कराँतेमा साहसिक नाउँः ‘लीला सिंह’

बैशाख ०१, २०७६

एटुजेट अनलाइन खबर

भीमदत्तनगर, वैशाख १ – दुई दशकअघि नौ किलोमिटरको दूरी साइकल चढेर महेन्द्रनगरस्थित कभर्डहल आउँदा लीला सिंहका साथीहरू गाउँमा मेलापात, घरको काम र अध्ययनमा बिताउँथे ।

खेलप्रतिको लगनशीलता र मोहले नशाको रुप लिँदा कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका कराँतेका ‘थ्री डन’ लीला सिंहलाई खेलस्थल नजिक वा टाढाको कुनै अनुभूति नै भएन । लगातारको खेल परिश्रमकै कारण महिला भएर पनि सुदूरपश्चिम प्रदेशबाट आफनो तौल समूहमा एकछत्र राज गरेकी सितोरियो कराँते खेलाडी सिंह ३८ वर्षको उमेरमा अहिले नजिकिँदै गरेको बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्रतिष्प्रर्धाको तयारीमा छन् ।

विसं १९९७ मा बागफाँटामा छोटो प्रशिक्षणपश्चात महेन्द्रनगरस्थित कभर्डहलमा नियमित खेलमा सहभागी हुनुभएकी सिंह अझै पनि २० वर्षभन्दा बढी समयदेखि सक्रिय छन् । शुरुआत नै स्वर्ण पदक उचाल्नबाट शुरु गर्नुभएकी खेलाडी सिंह सुदूरपश्चिमको खेल जगत्मा आँटिली खेलाडीका रूपमा परिचित छन् ।

‘जिल्लादेखि प्रदेशबाट छनोटमा स्वर्ण पदकबाहेक अरुमा चित्त बुझाउनुपरेको सम्झना छैन’, हाल आठौँ राष्ट्रिय प्रतियोगिताको तयारी गरिरहनुभएकी सिंहले भने, ‘आठौँमा पनि प्रदेशभन्दा विभागीय टिमबाट आउने खेलाडीसित भिड्नु चुनौती छ ।’

खेलजीवनका क्रममा अनेक उतारचढाव आए पनि खेलबाट कहिल्यै विचलित नभएकी सिंह हालसम्म विभिन्न राष्ट्रिय आमन्त्रित प्रतियोगितामा गरी नौ स्वर्ण पदक र धेरै पटक सर्वोत्कृष्ट खेलाडीसमेत बनेकी छिन । २०६२÷६३ को जनआन्दोलन हुनुअघि तत्कालीन माओवादीले सिंहलाई नौ महीनासम्म अपहरण गरी आफ्नो नियन्त्रणमा राखेको थियो ।

‘सधैँ घरबाट साइकल चढेर तालीम लिन कभर्डहल आउँथे’ सिंहले भने, ‘त्यो बेला माओवादीेले प्रहरीको सुराकी भन्दै अपहरण गरी नौ महीना राखे ।’ उहाँमाथि लगाइएको आरोप प्रमाणित नभएपछि रिहा भए । वैवाहिक जीवमा बाँधिनुभएकी सिंहले बृहत् चौथो राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका थिए ।

‘छैटौँ हुँदा बाबु सानो भएकाले सहभागी हुन सकिनँ’, उनले भने, ‘आठौँ राष्ट्रियमा पनि खेलेरै सहभागी हुनुपर्छ भनेर छनोटमा भाग लिएर अघि बढेकी हूँ ।’ आठौँमा ६८ किलोतौल समूहमा प्रतिष्पर्धा गर्ने सिंह बन्द प्रशिक्षण नभएकोप्रति दुःखी छन् ।

‘राष्ट्रिय खेलकूद हुँदा व्यक्तिगत इभेन्टका खेलाडीले बन्द प्रशिक्षण नपाएको यो पहिलोपटक हो’, उनले भने, ‘समूह खेलमा खेलाडीलाई बन्द प्रशिक्षण दिइए पनि व्यक्तिगततर्फ दिइएन ।’ दुई दशक खेलक्षेत्रमा बिताउनुभएकी सिंहले खेलकूद राजनीति र पहुँचका कारण खस्किँदै गएको बताउछन् ।

‘खेलकूदमा लागेर भविष्य नदेख्ने राम्रा खेलाडी धेरै पलायन भए’, उनले भने, ‘अझै पनि देशका लागि भन्दा पनि ‘फिटनेस’का लागि खेल्नेको कमी छैन ।’ राष्ट्रिय रेफ्री कोर्ष र ‘लेवल टु’ सम्मको कोर्ष गरिसकेको भए पनि पहुँच नभएकै कारण खेलकूदमा रोजगारी नपाएको उनको गुनासो छ ।

‘यहाँ खेलाडीको क्षमता र दक्षतालाई अझै हेरिएको देखिँदैन’, उनले भने, ‘पहुँच भएकाले त रोजगारी पाए तर खेलस्तर कहाँ पुग्यो ?’ कराँतेमा लामो समय लागिरहनु कराँतेका प्रशिक्षक विमल खडायत र अग्रज खेलाडी वीरेन्द्र कँुवरको प्रेरणा रहेको उनको भनाइ छ । ‘अझै पनि खेलाडी ग्रामीण भेगमै छन्’, उनले भने, ‘लुकेका प्रतिभालाई बाहिर ल्याउन सरकारले सकिरहेको छैन ।’

साफमा कुस्तीबाट सहभागी

खेलाडीको लगनशीलता र साहस देखेरै यहाँका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दको ध्यान कराँते खेलाडी सिंहमाथि गयो । दुई वर्षअघि भारतको गुवाहाटीमा भएको १२ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा पहिलोपटक महिला कुस्ती हुने चर्चा चल्दै गर्दा कुस्ती प्रशिक्षकको आग्रहअनुसार कराँते खेलाडी सिंह कुस्तीको प्रशिक्षणमा जुटे ।

‘कुस्तीबाट पनि छनोट भएपछि साफ खेलमा सहभागी हुन गुवाहाटी पनि पुगेँ’, उनले भने, ‘साफ पुग्दा हाम्रो खेलस्तर र व्यवस्थापन कति पछि छ भन्ने छर्लङ्ग भयो ।’

त्यसैगरी कराँतेका वरिष्ठ प्रशिक्षक विमल खडायत खेलाडी सिंहको खेलजीवन निकै लगनशील र मेहेनती भएको बताउँछन् । ‘महिला भए पनि हठी र पुरुषसरहकै हिम्मत उनीमा छ’, उनले भने, ‘उनको निडरता कराँतेमा एउटा राम्रो उदाहरण पनि हो ।’