अन्योलमा युवा

चैत २०, २०७५

एटुजेट अनलाइन खबर

सजीना ढुंगाना

उनी २० वर्षर्की छिन् । अंग्रेजी र नेपाली सँगसँगै बोल्छिन् । अझै अंग्रे्रेजी नै धेरै होला ! स्मार्ट छिन् । पटकपटक ‘सिट’ ‘डह’ जस्ता शब्दको प्रयोग उनी गरिरहन्छिन् । घुँडा फाटेको जिन्स अनि ज्यानभन्दा ठुलो हुडी पहिरन छ उनको । अनुहार सानो छ तर चस्मा ठूलो । कपाल लामो छोटो पारेर काटेकी छिन् । कानमा सधैँ एअरप्लग भेटिन्छ ।

पहिलो दिनको सेसनमा मोबाइल ‘साइलेन्ट’मा राख्न र कानबाट एअरप्लग झिक्न भन्दा अचम्म मानेकी थिइन् । फेरि कुम उचाल्दै झिकेकी थिइन् । अचेल सडकमा भेटिने सामान्य युवाजस्तै छिन् । तर होइन, उनी त्यति सामान्य पनि होइनन् । बिहानको पढाइ छ । दिउँसो सानोतिनो काम पनि गर्छिन् । कलेजको शुल्कबाहेक अरु खर्च आफँै जुटाउँछिन् । घरमा माग्न मन पर्दैन रे ! यही भन्छिन् – ‘हाउ क्यान आई आस्क फर पकेट मनी म्यान, आई एम अलरेडी ट्वान्टी ?’ अनि मतिर हेर्छिन् । सायद ‘कन्फरमेसन‘ खोजेकी होलिन् । म मुसुक्क हाँस्छु ।

ad ad ad
तीन साता भयो उनी आउन थालेको । अचेल कुरा गर्न उनलाई सहज लाग्छ रे ! भन्छिन – ‘मेरो ड्याड मोम तपाईँजस्तै भइदिए हुन्थ्यो नि ! कुरा सुन्दिने, कुरा बुझ्दिने भए यो सब झन्झट नै नहुने ।’ यत्तिक्कैमा सक्सकाएर हात झोलातिर लान्छिन् । फेरि केही सम्झिए झैँ गरेर मलाई हेर्छिन् । अनि भन्छिन् – ‘सरी, सेसनमा नो स्मोकिङ ।’ मैले नखाऊ नभनेर्कमा उनी खुसी रे ! एक दिन सुनाएकी थिइन् मलाई । नत्र, सबैले थाहा पाउनेबित्तिकै ‘लेक्चर’ दिन्छन् रे । उनले भनेकी थिइन् – ‘दे थिंक, एज इफ आई डोन्ट नो अबाउट इट, आईएम ट्वान्टी नाउ’ । उनले आँखा घुमाउँदै थपिन्, ‘समटाइम आई वान्ट टु साउट फ्रम माई लङ्स, गिवमी सम ब्रेक !’

उनी यसैगरी बोल्छिन् पूरै समय । कहिले काहीँ लाग्छ, २० वर्षको हुनु उनका लागि नियमहरु नलाग्ने समय हो, सायद । र, भित्र कतै यस्तो भइदिए पनि हुन्थ्यो भन्ने चाहना राख्छिन् । तर, उनलाई थाहा छ, यस्तो हुँदैन र हुन पनि हुँदैन ।

आज उनी मेरो अगाडि छिन् । समय, उमेर अनि समाजका नियमहरुलाई ‘च्यालेन्ज’ गर्छिन् । लामो सास फेर्छिन् । रिसाउँछिन् अनि रुन्छिन् । फेरि ग्लानिबोध हुन्छ उनलाई । भन्छिन् – ‘इट वाज रङ अफ मी’ । उनले यो सबै भनिरहँदा उनको अनुहारको भाव पढ्न खोज्छु । डराएको, अत्तिएको, निसास्सिएको बच्चाले भिडमा आफूलाई खोज्ने कोसिस गरिरहेको जस्तो लाग्छ । लाग्छ, कतै टाढा भाग्न खोजिरहेको जस्तो ।

