले जिम्मेवार भएर गर्नुपर्ने काम नेपाल पुँजीबजार लगानिकर्ता संघले गरेको छ।
संघले राजधानी केन्द्रीत मात्र नभई सातै प्रदेशमा आफ्नो संजाल विस्तार गरिसकेको छ भने ७७ वटै जिल्लामा संजाल विस्तारको क्रममा छ।

पुँजी बजार सुधारका लागि आन्दोलन पनि गर्नु भयो नि ?
पूँजी बजारमा रहेका बेथितीको अन्त्यको लागी लगानीकर्ता साथीहरूको अनसन अगाबै सरकारले पूँजी बजार र मूद्रा बजारको समस्या समाधानको लागी भनेर जुन समिती बनाएको थियो। त्यो समितिमा नेपाल पुँजीबजार लगानीकर्ता संघलाई लगानीकर्ताको तर्फबाट समावेश गराइएको थियो। सार्वजनिक हितकै मुद्धा लिएर म आफ्नो संस्थाबाट प्रतीनिधित्व गर्दै छलफल समितीमा सहभागिता जनाउँदै थिएँ।

यसै बिच सम्पुर्ण लगानीकर्ताको जायज माग, साझा माग सम्बोधन हुनैपर्छ भनेर बसिएको अनसनमा एक्यबद्धता सहित सहभागी हुन म बार्ताकै बीच दबाब समुहले उठाएको अर्थमन्त्रीको राजिनामा बाहेकको सम्पुर्ण माग पुरा हुनैपर्छ भनेर उक्त कार्यक्रममा पुगें। टाउकोमा कालो पट्टीका साथ आफ्नो कुरा राखें। समितीको बार्तामा लगानीकर्ता साथीहरू अनसनमा हुनुहुन्छ, उहाँहरूलाई यथासक्य छिटो सम्बोधन गरियोस् भनेर मौखिक रुपमा मात्र नभई आफ्नो माग सँगै लिखित रुपमै सुझाव पेश गरे।

अनसनरत समुहलाई बार्तामा बोलाउने निर्णय भए लगत्तै केहि प्रतीनिधीहरू समितीको बार्तामा सहभागी हुनुभयो। बैठकमा पनि उहाँहरूको साझा माग भन्दा पनि आक्रोस मै माथि केन्द्रीत देखियो। वार्ताको क्रममा ब्याक्तिगत पुर्वाग्रह राख्नुभएका केही ब्याक्तिहरूले म प्रती हिंसात्मक ब्यवहार देखाउनु भयो। बैठकमा सार्वजनिक हितको विषयलाई कुल्चिएर ब्यक्तिगत इगो लाइनै ठूलो मुद्दा बनाईयो जुन ज्यादै नै खेदपुर्ण थियो।