पाठ्यक्रम उही सिकाइ फरक

चैत २७, २०७५

एटुजेट अनलाइन

अहिलेका बच्चाहरु टेक्नोलोजीमा निक्कै अगाडि छन् । अभिभावकहरु ‘मेरो बच्चा त पढ्नमा मात्र कमजोर छ । मोबाइल दियो भने त सबै एप्स डाउनलोड गर्नेदेखि अनेक काम गर्छ । त्यसो काममा त मेरो बच्चा स्मार्ट छ,’ भन्ने सुनिन्छ । बढ्दो टेक्नोलोजी र विज्ञान प्रविधिसँगै घुलमिल गरेका बच्चालाई हामीले कसरी हुर्काउने ? कुन शिक्षण विधि अपनाउने ? यी प्रश्न धेरै अभिभावकका मनमा खेलिरहेको छ । निजी विद्यालयले यही कुरालाई ध्यानमा राखेर मल्टिमिडिया प्रेजेन्टेसन, इन्टरनेटको प्रयोगबाट पठनपाठन गराइरहेका काठमाण्डु वल्र्ड स्कुलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र घिसिङले बताउँछन् ।

‘आइपिसी फ्रेमवर्कको प्रयोग गरेर पठनपाठन गराउने र कक्षाकोठाको वनावट मिलाएको छौं’ उनले भने, ‘एक सय ३० भन्दा बढी देहमा प्रयोग भइरहेको छ ।’ आधुनिक शिक्षाको महत्व बुझेर नै सरकारी पाठ्यक्रमलाई नै प्रोजेक्टरबाट दृश्य देखाएर बुझाउने र सिकाउने गरेका उनले बताए । अन्य क्रियाकलापलाई जोड दिएर पढाइसँगै उसको व्यत्तिगत प्रगतिमा साथ दिने गरेका उनले बताए । समाजमा आवश्यक पर्ने शिक्षाको विकास गर्नुपर्छ । क्रिकेट, भलिवल, टेवलटेनिस, बास्केटवल, चेसजस्ता खेलकुद क्रियाकलापले पनि विद्यार्थीको हौसला बढाउनुका साथसाथै राम्रो भए भविष्य निर्धारण गर्छ ।

अचेल विद्यार्थीहरू विदेश भ्रमणमा समेत जाने गरेका छन् । फ्रान्स, हङकङ, चिन, बैंकक, दुबई, मलेसिया, स्पेनलगायतका ठाउँमा विद्यार्थी जाने गरेका छन् । विदेश भ्रमणमा पैसा खर्च भए पनि सिक्ने कुरा धेरै हुने घिसिङले बताए । अन्तर्राष्ट्रिय शैक्षिक प्रर्दशनीमा त्यहाँको संस्कृति, रहनसहन, आर्थिक अवस्था, समयको महत्व, राजनीतिका केही ज्ञान प्राप्त गर्छन् । केही न केही त अवश्य सिक्छन् तर धेरै जसो विद्यार्थीले धेरैकुराको ज्ञान लिने गरेको दाबी गर्छन् । यो महत्वपूर्ण भएको समेत बताउँछन् । सफल हुनलाई पढाइ मात्र नभएर बाहिरी ज्ञानको पनि आवश्यक पर्छ त्यसैले शैक्षिक भ्रमण र अवलोकन गर्न जरुरी छ । अहिलेको भ्रमणबाट हामी नेपालीलाई समयको महत्व छैन तर विदेशमा एकएक सेकेन्डको महत्व हुन्छ भन्ने बुझेर आएको बताए।

बढ्दो प्रविधिसँगै अहिले शिक्षाको विकास पनि जरुरी छ । पूरानो तरिकाबाट पढाउँदा विद्यार्थीले बुझ्न गाह्रो हुन थालेको छ तर दृश्य देखाएर पढाउँदा सिकाउँदा बढी बुझ्ने गरेको शिक्षकहरू बताउँछन् । फिल्महरू याद हुने जस्तै शिक्षालाई पनि सम्झिन सकिने उनीहरुले बताए ।

