राष्ट्रपति भण्डारीबाट प्राचीन शहर बगान भ्रमण

October 18, 2019

एटुजेट अनलाइन खबर

म्यान्मा, कात्तिक १ म्यान्माको राजकीय भ्रमणमा यही असोज २९ गतेदेखि रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज पिन ऊ लिन शहरमा नेपालीहरूद्वारा सञ्चालित दुर्गा मन्दिरमा पूजाआजा गरेकी छिन् । सो मन्दिर नेपालीहरूले सन् १९६१(विसं २०१८तिर)देखि सञ्चालन गरेका हुन् ।

मन्दिरमा राष्ट्रपतिलाई नेपाली मूलका म्यान्माली पुजारी जगन्नाथ गौतम र खडानन्द खनालले स्वागत गरी पूजाआजा गराएका थिए । उनले त्यहाँस्थित पञ्चमुखी शिवको पनि दर्शन गरी पूजाआजा गरेकी थिइन् । सो मन्दिरमा रहेको शिवको मूर्ति तत्कालीन राजा महेन्द्र र पशुपतिनाथको प्रतिमा राजा वीरेन्द्रले आआफ्ना म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम पाण्डेले बताए ।

राष्ट्रपतिलाई त्यहाँ अखिल देशीय गोर्खा हिन्दू धार्मिक सङ्घले स्वागत गरेको थियो । राष्ट्रपति भण्डारीले आजै सो शहरको कान्दायजी पार्क्स्थित वनस्पति उद्यानको पनि अवलोकन गरे । सो उद्यानमा रहेकोे आकर्षक पुतली सङ्ग्रहालको पनि राष्ट्रपतिसहितको नेपाली प्रतिनिधिमण्डलले अवलोकन ग¥यो । नेपाली प्रतिनिधिमण्डलले माण्डले क्षेत्रमा रहेको प्राचीन बगान शहरस्थित बौद्ध मन्दिर, गुम्बा तथा विहारको अवलोकन गरेको थियो ।

बगान माण्डले क्षेत्रमा पर्ने प्राचीन शहर हो जुन युनेस्कोको विश्व सम्पदा सूचीमा राखेको छ । नवौँदेखि १३ औँ शताब्दीसम्म यो बगान अधिराज्यको राजधानी रहेको थियो । बगानले नै विभिन्न इलाकाहरू जिती पछि आधुनिक म्यान्मा निर्माण गरेको हो । बगानमा ११ औँदेखि १३ औँ शताब्दीसम्म चार हजार ४४६ बौद्ध मन्दिर, चैत्य र गुम्बा बनेकामा तीन हजार ८२२ अझै रहेका छन् । धेरै पटकको भूकम्पबाट क्षतिग्रस्त भए पनि समय समयमा पुनःनिर्माण भएका छन् र अन्तरराष्ट्रिय पर्यटकको आकर्षकको केन्द्र बनेका छन् ।

उहाँ आजै राजधानी नेपितबाट पिन ऊ लिन र बगान शहर हुँदै विशेष विमानबाट पुरानो राजधानी यङ्गोन आइपुग्नुभएको छ । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत छन् । राष्ट्रपति भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि यही कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा छिन् ।