रस्मी (नाम परिवर्तित) उनको नाम । पहिलो दिन सोधेकी थिइन् – ‘क्यान यु कन्भिन्स माई पेरेन्टस् । द्याट, आई एम बिग एनफ टु टेक माइ डिसिजन ?’ मैले भने – ‘त्यो त सक्तिन, तर उनीहरु किन त्यसो चाहन्छन् भन्ने कुरा बुझ्न तपाईँलाई मद्दत गर्न सक्छु । इफ यु वान्ट’ । मुसुक्क हाँसेर भनिन्, – ‘आईएम सरी । आई वाज चेकिङ् यु आउट, आई ह्याड गुगल्ल्ड बिट अबाउट काउन्सेलिङ ।’

पहिलोचोटि कसैले यति प्रस्टसँग सोधखोज गरिएको कुरा भनेको थियो । म रमाइलो मानिरहेकी थिएँ । रस्मीसँगका सेसन नयाँ हुनेछ भन्ने त लागेकै थियो । सँगै केही चुनौती पनि महसुस गरिरहेकी थिएँ म भित्रभित्रै ।

सानै उमेरबाट होस्टल बसेकी उनी एक वर्षदेखि परिवारसँग छिन् बाबुआमा कि एक्ली छोरी । घर परिवार पनि सम्पन्न छ । बाबुआमा दुवै कमाउने । सामान्य कमाइ उनको पनि छ । तर बाबुआमासँग बस्न मन छैन । भन्छिन् – ‘अहिलेसम्म त बस्न परेन । अब किन ? अब त म ठूलो भइसकेँ । आफैँ कमाएर खान सक्छु ।’

उनी रिसाएकी छिन् । चार कक्षाबाटै होस्टल बसेकी उनी १२ को पढाइ सकिएपछि मात्र घर बसेकी हुन् । बिदामा आउनेजाने भएदेखि बाहेक अरु त्यति बसेकी छैनन्, घरमा । बिदामा आउँदा पनि घुमघाम नै धेरै हुने बताउँदै थिइन् उनी । ‘आई डोन्ट नो ह्वाट इट मिन्स बाइ होम ? मोमले भन्नुहुन्छ म ठूलो भएँ रे ! अब कुरा बुझ्नुपर्छ रे मैले ! म त उहिल्यै ठूलो भाको होइन् ? सानोलाई कसैले आफूबाट त्यति टाढा राख्छ त !? तपाईँ नै भन्नुस्, अब चाहिँ सँगै बस्नु पर्ने रे ! मलाई साथीहरुसँग बस्न मन छ, म यो डुज र डोन्ट्स को लडाइँ गर्न सक्तिन, आई जस्ट् कान्ट् ।’

उनको अनुहारमा आक्रोश पोखियो । आँखा रसाए । उनले मतिर अनुनय दृष्टि दिइन् । लामो सास फेरेर फेरि त्यही झोलातिर हात लम्काइन् । फेरि हात झिकिन् । दुवै हात बलियोसँग एकअर्काबीच मुट्ठी पारिन् । भनिन् – ‘प्लीज हेल्प मी ! पुल मी आउट फ्रम दिस मेस्स ।’ रस्मीभित्र कतै रिसको ज्वारभाटा दन्किरहेको अनुभव हुन्छ मलाई ।

‘कमन सर्कल’को एउटा साथीसँग प्रेम छ रस्मीको । मतलब छैन कति लामो जान्छ । गुरुङ केटा हो रे तर माया धेरै लाग्छ । भन्छिन् – ‘जतिसम्म चल्छ चल्छ । ठीकै छ । यो कुरा उसले पनि बुझेको छ । त्यसैले ठीकै छ । हामी सँगै बस्न चाहन्छाँै । तर, मेरो बाबुआमाले बुझ्दैनन् । संसारले के भन्छ रे ! दो दे डोन्ट ह्याब प्रोब्लम विथ मी बीइङ इन रिलेसन विथ गुरुङ, सकिङ ! टु मच् कन्ट्राडिक्सन, आई कान्ट टेक इट !’