समयअनुसार चल्नुपर्छ । विद्यालयस्तरबाटै प्राविधिक शिक्षाको विकास गर्ने शिक्षा नीति आवश्यक रहेको रिभेरा इन्टरनेसनल एकडेमीका प्रिन्सिपल प्रजव कोइरालाले बताए । ‘२१ औं शताब्दीमा बढ्दो प्रविधि र प्रविधिप्रतिको लगावलाई मध्यनजर गरी पढाउन र सिकाउन जरुरी छ,’ कोइरालाले भने, ‘विद्यार्थीले किताबको ज्ञान, ज्ञानलाई सीपमा परिणत गर्ने कला र मानवीय मूल्यलाई आत्मसात् गर्ने क्षमता विकास गर्नुपर्छ ।’ विद्यार्थीको चाहनाअनुरुप सकारात्मक परिवर्तन ल्याउने सिकाइ गनुपर्ने उनले बताए । ‘अहिले किताब पढ्ने बानी कम हुँदैछ, तर प्रविधिको प्रयोगले पढ्ने तरिकाको विकास हुन्छ,’ उनी बताउँछन् ।

सामाजिक तथा मनोवैज्ञानिक विकासका लागि शैक्षिक भ्रमण आवश्यक छ । ‘पाठ्यक्रम त सबै सरकारी मान्यताको नै अध्ययन गराउछौं,’ उनले भने, ‘पढाउने मात्र नभएर सीप सिकाउन अतिरिक्त क्रियाकलाप थप गरेको हो ।’ शैक्षिक र गैरशैक्षिक भए पनि विद्यार्थीको समग्र विकास गर्न मद्दत गर्ने उनको विश्वास छ ।

सरकारले तोकेका पाठ्यक्रम त छन् तर विद्यालय अनुसार अतिरिक्त पाठ्यक्रम तथा प्रोगेस लर्निङका नाममा अन्य पाठ्यक्रम रहेका छन् । भाषा, खेलकूद, विदेश भ्रमण, स्वीमिङ, अवलोकन, मल्टिमिडियाजस्ता अतिरिक्त क्रियाकलाप तथा पठनपाठन हुन्छ । सबैमा एकरुपता भने छैन सबै विद्यालयको आआफ्नै नीति र नियमअनुसार विषय राखेका छन् । तर सबै विषयबाट विद्यार्थीको विकास नै हुने गरेका सञ्चालकहरूको मान्यता छ ।

सरकारले अहिलेको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जित गर्नु जरुरी छ । पढेर मात्र विद्यार्थीलाई अब्बल बनाउन नसकिने भएकाले विद्यालय स्तरबाटै त्यसको विकास गर्नुपर्ने देखिएको छ ।

आफ्ना कतिपय विद्यार्थी घरेलू कामदारहरू, गैह्रनेपाली मातृभाषी, अनेक संस्कार संस्कृति, भिन्दाभिन्दै चाल चलनयुक्त पृष्ठभूमीबाट आएकोले सिकाई प्रभावकारी बनाउन नसकेको केहीको तर्क छ ।

सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा सम्भव छ । विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक एकैसाथ भए बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन सकियो भने मात्र सर्वसाधारणलाई आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षाका नाममा ऋणको भारीबाट बचाउन सकिन्छ ।

सामुदायिक विद्यालयमा दक्ष, तालिमप्राप्त र अनुभवी शिक्षक केही मात्रामा भए पनि आवश्यक भौतिक संरचना भने छैन । निजी विद्यालयमा पर्याप्त मात्रामा भवन र अभ्यासका सामान हुन्छन् भने सरकारी विद्यालयमा त्यसको कमी छ । निजी विद्यालयमा संस्थापकहरू निगरानी गरेर शिक्षकलाई काम लगाउने तथा दबाब दिन्छन् भने सरकारी स्कुलमा दबाब कम छ । नेपालको शिक्षा सुधारको लागि अनुगमन तथा निरीक्षण, स्थानीय पाठ्यक्रम, प्रविधिक शिक्षा, रोजगारीमूलक शिक्षालगायतमा सुधार गर्दै अघि बढ्नुपर्ने देखिएको छ ।