सचेत नभए अर्को प्रकोपको खतरा

चैत २३, २०७५

एटुजेट अनलाइन खबर

कलैया (बारा), चैत २३ – ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ …।’
आइतबार राति आएको हावाहुरीले बारा र पर्साका १६ बस्ती खण्डहरमा परिणत भए। उक्त सूचना छिनभरमा देशभरि फिजिएसँगै के पहाड, के हिमाल, बारा र पर्साको दुःखमा सबै नेपाली एकाकार भए। जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गरे। सहयोगी हातहरु राहत सामग्री लिएर प्रभावित गाउँठाउँ झरे। राजनीतिक दलले पार्टीका नेता तथा कार्यकर्ता खटाए।

प्रधानमन्त्री केपी ओली सोमबार बिहानै प्रभावित क्षेत्रको निरीक्षणमा निस्के। उद्धारको काम नसकिँदै प्रधानमन्त्री किन प्रभावित क्षेत्रमा ओर्लिएका हुन् ? उद्धार चुस्त बनाएर राहत प्याकेज घोषणा गर्नुपर्ने प्रधानमन्त्री रित्तो हात हतारहतार किन आए प्रभावित क्षेत्रमा ? तराई मधेसका जनतामा आफ्ना बारेमा परेको मधेसविरोधी छाप चिर्न ओली बारा र पर्साको निरीक्षणमा निस्केको विश्लेषण थालिएको छ। प्रधानमन्त्रीमात्र होइन, उनी अध्यक्ष रहेकै दल नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपालसहितका प्रभावशाली नेता पनि एकपछि अर्को गर्दै प्रभावित क्षेत्रको अनुगमनमा निस्के।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि निरीक्षणका लागि मंगलबार बारा झरे। सोमबार नै कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। हुरीपीडितको राहतका लागि कांग्रेसले पार्टीका तर्फबाट २५ लाख दिने घोषणा ग¥यो। सोमबार नै संघीय संसद्का सांसदको दुईदुई दिनको तलब प्रभावितलाई दिने घोषणा कांग्रेसले गरेको थियो। त्यतिमात्र नभएर उपसभापति निधिसहित प्रदेश नम्बर २ का पार्टी नेताहरु, संसदीय दल र दलका नेताहरुका तर्फबाट १० लाख रुपैयाँ दिने घोषणा पनि कांग्रेसले गरिसकेको छ। नेकपा संसदीय दलले पनि आफ्ना सांसदबाट एक दिनको तलब प्रभावितलाई दिने निर्णय गरेको छ। प्रदेश २ सरकारले प्रभावितलाई तीनतीन लाख रुपैयाँ दिने घोषणा गरेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रभावितलाई पाँचपाँच लाख दिलाउन पहल गर्ने घोषणा गरे। नेताहरुले आश्वासन बाँडिरहँदा हुन्डरीमा परी ज्यान गुमाएका परिवार भने मृतकको सद्गत र किरिया गर्ने रकम अभावमा तड्पिरहेका थिए तर यसतर्फ कसैले पनि ध्यान दिएन।

हावाहुरीबाट प्रभावित गाउँ–बस्ती आगलागीसहित महामारीको उच्च जोखिममा छन् ।
मधेसको ‘सेन्टिमेन्ट’ आफ्नो पक्षमा पार्न नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी नेपालमात्र होइन, सिके राउतसहितका नेता पनि प्रभावित क्षेत्रको भ्रमणमा आइपुगे। राजपाले प्रतिमृतक परिवारलाई ११ हजारका दरले सहयोग गर्ने घोषणा गरेको छ। राहत घोषणामा होड चलिरहेका बेला मन्त्रिपरिषद्ले आगामी बर्खाअघि नै प्रभावितको घर बनाइदिने निर्णय गरेको छ। नेपाली सेनाको सहयोगमा घर बनाउने निर्णय सरकारले गरेको हो। आर्थिक रुपले विपन्न र अधिकांश दलित बस्तीमा आइपरेको विपत्तिमा विभिन्न संघसंस्था राहत वितरणमा सक्रिय छन्, मेस चलाएर प्रभावितलाई खाना खुवाइरहेका छन्। तर केही थान राहत सामग्री लिएर प्रभावित क्षेत्र आइपुग्नेले पीडितलाई थप आहत बनाइरहेका छन्।

