घोषणामै सीमित भयो ‘शहीद पार्क’

चैत २३, २०७५

एटुजेट अनलाइन खबर

– चन्द्रकला भण्डारी

झापाको सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’लाई जनआन्दोलनका बेला नाम फेरेर ‘शहीद पार्क’ घोषणा गरिएको १२ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ नामकरण सार्थक बन्न सकेको छैन ।

भद्रपुर नगरपालिका वडा नं ८ चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको पूर्व, मेची रङ्गशालाको उत्तर, जिल्ला प्रहरी कार्यालयको पश्चिम र जिल्ला अदालतको दक्षिण मोहडामा एक बिघा दुई कठ्ठा दश धुर जग्गामा फैलिएको महेन्द्र पार्क विसं २०४६ साल अघिसम्म झापाकै सबैभन्दा पर्यटक ओइरिने पार्कको रूपमा चिनिन्थ्यो । तर, २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाको नाममा रहेको कारण जनाउँदै यो पार्कलाई बन्द गरियो । प्रवेशद्वारमा लगाइएको ताला वर्षौंसम्म खुलेन । रङ्रोगन उड्यो । कलाकृतिहरूको स्याहार भएन । बगैंचा मालीविहीन भयो ।

खुलाउने कि नखुलाउने द्विविधाकै बीचमा २०६२ सालको दोस्रो जनआन्दोलनमा पार्क भौतिक रुपमै राजनीतिक द्वन्द्वको निशाना बन्यो । आन्दोलनकारीहरूले पार्कको मध्यभागमा ठडिएको राजा महेन्द्रको मूर्ति तोडफोड गरे । मूर्ति मात्र होइन, त्यहाँ राखिएका सबै शिलालेख भत्काइए ।

विसं २०४६ मा पञ्चायतको अन्त्य भएपछि यो पार्कलाई शहीद पार्क बनाउनु पर्ने आवाज उठेको थियो । त्यसबेला झापाका शहीद राम थापाको शालिक राखेर शहीद पार्क बनाइने चर्चा चलेको थियो तर, नामकरण गर्नेतर्फ कसैले कदम चालेन भने पार्कको ताला समेत कसैले खोलेन ।

विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा झापाबाट सुरज विश्वास र राजन गिरीले शहादत प्राप्त गरे । उनीहरूकै शालिक राखेर शहीद पार्क नामकरण गरिनु पर्ने फेरि आवाज उठ्यो । विसं २०६३ मा संयुक्त जनआन्दोलन समिति झापाले शहीद पार्क नामकरण गरी विश्वास र गिरीको शालिक राख्ने निर्णय गरेको तत्कालीन जनआन्दोलन संयोजन समितिका सदस्य एवं संविधानसभा सदस्य रविन कोइराला दिए बताउँछन् । तर, १२ वर्ष बितिसक्दा पनि पार्कले नयाँ नाम पाएको छैन । पार्कको प्रवेशद्वारमा कुनै नाम लेखिएको छैन । राजा महेन्द्रको मूर्ति र शिलालेखका सबै अक्षर नष्ट गरिएकाले अब यो ‘महेन्द्र पार्क’ जस्तो पनि रहेन । शहीदको स्मरण गराउने कुनै निशानी पनि राखिएको छैन ।

विसं २०२८ सालमा महेन्द्र पार्कको निर्माण भएको थियो । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाको पहलमा सदरमुकामको मध्यभागमा पार्क निर्माण गरिएको थियो । पार्कको बीचमा करीव ३० फिट अग्लो कलात्मक स्मारक बनाएर सबैभन्दामाथि पूर्ण कदको राजा महेन्द्रको मूर्ति राखिएको थियो ।

दक्षिणतर्फ विभिन्न कलाकृति कुँदेर मूल प्रवेशद्वार बनाइएको थियो । मूलढोकाको सिरानीमा ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने सन्देश बोकेका राजा महेन्द्रकै वाणी ठूला अक्षरमा कुँदिएको अहिले पनि देख्न सकिन्छ । चारै दिशामा ढोका भएको पार्कको उत्तरतर्फ सानो भवन छ जसलाई भण्डार कोठाको रूपमा प्रयोग गरिँदै आइएको छ । पूर्वतर्फ जिल्ला प्रहरी कार्यालय पर्ने भएकाले त्यहाँबाट सर्वसाधारणले आउजाउ गर्न पाउँदैनन् ।

पार्कको मुख्य स्तम्भमा रहेको राजा महेन्द्रको शालिक भत्काइएपछि अहिले भग्नावशेष मात्र बाँकी छ । भग्नावशेषको फेदीमा सिंह, हात्ती, घोडा, माछा, मयूरको कलात्मक मूर्ति कुँदिएका छन् । पार्कमा ५० भन्दा बढी प्रजातिका फूल ढकमक्क फुलेका छन् जसमा दुर्लभ मानिने क्यामेलिया र डल्ले सल्लोको बोन्साई पनि रहेको छ । अनेकौं रङ्गीबिरङ्गी फूलका कारण पार्कले पर्यटकलाई मोहित बनाउने गर्दछ ।

