नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो

भदौ २०, २०७६

एटुजेट अनलाइन खबर

काठमाडौँ, भदौ २० श्रीलङ्कामा जारी एसिसी यू१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ ।

श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल बनायो ।

वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई छोट्याएर ४२ ओभरमा झारिएको थियो । नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल केही समयको लागि प्रभावित बनेको थियो ।

नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धशतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिएका हुन । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन जोडे । आसिफ शेखले ७ रन जोड्दा अर्का शुरुआती ब्याट्सम्यान पवन शरार्फ ४ रनमा बाहिरिए ।

श्रीलङ्काका दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन÷तीन विकेट लिए भने आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक÷एक विकेट झारे ।