नसिकेको पाठ
२०७२ साल वैशाख १२ गते र त्यसपछिका परकम्पबाट राजधानी काठमाडौंसहित ३१ जिल्ला प्रभावित बने। भूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए भने २२ हजार ३ जना घाइते भए। ४ लाख ९८ हजार ८ सय ५२ निजी घर, २ हजार ६ सय ५६ सरकारी भवन र १९ हजार विद्यालय भवन नष्ट भए। प्रभावितलाई पुनस्र्थापना गर्ने काम अझै सकिएको छैन।

राहतपछिको पुनस्र्थापनामा सरकारले तत्काल निर्णय लिन नसक्दा वास्तविक प्रभावितभन्दा नक्कली प्रभावितको संख्या बढ्दै गएको अनुभव सरकार र मातहतका निकाससँग छ। तर त्यसपछि आइपरेका विभिन्न विपत्तिमा राज्य संयन्त्रले मात्र होइन, राजनीतिक नेतृत्वले पनि पाठ सिक्न सकेको देखिएन। जसले गर्दा बारा र पर्सामा पनि विगतकै समस्या दोहोरिने संकेत देखिएको छ।
हुरी प्रभावित प्रायः सबै गाउँ सदरमुकाम कलैयाबाट २०–२५किलोमिटरभित्र पर्छन्। स्थानीय प्रशासनले चाहे केही घण्टामै प्रभावित क्षेत्रको लगत संकलन गर्न सक्छ। तर उसले यसतर्फ ध्यान दिएको छैन। स्थानीय तहले पनि लगत संकलनमा चासो दिएका छैनन्। प्रभावितले क्षतिको यकिन विवरण संकलन गरेर त्यसकै आधारमा राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन्। तर एक साता बित्दा पनि स्थानीय प्रशासन र सरोकारवाला निकायसँग प्रभावितको यकिन तथ्यांक छैन।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले विवरण आउन अझै केही समय लाग्ने बताए। १९ गतेसम्म प्रधानमन्त्री, राजनीतिक दलका नेता र मन्त्रीहरुलाई प्रभावित क्षेत्रको जानकारी दिनमै समय खर्च भएको सुनाउँदै उनले भने, ‘त्यसपछि बल्ल लगत संकलनको काम सुरु भएको छ।’ स्थानीय प्रशासनको संयोजनमा प्रहरी निरीक्षक, नेपाल रेडक्रसका प्रतिनिधि र वडाध्यक्ष रहेको टोलीले काम गरिरहेको उनले दाबी गरे। अन्नपात, पशुपन्छीका साथै ढलेका रुखहरुको क्षतिको मूल्यांकन गर्नसक्ने संयन्त्र आफूहरुसँग नरहेको उनले बताए।
भवन डिभिजन कार्यालय वीरगन्जको टोलीले नष्ट भएका भौतिक संरचनाको लगत संकलन सुरु गरेको छ भने केन्द्र्र सरकारले नै नेपाल प्रहरीका उमेश रायमाझी र नेपाल रेडक्रसका प्रकाश कार्की नेतृत्वको टोली बनाएर प्रभावित परिवारको तथ्यांक संकलन थालेको छ। सोही टोलिले दिएको रिपोर्टको आधारमा सरकारले प्रभावितको घर बनाइदिने तयारी गरेको छ।