फेरि लामो सास फेर्छिन् र जुरुक्क उठ्छिन् । यता उता हिँडेर थचक्क बस्छिन् र फेरि टिठलाग्दो अनुहार बनाएर मतिरै हेर्छिन् । यसरी बेलाबेलामा उनको भावना उर्लिएको समय मबीचमै रोक्छु उनलाई । यस्तो बेला आफ्नो भावना बारे थाहा पाउन जरुरी हुन्छ । मैले सोधेँ – ‘तपाईंको कुरा सुनेर लाग्दैछ तपाईँ रिसाइरहनु भएको छ ।’ उनी तत्कालै भन्छिन् – ‘यस् यु आर राइट । आईएम यङ्ग्री विथ देम । आईएम भेरी भेरी यङ्ग्री ।’

आफ्नो भावनासँग संभवतः पहिलो आत्मसात् थियो उनको । मनोविमर्शले बल्ल बाटो पक्रिएको महसुस गर्दै थिएँ । अब मैले उनलाई च्याप समाउने ठाउँ भेटेकी थिएँ । उनीसँग काम गर्न सजिलो छैन र क्लाइन्ट अबको दिनमा जुन अवस्थाबाट गुज्रिन्छ त्यस्को हेक्का पनि थियो । डर थियो, कहीँ डराएर उनी न आउने पो हुन् कि ? त्यसका लागि उनलाई तयार पनि पार्नु थियो । यस्तै बेला मनोविमर्शकर्ताको ठूलो दायित्व रहेको महसुस हुन्छ ।

यसका साथै होस्टलका पनि धेरै कुरा निस्केका छन् । अझै खोतल्नु छ, सायद बाबुआमासँग पनि कुरा गर्नुपर्ला । त्यो पनि उनको अनुमतिमा । यी सबै भइरहँदा पछिल्लोचोटि मैले सेसन लिएका धेरै युवा अनुहारको याद आउँछ मलाई ।

अहिले धेरै युवा यस्तै अन्योलमा छन् । आफ्नो आवश्यकता के हो र समाजले के माँगी रहेको छ, यसैका बीचमा ती अड्किएका छन् । पढाइलेखाइ, प्रविधिले उनीहरुलाई ठूलो फड्को मार्ने मौका दिएको छ । संसारबारे जान्नेबुझ्ने प्रयासमा आफन्त, बाबुआमा सबैले प्रोत्साहन नै गरेका हुन्छन् । ‘तिमी अगाडि बढ’ भनिरहेका नै हुन्छन् । तर, समस्या त्यतिबेला उत्पन्न हुन्छ जतिखेर केटाकेटी आँटिला भइदिन्छन् । चलिआएका सामाजिक मूल्य मान्यतालाई चुनौती दिन थाल्छन् । आफैँ निर्णय लिन खोज्छन् । आफ्नो जीवन कसरी बिताउने भन्ने बारेमा सोच्न थाल्छन् । म के हुँ, म को हुँ भनेर आफ्नै बारेमा खोजी गर्न सुरु गर्छन् ।

यस विषयमा तिनले न त आफ्ना बाबुआमा, न आफन्त, न समाज, कसैसँग कुनै परामर्श गरेका हुँदैनन् । न त तिनका विषयमा सोचेका नै हुन्छन् । वास्तवमा अभिभावकहरुले पनि केटाकेटीलाई अगाडि बढाउने क्रममा आफ्नो संस्कार, मूल्य मान्यता सिकाउन बिर्सिन्छन् । बस, उनीहरु अगाडि बढिरहेको हेरिरहेका हुन्छन् । मार्कसिटका अंक र प्राप्त मेडलमै दंग र ढुक्क हुन्छन् ती । बच्चाहरुको विजयमा हर्षित हुन्छन् ।

