पुनम

भदौ १८, २०७६

शरद अधिकारी

बिहान सुतिरहेको थिएँ। मोबाइलमा फेसबुकको नोटिफिकेसन आयो। अघिल्लो राति फ्रेन्ड रिक्वेस्ट पठाएका केहीले एसेप्ट गरेका रहेछन्। सबैलाई ‘हेल्लो’ लेखेर पठाएँ। तीमध्ये पुनम र उनकी साथीले मात्रै रिप्लाइ गरे। दुवैसँग सामान्य कुराकानी भयो। पुनम दाङकी रहिछिन्। उनकी साथी नेपालगन्जकी। दुवै नर्सिङ पढिरहेका रहेछन्। 

पुनमसँग निरन्तर कुराकानी हुन थाल्यो। उनीसँग मेरो कुरा मिल्थ्यो। सायद उनलाई पनि मेरो व्यवहार मनपथ्र्याे होला ! 
‘मलाई पत्रकार मनपर्ने भएर हजुरसँग गफ गरेको। नत्र खासै बोल्दिन,’ पुनमले म्यासेन्जरमा यस्तै भनेकी थिइन्। त्यसो त मलाई पनि नर्स साह्रै मनपथ्र्याे।

म्यासेन्जरमार्फत् कुराकानी हुन थालेको ६ महिना भइसकेको थियो। तर, हामीले एकअर्काको मोबाइल नम्बर साटासाट गरेका थिएनौं। एक दिन उनको मोबाइल नम्बर माग्नुपर्ने अवस्था आयो। बहिनीले एक–दुई दिन दाङमा बस्नुपर्ने भयो। म बहिनीलाई पुनमको घरमा बसाउन चाहन्थें। त्यसपछि म्यासेन्जरमार्फत् मोबाइल नम्बर मागेर तत्काल उनलाई फोन गरेँ। र, एक रातका लागि बहिनीलाई घरमा बसाउन आग्रह गरेँ। उनले आग्रह स्वीकारिन्। बहिनी पुनमको घरमा बसेपछि हामी झन् नजिक भएका थियौं।

उनी खेल्न सक्छिन् त म के कम ? मैले पनि उनबाट फाइदा मात्र लिन थालें। मात्र उनको शरीर र पैसा लिन थालेंं। कुनै न कुनै बहानामा फसाउन थालेँ। 

कुराकानीको सिलसिला जारी थियो–कहिले म्यासेन्जरमा त कहिले मोबाइलमा। 
दसैं आउनु केही दिन अघि उनले भेट्न आग्रह गरिन्। मैले सहमति जनाएँ। तर, कारणवश भेट्न सकिनँ। त्यसको भोलिपल्ट उनी त मलाई भेट्न नेपालगन्ज पुगिन्। हामीले होटलमा खाना खायौं। 
उनले फिल्म हेर्न जाने प्रस्ताव गरिन्। म, बहिनी र पुनमले फिल्म हेर्यौं। उनी मलाई मनपराउने रहिछिन्। ‘तिम्रो बानी मनपर्यो। तर, मलाई मायामा विश्वास छैन,’ मैले जवाफ दिएँ। 
भोलिपल्ट उनी कैलाली घुम्न गइन्। म पनि घरतर्फ लागेँ। कैलाली घुमेपछि पनि उनले मलाई भेट्न बोलाइन्। हामी दिनभर घुम्यौं। साँझ उनलाई गाडीमा चढाएदिएँ। 
उनले तिहारपछि आफू पनि काठमाडौं जाने कुरा बताइन्। र, सँगै लैजान आग्रह गरिन्। तर, अफिसमा काम भएकाले मेरो उनीसँग जान सक्ने अवस्था थिएन। 