सबैको ध्यान पुरैनियामा
हावाहुरीबाट सबैभन्दा धेरै मानवीय क्षति भएको फेटा गाउँपालिका–६ पुरैनियामा सबैका आँखा परे। उक्त बस्तीका १२ जनाले हावाहुरीमा परेर ज्यान गुमाए भने ६० भन्दा बढी घाइते छन्। उद्धार र राहतको केन्द्रमा उक्त गाउँ पर्दा सोही गाउँपालिकाको वडा नम्बर १ भलुई भरबलिया भने छायामा प¥यो। उल्टै राहतका सामान लिएर पुरैनिया जाने गाडी र सर्वसाधारणको चपेटामा भरबलियाबासी परे। भलुई भरबलियाजस्तै अन्य गाउँका प्रभावितले बुधबारसम्म पनि राहत पाउन सकेका थिएनन्।

परनिर्भरता बढ्ने खतरा
हावाहुरी प्रभावितमध्ये अधिकांश दलित र विपन्न परिवारका छन्। मजदुरी गरेर साँझबिहानको पेट भर्दै आएका उनीहरुलाई उचित समयमा राहतसहितको पुनर्वासको व्यवस्थापन गर्न नसके परनिर्भरता बढ्ने खतरा देखिएको छ।

जोखिममा प्रभावित
हावाहुरीबाट प्रभावित गाउँ आगलागीसहित महामारीको उच्च जोखिममा छन्। फुसबाट बनेका अधिकांश घरको अवशेष असरल्ल छ। त्यहीं गाडिएका टेन्टमा प्रभावितले अस्थायी आवास बनाइरहेका छन्। ओढ्ने र लगाउने लुगा नहुँदा रातको चिसो काट्न आगोको सहारा लिनुपर्ने अवस्था छ। यसले उक्त क्षेत्रमा आगलागीको उच्च जोखिम छ। राहतको सामग्रीका कारण प्रभावितको स्वास्थ्य पनि जोखिममा छ। यस्तै शौचालयको अभावले पनि झाडापखालासहितको महामारी फैलनसक्ने सम्भावना छ।

मर्कामा बालबालिका र वृद्धवृद्धा
स्थानीयले हुरीपछि विभिन्न संघसंस्थाबाट आएको राहत वितरण व्यवस्थित गर्न सकेन। एकद्वार प्रणालीबाट राहत वितरण गर्न सकेको भए प्रभावितलाई केही समयका लागि खाद्यान्न पर्याप्त हुन्थ्यो। त्यसो हुन नसक्दा अझै कतिपय प्रभावितले खाद्य सामग्री पाउन सकेका छैनन्। पुगेका ठाउँमा पनि परिवारको संख्या र उमेर समूहको ख्याल नगर्दा बालबालिका र वृद्धवृद्धालाई राहतले छुन सकेको छैन। बिस्कुट, चिउरा, भुजिया, दालमोठ, चामलजस्ता खाद्य सामग्रीमात्र राहतमा आएका छन्। यस्ता सामग्री खान नसक्ने बालबालिका र वृद्धवृद्धा भोकै बस्नुपर्ने अवस्था छ।

राहतको पनि छैन तथ्यांक
राहतस्वरुप विभिन्न सामग्री लिएर दिनहुँ दजनौं संघसंस्था प्रभावित क्षेत्रमा आइरहेका छन्। तर कसले कति सामान ल्यायो र कसलाई दियो भन्ने कुनै लेखाजोखा स्थानीय प्रशासनसँग छैन। आफूखुसी राहत वितरण गर्दा धेरै ठाउँमा समस्या देखिएपछि बिहीबारबाट स्थानीय प्रशासनले निगरानी बढाएको छ।

स्थानीय प्रशासनले जानकारी नदिई राहत वितरणमा रोक लगाएको छ। त्यस्तै नपुगेको ठाउँमा राहत पठाउन पनि सुरु गरिएको छ। प्रभावित क्षेत्र प्रवेश गर्ने नाकामा नै प्रहरीले विवरण संकलन गर्ने र जिल्ला प्रशासनको समन्वयमा राहत पठाउन थालेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए।