बीच भागको स्तम्भलाई जोड्ने गरी चारैतिर पानीको फोहोरा निस्कने पक्की नालीको पूर्वाधार समेत पार्कभित्र रहेको छ तर, यहाँ २०४६ सालयता पानीको फोहोरा सञ्चालनमा ल्याइएको छैन ।पार्कको स्वामित्व बोकेको भद्रपुर नगरपालिकाले नयाँ नामकरण र जीर्णोद्धार गर्ने विषयमा नयाँ सोच बनाइरहेको छ । भद्रपुर नगरका प्रमुख जीवनकुमार श्रेष्ठले झापाकै सबैभन्दा पुरानो पार्क भएको हुँदा यसलाई नयाँ ढङ्गले जीर्णोद्धार गरी सञ्चालनमा ल्याउन योजना अघि सारिएको बताए । फूलको बगैंचा हुर्काउन, हेरचाह गर्न र बाल उद्यानको रूपमा विकास गर्न नगरपालिकाले डेढ वर्षमा रु १० लाख बजेट खर्च गरेको श्रेष्ठले जानकारी दिए ।

पार्कमा बालबालिकाले खेल्ने चार वटा चिप्लेटी, पाँच वटा पिङ, चार वटा चाकाचुली, आठ वटा फलैँचा र दुई वटा पानीबाट ओतिने पक्की टहरा नगरपालिकाले निर्माण गरेको छ । नगरपालिकाले अमृत थापा र मोहनप्रसाद तिवारीलाई मासिक पारिश्रमिक दिएर पार्कको हेरचाहमा खटाएको छ । नयाँ माली खटिए पछि फूलबारी र सरसफाइको अवस्था सुध्रिएको छ ।

पाँच वर्ष मलेशियामा फूलबारी हेरचाहको काम गरेका थापा नगरपालिकाले पर्याप्त स्रोत र साधन उपलब्ध गराए पार्कलाई आकर्षक बनाउन समय नलाग्ने बताउँछन् । दैनिक औसत डेढ सय अवलोकनकर्ता पार्क घुम्न आउने गरेको र शनिवार यो सङ्ख्या बढेर एक हजार नाघ्ने गरेको थापा बताउँछन् ।

हरेक बिहान ६ः३० बजे खुल्ने यो पार्क १०ः०० बजे बन्द हुन्छ र दिउँसो २ बजे फेरि खुलेर साँझ ७ः३० बजे मात्र बन्द हुने गरेको छ । बिहान र साँझ धेरै मानिस घुम्न आउने गरेको बताउँछन् । विसं २०६२ मा गठित संयुक्त जनआन्दोलन संयोजन समिति झापाका सदस्य एवं तत्कालीन नेकपा एमालेका अध्यक्ष कोइरालाका अनुसार पार्कको नयाँ नाम ‘शहिद पार्क’ राख्ने निर्णयको अब कार्यान्वयन गर्नुपर्नेर बताउँछन् ।

‘त्यसबेला बैठकमा माइन्युट समेत भएको थियो,’ कोइराला भन्छन्, ‘समितिमा धेरै दलका प्रतिनिधि थिएं । पछि सबै आ–आफ्नो दलको काममा अल्मलिँदा पार्कको विषय ओझेलमा प¥यो ।’ कोइरालाले महेन्द्र पार्कलाई शहीद पार्क बनाउन र राजाको भत्काइएको शालिकलाई प्रतिस्थापन गरी शहीदको शालिक राख्नुपर्ने सुझाव दिए । संयुक्त जनआन्दोलन संयोजन समितिका संयोजक एवं तत्कालीन नेपाली काङ्ग्रेसका जिल्ला सभापति सुधिर शिवाकोटी पार्कमा व्यक्तिको नामकरण गर्नुभन्दा ज्येष्ठ नागरिक र बालबालिका रम्ने पार्कको रूपमा यसलाई विकास गरिनु पर्ने धारणा व्यक्त गरे । समितिको निर्णयका कारण नभई त्यसबेला माओवादीहरूले तोडफोड गरेको उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित झापा क्षेत्र न. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन महेन्द्र पार्क राष्ट्रिय धरोहर भएको र त्यसको स्वामित्व भद्रपुर नगरपालिकासँग भएको हुँदा उसैले संरक्षणको जिम्मा लिनुपर्ने दिए बताउँछन् ।

‘नगरपालिकाले के गरौं भनेर कहिले सोधेको छैन,’ सांसद् लिङ्देन भन्छन्, ‘व्यवस्थापन गर्न सक्दैनौं भनेर नगरपालिकाले भनोस् । हामी केन्द्रबाट बजेट जुटाएर संरक्षण गराउँछौं ।’
भद्रपुर क्षेत्रबाटै १ नं प्रदेशको प्रदेशसभा सदस्यमा निर्वाचित ओम सरावगीले पनि पार्कमा जनआन्दोलनका शहीद सुरज विश्वास र राजन गिरीको शालिक राख्नुपर्ने धारणा व्यक्त गरे । भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले सबैको भावनालाई समेटेर नगरपालिकाले छिट्टै शहीद पार्कलाई औपचारिकता दिने प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार त्यसका लागि कानूनी आधारहरू तयार गर्ने काम भइरहेको छ । ‘पार्क सञ्चालन कार्यविधि बनाइरहेका छौं,’ उपप्रमुख श्रेष्ठले भने, ‘पार्कमा जनताले फ्याँकिसकेको पुरानै राजाको मूर्ति राख्न अब उचित हुँदैन । नगरपालिकाले परिवर्तनको अनुभूति हुने गरी पार्कलाई संरक्षण गर्नेछ ।’