कोरियाले उपत्यकाको पुनःनिर्माण र स्मार्टसिटी विकासमा सहयोग गर्ने

September 6, 2019

एटुजेट अनलाइन खबर

काठमाडौँ, भदौ २० दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ ।

कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरूमा स्मार्टसिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माण तथा स्मार्टसिटी निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच कोरियाको सियोलमा सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्टसिटीहरूको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताए  ।

सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरूको विकास गर्न तथा आवासहरूको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।