कहाँ कति क्षति
हावाहुरीबाट बाराका विभिन्न आठ स्थानीय तहका १६ भन्दा बढी गाउँका झन्डै १९ सय घरमा क्षति पुगेको स्थानीय प्रशासन र जनप्रतिनिधिले जनाएका छन्। यो संख्या बढेर २५ सयको हाराहारीमा पुग्ने अनुमान पनि उनीहरुको छ। करोडौंको बालीनाली तथा फलफूलका रुखमा नोक्सानी पुगेको छ। १ हजार ५ सय विघाको गहुँ, मकै, मुसुरो, तरकारी र फलफूल पूरै नष्ट भएको छ।

फेटा गाउँपालिका–१ भलुही भरबलियामा चार र वडा नं. ६ पुरैनियामा १० जनाको मृत्यु भएको छ। भलुहीमा ३१, भरबलियामा १ सय ६०, पुरैनियामा १ सय ३१ घरमा क्षति पुगेको छ। फोटमा १ सय ५० बिघाको गहुँ, ४४ बिघाको फलफूल, ७७ बिघाकोा मसुरो, ५३ बिघाको मकै र ६ बिघाको तरकारी खेती नष्ट भएको छ।

कलैया उपमहागनरपालिका–१८ मनगढवामा एक, वडा नं. १२ को धर्मनगरमा इँटा उद्योगमा काम गर्ने चार भारतीयसहित पाँचजनाको मृत्यु भएको छ भने धर्मनगरमा दुई र मनबढवामा ३० घरमा क्षति पुगेको छ। ७५ बिघाको गहुँ, ३४ बिघाको फलफूल, १९ बिघाको मसुरो, १५ बिघाको मकै र १५ बिघोका तरकारी बाली नष्ट भएको छ। सुवर्ण गाउँपालिका– ४ हर्दियामा एक, वडा नं. ८ पशरामपुरमा एक गरी दुईजनाको ज्यान गएको छ। हर्दियामा एक सय ७६, वडा नं. १ को बगही चरमोहनामा ८१, वडा नं. ५ औरहियामा ५७ र पशरामपुरमा एक सय २० घरमा क्षति पुगेको छ। त्यस्तै एक सय ५० बिघाको गहुँ, एक सय २५ बिघाको मकै, तीन बिघाको मसुरो, एक बिघाको तरकारी र दुई बिघामा लगाइएको फलफूल नष्ट भएको छ।

प्रसौनी गाउँपालिका–४ को खुटवामा एकजनाको मृत्यु भएको छ। खुटवामा एक सय ७५ र भलुही चोक उत्तरमा १९ घरमा क्षति पुगेको छ। त्यस्तै २० बिघाको गहुँ, दुई बिघाको मकै, उक बिघामा लगाइएको मसुरो बाली नष्ट भएको छ। महागढीमाई नगरपालिका–७ तेलगाईमा एकजनाको ज्यान गएको छ ८६ घरमा क्षति पुगेको छ। त्यस्तै ३० बिघाको गहुँ, २० बिघाको मकै, दुई बिघाको मसुरो र ६ बिघा जग्गामा लगाएको तरकारी नष्ट भएको छ। देवताल गाउँपालिका–७ रामपुर्वामा एक सय २५ घरमा क्षति पुगेको छ भने एक सय बिघाको गहुँ, ५० बिघाको मसुरो र हाठ बिघाको फलफूल नष्ट भएको अनुमान छ। पचरौता नगरपालिका–७ बेनौलीमा एक सय ६८ र वडा नं. २ बैरियामा ११ घरमा क्षति पुगेको छ। त्यस्तै ४५ बिघाको गहुँ, ५५ बिघाको मकै, नौ बिघाको मसुरो, चारचार बिघामा लगाइएको फलफूल र तरकारी नष्ट भएको छ।

परवानीपुर गाउँपालिकाका शिवपुर, रामटोल र बिर्ताटोलमा गरी पाँच सय४८ घरमा क्षति पुगेको छ। ६५ बिघाको गहुँ, तीन बिघाको मकै, ३१ बिघाको मसुरो र चार बिघामा लगाएको तरकारी नष्ट भएको बताइएको छ। नागरिक दैनिकबाट