‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ मा आज ‘एक बोली एक दाम’

चैत २१, २०७६

एटुजेड अनलाइन खबर


काठमाडौं, चैत २१ : एक साता समय थपिएसँगैं ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ मा आज आठौं दिन शुक्रबार केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको नाटक ‘उपियाँको निबन्ध’ को भिडियो प्रस्तुत हुँदैछ ।

विहिबार सातौ दिन भारतीय नाटककार सुरेन्द्र वर्मा लिखित, अनुप बरालको पर्यवेक्षणमा सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियो प्रस्तुति नाटक ‘शकुन्तलाको औंठी’को भिडियो देखाइएको थियो ।

चैत ११ गतेदेखि लकडाउनमा बसिरहेका दर्शकलाई क्वारेन्टाइनमै मनोरञ्जन प्रदान गर्न यो नाटक महोत्सवको आयोजना गरिएको हो । शुक्रबार मार्च २७ गते विश्व रङ्गमञ्च दिवसको अवसर पारेर महोत्सवको आयोजन गरिएको हो । क्वारेन्टाइन नाटक महोत्सव थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले संयुत रुपमा आयोजना गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै विश्व रङ्गमञ्च दिवसको सन्दर्भ पारेर चैत १४ गते शुक्रबार देखि उत्सव सुरु गरिएको थियो । पाकिस्तानी नाटककार शाहिद नदीमले लेखेको रङ्गमञ्च बर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ देखाइएको थियो ।

दोस्रो दिन शनिबार एस्थेटिक डान्स स्टुडियोको प्रस्तुतीमा नम्रता केसीको परिकल्पना र निर्देशनमा तयार नाटक ‘राजेन्द्रलक्ष्मी’ प्रस्तुत गरिएको थियो ।

तेस्रो दिन आइतबार ‘जालिनी’ नाटक भिडियो लाइभ स्ट्रिमिङ गरिएको हो । ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’ मा संग्रहित कथामा आधारित रहेको नाटक ‘जालिनी’ लाई परिकल्पना र निर्देशन दयाहाङ राईले गरेका छन् ।

चौथो दिन सोमबार नाटक ‘पाँच’ देखाँइएको थियो । सुदाम सीके निर्देशित नाटक ‘पाँच’ मा पाँच जना कलाकारले आफ्नो शरीरमा आफूलाई खोजे। शरीरसँग प्रयोग गरे। उनीहरूको शरीरलाई त्यसरी प्रयोग गर्दा बाहिरी तत्वको कस्तो प्रभाव पर्‍यो यस्तै कुराको सूक्ष्म विश्लेषण नाटक हो, ‘पाँच’। यो नेपालमा हुनेभन्दा फरक शैली र शिल्पको नाटक रहेको छ।

पाँचौ दिन ‘एक बोली एक दाम’ नाटक देखाँइएको थियो । ङ समूहको प्रस्तुति, लोककथामा आधारित, सिजन दाहाल लिखित, गोविन्द पराजुली निर्मित, प्रवीण खतिवडा निर्देशित नाटक ‘एक बोली एक दाम’को भिडियो प्रस्तुत हुँदैछ ।

छैटौं दिन बुधबार सुभोजित बन्द्योपाध्याय निर्देशित नाटक ‘नोथिङ टु से’को भिडियो लाइभ गरिएको थियो । अप्रिलको पहिलो दिन स्थापित भएको साइन थिएटरले प्रस्तुत गरेको यो नाटक स्थापनाकै दिन उत्सवमा स्ट्रिमिङ हुँदा आफूहरूले सम्मानित महसुस गरेको निर्देशक बन्द्योपाध्यायले बताए ।

थिएटर मलको फेसबुक पेजबाट स्ट्रिमिङ गरिएको नाटक करिब एक हजार देखि दुई हजार दर्शकले नियमित लाइभ हेरेको र करिव १४ हजार रिच भएको फेस्टिभल निर्देशकसमेत रहेका केदार श्रेष्ठले बताए । ‘रङ्गमञ्च मै उपस्थित भएर हेरेजस्तो अनुभूति नभए पनि दर्शकले भिडियो स्वरूप पनि मन पराउनु भएको पायौं’, श्रेष्ठले भने, ‘हेरिसकेको र हेर्न छुटाएका दुवैथरि दर्शकले नाटक हेर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।’

यो महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेजबाट लाइभ स्ट्रिमिङ हुनेछ ।