गोरुको विकल्प हाते ट्र्याक्टर

बैशाख ०२, २०७६

एटुजेट अनलाइन खबर

दमौली, वैशाख २ – तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी कल्पना थापाले हाते ट्र्याक्टरले खेतबारी जोत्न थालेको तीन वर्ष पुग्यो । पहिला खेताला खोजेर गोरु लगाएर बारी जोत्ने उनी अहिले आफैले सजिलै ट्र्याक्टर चलाएर खेतबारी जोत्न सक्नुहुन्छ ।

गाउँमा गोरु नै पाल्न छाडेपछि हिजोआज कल्पना जस्तै अन्य किसान हाते ट्र्याक्टरले नै खेतबारी जोत्न थाल्नुभएको छ । गोरुले जोत्दा दिनभर लाग्ने काम हाते ट्र्याक्टर लगाउँदा केही घन्टामै सकिने हुँदा किसान ट्र्याक्टरप्रति आकर्षित भएका हुन् । महिलाले गोरु जोत्न हुन्न भन्ने मान्यता भए पनि गाउँमा हिजो आज महिला नै ट्र्याक्टरको चालक भएर खेतबारी जोत्न थालेका छन् । त्यसको उदाहरण बन्नुभएको छ कल्पना ।

उनले भने,‘पहिलो कुरा त गाउँमा गोरु नै पाइन छाड्यो, त्यसमाथि जोत्ने मान्छे पनि नपाइने । अहिले हाते ट्र्याक्टरले सजिलै जोत्न सकिने हुँदा समय र पैसाको पनि बचत भएको छ ।’ श्रीमान् पूर्णबहादुरलाई काममा सघाउन कल्पना आफै ट्र्याक्टर लिएर बारी जोत्न अगाडि सर्नुहुन्छ । पूर्णबहादुर र कल्पना दुवै गाउँकै एक बोर्डिङ स्कूलका शिक्षक समेत हुनुहुन्छ ।

 

विद्यालय जान घरबाट सँगै निस्कने र फर्कने उनी हरू दुबै आलोपालो घर र खेतबारीको काममा खट्ने गरेका छन् । विगतमा खेतबारी जोत्ने बेलामा गोरु नपाएर कयौं दिन पालो पखर्नुपरेको स्मरण गर्दै कल्पनाले भने, ‘गोरुले जोत्ने समयमा पहिला पहिला खेत जोत्नको लागि दिन हेराए झैं हुन्थ्यो, तर आजकल दिउँसो विद्यालय गएर पनि बिहानबेलुका आफैले ट्र्याक्टर लगाएर बारी जोत्न भ्याइन्छ ।’

 

गाउँकै एक किसानसँग रु ३२ हजारमा उक्त ट्र्याक्टर खरीद गरेको उनले जानकारी दिए । उनका अनुसार गोरु लगाउदा भन्दा ट्र्याक्टर लगाउदा खेती धेरै उब्जनी भएको छ । भीमाद नगरपालिका–९ का अध्यक्ष इमान थापाले कृषिलाई आधुनिक र व्यावसायिक बनाउन हाते ट्र्याक्टर प्रयोग गर्न प्रोत्साहन गरिएको बताए ।

 

अनुदानमा हाते ट्र्याक्टर

तनहुँको ब्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । कृषिमा लागत घटाउँदै उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ६ वटा कृषि समूहलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख विश्वराज वाग्लेका अनुसार नगरपालिका नवआदर्श मादीगङ्गा सामुदायिक समूह, सिमलटार कृषि समूह, दरै कृषि समूह, सिर्जनशील मिश्रित कृषि समूह, बर्लाची कृषि सामुदायिक समूह र सहनशील कृषि समूहलाई हाते ट्र्याक्टर वितरण गरिएको छ ।

 

बाइस समूहको आवेदन परेकोमा पहिलो चरणमा ६ समूहलाई ट्र्याक्टर वितरण गरिएको वाग्लेले जानकारी दिए । हाते ट्र्याक्टरले एक दिनमा पाँच÷छ हलसम्मको खेत जोत्ने काम गर्दछ । गोरुले जोत्दा दिनभर लाग्ने भए पनि ट्र्याक्टरले जोत्दा एक हल खेत डेढ घण्टामा सकिन्छ ।

कृषिमा यान्त्रिकरण, व्यावसायिकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको उनले बताए । नगरपालिकाका कार्यबाहक प्रमुख मीरा जोशीले किसानलाई प्रोत्साहनस्वरुप प्रदान गरिएको ट्र्याक्टरको सही सदुपयोग हुनुपर्ने बताए ।

उनका अनुसार नगरपालिकाले कृषि क्षेत्रमा चालु आर्थिक वर्षका लागि रु ४९ लाख ३० हजार विनियोजन गरेको छ । नगरपालिकाले गतवर्ष तीन वटा हाते ट्र्याक्टर वितरण गरेको थियो । सहनशील कृषि समूहका अध्यक्ष कृष्णदेवी बस्नेतले गोरु महङ्गो पर्ने भएकोले हाते ट्र्याक्टर उपयुक्त विकल्प रहेको बताए । उनले भने, ‘गोरुले जोतेको दिनको रु दुई हजार भन्दा बढी पर्छ । गोरु भन्दा ट्र्याक्टर सस्तो पर्ने गरेको छ ।’

सिर्जनशील मिश्रित कृषि समूहका कृषक हरिबहादुर गुरुङले स–साना गरामा समेत जोत्न मिल्ने भएकोले हाते ट्र्याक्टर उपयुक्त रहेको बताए । उनले भने, ‘गोरु र हली खोज्दा नपाइने र पाए पनि महङ्गो हुने भएपछि ट्र्याक्टरमा आकर्षण बढेको छ ।’