सांकेतिक भाषामा युवा आकर्षण

चैत २०, २०७५

एटुजेट अनलाइन खबर

काठमाडौं, चैत २० – काठमाडौं बानेश्वरमा बस्ने साजना सापकोटा नक्सालको काठमाडौं बहिरा संघमा बिहान बिहान सांकेतिक भाषा सिक्न आउँछिन्। उनी जस्तै वीस जनाले संघमा सांकेतिक भाषा सिकिरहेका छन्। फुर्सदको समय सदुपयोग गरौं भन्ने सोचले एकथरी मानिस सांकेतिक भाषा सिक्न आउँछन् भने आफ्नो घर परिवारमा भएका बहिरा सदस्यसँग कुराकानी सहज होस् भन्ने सोचले भाषा सिक्न आउनेहरु पनि छन्। त्यस्तै, कोही बहिरासँग सम्बन्धित काम व्यवसायका कारण सञ्चार सहज होस् भनेर सांकेतिक भाषा सिक्न आइरहेका छन्। संघमा दोभासे तथा प्रशासनिक कार्यमा सघाउँदै आएकी शिलु शर्माले पछिल्लो समय सांकेतिक भाषा सिक्न आउनेहरुको संख्या बढेको उनी बताउँछिन्।

काठमाडौं बहिरा संघले बहिराहरुको जीवनयापन सजिलो होस् भन्ने र उनीहरूसँगको सञ्चार सहज होस् भन्ने हेतूले सांकेतिक भाषा तालिम दिँदैआएको छ। २०३६ सालमा स्थापना भएको संघले २०४६ सालमा औपचारिकता पाएपछि संस्थागत रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संघसँग सम्बद्ध शिलु शर्माका अनुसार संघले विभिन्न क्रियाकलापबाहेक सांकेतिक भाषा प्रशिक्षण पनि दिँदै आइरहेको छ।

राष्ट्रिय सांकेतिक भाषा दोभासे संघकी अध्यक्ष पनि रहेकी शर्माले भनिन्, ‘अहिले हामीले सञ्चालन गरिरहेको सांकेतिक भाषा ४० औं व्याच हो। हाल बीस जनाले सांकेतिक भाषा अध्ययन गरिरहेका छन्।’ सांकेतिक भाषाको कक्षा काठमाडौं उपत्यकामा मात्रै नभई पछिल्लो समय उपत्यका बाहिरका जिल्लाहरुमा पनि सञ्चालन भइरहेको छ। यसका लागि बहिरा महासंघले ‘डिफ वे’ नामक संस्थासँग सहकार्य गरिरहेको छ।

सांकेतिक भाषा सिकेकाहरुले भाषा सिके पनि दक्षता अनुसारको काम तथा सम्मान नपाएको शर्मा बताउँछिन्। ‘सांकेतिक भाषा सिकेका दोभासेहरुलाई सरकारी तथा गैरसरकारी संस्थाका निकायले बेवास्ता गर्दा एकातिर दोभासेहरुको कमी भइरहेको छ भने अर्कातिर दोभासेका काम गर्नसक्ने युवा पुस्ता बेरोजगार छन्,’ शर्माले बताइन्। लामो समयदेखि सांकेतिक भाषाका दोभाषेका रुपमा काम गर्दै आइरहेकाहरुलाई पनि कहीँ कतैबाट कुनै खालको प्रोत्साहन वा पहिचान नभएको उनले बताइन्। दोभासेहरुलाई परिचय पत्रको माग राखेर विभिन्न सरकारी निकाय तथा संघसंस्थामा धाउँदा पनि हाम्रो माग सुनुवाइ भएको छैन,’ उनले बताइन्। सांकेतिक भाषा पढेकाहरुको थुप्रै सम्भावना भए तापनि सरकारी निकायबाट पर्याप्त व्यवस्था नभएका कारण धेरै दोभासेहरु बेरोजगार बस्नु परेको उनी बताउँछिन्। नेपालमा बोलिने अन्य भाषाहरुलाई राष्ट्रिय भाषा बनाएजस्तै सांकेतिक भाषालाई पनि राष्ट्रिय भाषाको सूचीमा समेट्नुपर्नेमा उनले जोड दिइन्।