केही दिनपछि पुनम काठमाडौं आइपुगिन्। त्यही दिन उनले मलाई भेट्न बोलाइन्। तर, अफिसको व्यस्तताले भेट्न सकिनँ। त्यसपछि उनी मसँग फोनमा निकै रिसाइन्। मैले उनलाई समस्या बुझाउन प्रयास गरेँ। तर, सकिनँ। उनले खाली भेट्ने रटान मात्रै लगाइरहिन्। 
अफिसको कामले फुर्सद भएपछि उनीसँग भेट भयो। त्यसपछि भेटघाट बाक्लियो। भेटघाट बाक्लिएपछि मलाई पनि मायाको अनुभव हुन थाल्यो। 
उनी काठमाडौंमा आइएलटिएसको तयारी कक्षा लिन जान्थिन्। म बेलाबेला उनलाई लिन र पुर्याउन जान्थें। त्यसैले उनका साथीसँग पनि मेरो चिनजान भएको थियो। एक दिन उनको साथीले पुनमको जिन्दगीमा अर्कै केटा रहेको बताइन्। म छाँगाबाट खसेजस्तो भएँ। पुनमको व्यवहार पनि त्यस्तै लाग्न थाल्यो। मलाई लाग्यो– अब पुनमबाट टाढिनु नै वेश। त्यसपछि मन थामेर मैले उनलाई फोन गर्न छाडेँ। 
केही दिनपछि उनकी मितिनीले मलाई फोन गरिन्। ‘हजुर फोन गरिस्यो। पुनम अचेल रोइरहन्छिन्। हजुरले नबोल्ने भन्नुभएपछि मर्छु भन्दैछिन्’ मितिनीले भनिन्।
पुनमलाई फोन गर्न बाध्य भएँ। मैले फोन गर्दा उनी रुँदै थिइन्। ‘म तिमीलाई धेरै माया गर्छु। मलाई कहिले नछोड्नु है,’ उनले भनिन्। 
‘हुन्छ।’ 
त्यसपछि उनीसँग माया पुनः पलाउन थाल्यो। म उनलाई खुसी बनाउन हरप्रयास गर्न थाले। उनी महत्वकांक्षी थिइन्। पुनमको इच्छा कसरी पूरा गर्ने मलाई चिन्ता थियो। उनका इच्छा पूरा गर्न मेरो आर्थिक स्तरले भ्याउँदैनजस्तो लाग्थ्यो। 
एक दिन उनी फोन गर्दा निकै सिरियस भइन्। ‘मेरा लागि अमेरिकाका ग्रिनकार्ड होल्डर, डाक्टर र इन्जिनियरको कुरा चलेको छ। तिमी केही गर। अनि मात्र म तिम्रोबारे घरमा कुरा गर्न सक्छु,’ उनले भनिन्। 
लाग्यो– मेरो जीवनमा आँधी आएको छ। 

प्रणय दिवसमा म उनलाई भेट्न काठमाडौंबाट दाङ पुगें। त्यसदिन उनले मसँगै जीवन बिताउने वाचा गरेकी थिइन्। त्यो दिन मैले उनलाई औँठी लगाइदिएँ। उनी खुसी थिइन्। उनले भागेर बिहे गर्ने प्रस्ताव गरिन। मलाई पनि त्यतिबेलै बिहे गर्ने चाहना त नभएको होइन। तर, आमाको कुराले रोक्यो। आमाले मेरो बिहे धुमधामसँग गर्ने भन्नुभएको सम्झिएँ। म आमाको चाहनाविपरित जान सक्दैनथेँ। त्यसैले मन भारी बनाएर भनें, ‘घरमा भन। बिहे धुमधामसँग गरौला। भागेर होइन।’ 
उनी ममाथि शंका गर्न थालिन्, ‘तिमी मलाई माया गर्दैनौं। मसँग टाइमपास मात्र गरिराछौ।’ 

मैले उनलाई सम्झाएँ। कसम खाएँ। त्यसपछि हामीले बिजनेस गर्ने योजना बनायौं। मैले कम्पनी खोलें। कम्पनी चलाउन उनले पनि आर्थिक सहयोग गरेकी थिइन्। तर, जति मेहनत गर्दा पनि कम्पनीमा घाटा भयो। लाग्यो– भाग्यले नि साथ दिएन। मसँग पैसाको कमी हुन थाल्यो। 

उनले जागिर गर्न थालिन्। बेलाबेला मलाई आर्थिक सहयोग गरिरहन्थिन्। तर, आफूले सहयोग गरेको भन्ने गर्थिन्। ‘तिमी केही गर्न सक्दैनौ। सायद म तिमीसँग खुसी हुन्न होला,’ उनले एक दिन मसँग भनिन्। मलाई उनका कुराले मुटु चुँडेर आयो। 
लाग्यो– माया गर्ने मान्छेलाई कसरी यस्तो भनेको होला ! 
एक पटक उनले १५ दिनका लागि घर जानुपर्ने बताइन्। त्यो अवधिमा उनले न फोन गरिन् न त फोन नै उठाइन।  
पछि उनले फोन गरिन। ‘म काठमाडौं फर्किसकेँ। भेट्न आऊँ।’ प्रेमिकाले भेट्न बोलाएपछि खुसी भएँ। र, गएँ।  

उनले पारिवारिक समस्याले घर गएको बताइन्। तर, पारिवारिक समस्याबारे केही खोलिनन्। मैले पनि कर गरिनँ। 
केही दिनपछि उनी इन्गेजमेन्ट गर्न घर गएको थाहा पाएँ। मेरो मुटु छियाछिया भयो। मैले उनलाई यस्तो किन गरेको भनी प्रश्न गरेँ। तर, उनी केही बोलिनन्। ‘५० हजारको औँठीसामु मैले लगाइदिएको पाँच हजारको औँठी सानो भयो ? तिमीले मायालाई पैसामा तुलना गर्यौ…।’ मैले उनीसँग थुप्रै प्रश्न गरेँ। तर, उनी निरुत्तर बनिरहिन। आफ्नी प्रेमिका अर्कैको दुलही बन्ने भएपछि म दुःखी बने। म सम्हालिन थालेँ। उनीसँग फोन गर्न छाडेँ। 

उनले एक दिन आफैं फोन गरिनँ। र, भनिन्, ‘हाम्रो इन्गेजमेन्ट मात्र भएको हो विवाह होइन। दुई वर्षपछि विवाह गर्ने कुरा छ। त्योबेलासम्म तिम्रो र मेरोबारेमा घरमा भन्छु। प्लिज मसँग नरिसाउ न।’ 