आफूले पूरा गर्न नसकेका सपना उनीहरुले पूरा गरेको सोच्दामात्रै पनि रोमाञ्चित हुन्छौँ । घमण्ड गर्छाँै । उनीहरुको राम्रो होस् भनेरै कलिलै उमेरमा आपूmबाट टाढा स्कुल होस्टलमा राखिदिन्छौँ । उनीहरुको विचारमा कस्तो परिवर्तन आउँदैछ ? के सिक्तैछन् ? ठूला त हुँदैछन् तर कस्तो मानसिकताका साथ हुर्किरहेका छन् भन्ने केलाउन र बुझ्न हामी समय खर्च गर्दैनौँ । केही अफ्ठेरोेमा परेको केटाकेटीले सुनाए भने ‘केही हुन्न, ठीक हुन्छ’ भनेर थामथुम पार्छौँ । वास्तवमा हामी डराउँछौ, केटाकेटीले हाम्रो सपनाको महल छोडेर जालान् भनेर । उनीहरुलाई सबैभन्दा राम्रो, ठूलो, उन्नत आकाश दिने होडमा हामी बिर्सिन्छौँ, ‘ती सानै छन् । तिनलाई हाम्रो साथ र मार्ग निर्देशन चाहिन्छ’ भन्ने ।

उनीहरुलाई नयाँ उचाइ दिने त कोसिस गर्छौ तर आफ्नो सोच, रहनसहनमा भने कुनै परिवर्तन ल्याउन सक्तैनौ । आफूभन्दा धेरै साना अपरिपक्व जीवनमाथि जति पनि बोझ थोपर्न चाहने र थोपर्न सक्ने हामी आफू भने कुनै बोझ बोक्न चाहँदैनौ ।

यथार्थमा बदलिदो परिस्थितिअनुसार आफूलाई बदल्ने प्रयास जरुरी छ । केटाकेटीलाई अह्राउनेमात्र होइन, उनीहरुको कुरा सुन्नु पनि आवश्यक छ । नयाँ आकाशमा उड्ने कोसिसमा हरपल उनीहरुलाई हाम्रो साथ आवश्यक भइरहेको हुन्छ । गल्ती गर्नै नदिने सोच सधैँ सही नहुन सक्छ तर गरेकोे गल्तीबाट माथि उठ्ने प्रयासमा साथ दिनु सही हुन जान्छ ।

हिजो हामी युवा हुँदा हामीमाथि यति धेरै बोझ थिएन होला जुन अहिलेका युवामाथि नजानिदो तरिकाले लादिएको छ । लैङ्गिक, आर्थिक, सामाजिक हिसाबले उनीहरुले हरपल आफूलाई उत्तीर्ण गरिरहनु परेको छ । जुनसुकै भौगोलिक अवस्था जे जस्तो भए पनि आजभन्दा भोलिका लागि उन्नत हुनुपरेको छ । सँगसँगै उनीहरुले तपाईँ हामीले समाली आएको परम्परागत सोच, रीति रिवाज, धार्मिक मान्यता, चाहे जतिसुकै पुरातन किन नहोस्, हामी आफैँलाई बोझिलो किन नहोस् त्यो पनि अत्यन्त तत्परताका साथ थामी दिनुपर्ने बाध्यता छ ।

यो कहालीलाग्दो एकाकी जीवनबाट आजै हाम्रा केटाकेटीलाई बाहिर ननिकाल्ने हो भने भोलि उनीहरुका साथै हाम्रो भविष्य पनि अन्धकार र अन्योलपूर्ण नै हुनेछ । हामीले आजै विचार गर्नुपर्ने अवस्था छ ।