मन मरिसकेको थियो। तर, पटक–पटकको उनको वेदनाले मेरो पनि मन पगाल्यो। फेरि बोल्न थालेँ। हामीबीच विवाहित जोडी जस्तै बस्ने सहमति भयो। उनी पटक–पटक फोन गर्थिन्, तर उठाउन मन लाग्थेन। फोनमा कुराकानी कम हुन थाल्यो। प्रत्येक दिन भेट्न चाहिँ भट्ने गथ्र्याैं।  
‘दसैँमा तिम्रो घर जाने’ भनेर जिद्धी गरिरहेकी थिइन्। उनका सामु झुक्न बाध्य भएँ। घरमा लगें। उनको घरमा पनि गएँ। अनि मैले सम्बन्ध अगाडि नबढाउने प्रस्ताव राखेँ। 
उनी ज्यादै घमण्डी थिइन्। ‘मलाई इग्नोर गर्ने’ भनेर रिसाउन थालिन्। सायद उनी मलाई भित्रैदेखि मन पराउँथिन्। उनी न मलाई छोड्न चाहन्थिन् न  अमेरिकाको ग्रिनकार्डलाई। मायालाई स्वार्थले जित्ने कोसिस गरिरहिन्, तर सकिनन्। 
उनले भित्रभित्र अमेरिका जाने प्रक्रिया चालिरहेकी रैछिन्। अमेरिका गए विर्सिहाल्छु, तर नेपालमा हुँदासम्म शरदसँग रोमान्स गर्ने सोचमा रैछिन्। 
उनका साथीसँग मेरो राम्रो सम्बन्ध थियो। उनीहरुबाट थाहा पाएँ कि, पुनम रातभर अमेरिकाको केटासँग ठिक्क पर्ने, दिनभर मसँग। 
उनको सपना ठूलो थियो। महँगो कपडा, महँगो सामान लगाउन खोज्ने। दिदीहरुले पैसा खुरुखुरु दिएर बिग्रेकी होलिन् भन्ने लाग्यो, तर पुरै फरक भइसकेकि रैछिन्। उनको दिमागमा पैसा मात्र रहेछ। ‘शरदसँग माया त गर्छु, तर आफ्नो जिन्दगीसँग कम्परमाइज गर्न सक्दिनँ। उसलाई थाहै नदिई अमेरिका जान्छु’ भन्दिरैछिन्। 

मनसँग खेल्न कति सजिलो रैछ उनलाई। दुःख लाग्यो थाहा पाउँदा। तर, अर्को कुरामा खुसी भएँ, बिहे गरेको भए त पछुताउने रैछु भनेर। 
मैले पनि उनबाट फाइदा मात्र लिन थालें। उनी खेल्न सक्छिन् त म के कम ? मात्र उनको शरीर र पैसा लिन थालेंं। कुनै न कुनै बहानामा फसाउन थालेँ।
उनले पनि त पैसा र मायामा पैसा नै रोजिन्।  ‘दिदीले पढाउनु भयो, सबै खर्च गर्नु भयो। उहाँको कुरा कसरी नाई भनुँ’, एक दिन उनले भनिन्, ‘तर म सधैं तिम्रो साथ चाहन्छु।’ 

उनले एउटा असल साथीका रुपमा जीवनभर सम्बन्ध कायम राख्न चाहेपछि म भित्रको रिस पनि मर्‍यो। आखिर माया नगर्ने भए जे भन्यो त्यो खुरुखुरु किन मान्थिन्। त्यही सोचेर राम्रोसँग बोल्न थालें। 
साथीका नाताले उनका हरेक पाइलामा साथ दिएर अमेरिकाको पक्रिया सिकाउँदै गएँ। अनि १० दिन राम्रो साथी बनेर डुलाएँ। उनको भिसा आयो। विवाह नेपालमै गरेर जाने कुरा चल्यो। उनी घरमा गइन्। विवाह सकेर काठमाडौं फर्किइन्। भेट्ने कुरा गरिन् अन्तिम पटक। मैले पनि उनको अन्तिम चाहना सम्झेर भेटेँ, भनें, सधैं खुसी हुनु। 
अमेरिका जाने दिन पनि उनले ‘सधैँ तिम्रोसाथ दिन्छु र तिमीबाट पनि साथ चाहन्छु’ भनिन्। आँसु पुछ्दै बिदाई गरेँ। 
अमेरिका पुगेको खबर आयो। खुसीसाथ जिउनु भनें। पैसाका लागि होइन, दिदीका लागि विवाह गरेको भन्दै थिइन्, मैले थपक्क फोन काटिदिएँ।
जे भए पनि जीवनको एउटा कालखण्डमा हामी सँगै भयौं। मनको माया कहाँ विलाउँछ र ! पुनम तिमी सधैं खुसी भएको देख्न चाहन्छु। ख्याल गर, मायाले पैसा कमाउन सकिन्छ, तर पैसाले माया किन्न सकिँदैन।