‘खान्छु चपाउदैं निल्छु भनेर दुनियां सबै, फन्को मादैंछ कोरोना बनेर धुम्रकेतु झै ’

चैत २२, २०७६

एटुजेड अनलाइन खबर


लुम्बिनी, चैत २२ : विश्वभर नोभल कोरोना भाइरस (कोभिड १९ )को संक्रमण बढ्दै गएपछि हरेक क्षेत्रका मान्छेहरू चिन्तित भएका छन् । यतिबेला साहित्यकारहरूले आफ्ना रचनामा कोरोनाको समसामयिकता बारेमा लेखिरहेका छन् । कसैले कविता मार्फत मृत्युको रुपमा संसारभरी कोरोनाको भाइरस फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन त कसैले अस्पतालका चिकित्सकहरूलाई साक्षत देवता भनेका छन् । साहित्यकारहरूले कोभिड १९ को बारेमा बिम्बप्रतिक प्रयोग गरेर रचना सृजना गरेका रचनाले सिंगो जगतलाई आत्मविश्वासि र अनुसाशित बनाउने अपेक्षा गरिएको छ ।

 

धेरै गर्न छ काम — धाम घरको जन्में हिजै भर्खर ।

आनन्दै छु बसी यहीं नियतिका चढ्दै म थुक्की अझै ।।

बाच्ने लोभ हुंदा छ दुखपिरको सानोतिनो त्यो कथा ।

साह्रै दुःखित छैन मार्छु म भनी हे मृत्यु ऐले नआ ।।

 

छन्दकबि कबिराज पौडेलले हे मृत्यु ऐले नआ भन्ने शिर्षकमा कोरोनालाई छन्दलयमा लेखेको चिठीको अंश हो यो । छन्दबादी समाज नेपालका संस्थापक अध्यक्ष समेत रहेका कवि पौडेलले कोभिड १९ मृत्यु बनेर आएको भन्दै कविता मार्फत अझै धेरै कामधाम गर्न छ, मृत्युलाई पछि आउन आग्रह गरे ।

साहित्यकार रुद्र ज्ञवालीले कोभिड १९ बाट बचाउनेहरू साक्षत देवताहरू भएको उल्लेख गर्नुभएको छ । उहांले साक्षात देवताको रुपमा चिकित्सकहरू भएको तर्क गर्दै देवताहरू शिर्षकको कविताको अन्तिम अनुच्छेदमा लेख्ँछन् ।

 

न बिहान यिनी भन्छन, न पर्यो सांझ भन्दछन ।

थापेर ज्यानको बाजी ज्यूने आशा जगाउछन ।।

श्रदाले शीर झुक्छ बन्दना कसरी गरु

छन अस्पतालमा सेता कोटका देवताहरू ।।

नेपाली साहित्यिक जगतका स्थापित साहित्यकार ज्ञवालीले बह्रमा विष्णु महेश्वर कता गए भन्दै यसरी प्रश्न समेत गरे ।

खान्छु चपाउदैं निल्छु भनेर दुनियां सबै

फन्को मादैंछ कोरोना बनेर धुम्रकेतु झै ।

थाहा छैन कता छन ती ब्रह्मा, विष्णु, महेश्वर

देख्छु म कर्मयात्राका कर्तव्यनिष्ठ ईश्वर ।।

 

साहित्यकार ज्ञवालीले झै अर्का बरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमीले कोरोनाबाट हुन सक्ने मृत्युबारे छ प्रश्न गर्दै चौपाइ छन्दमा लेखेका छन्।

कहिले , कसरी किन, कति, को, के ?

के हो मृत्यु ? र, जीवन हो के ?

प्रश्नहरूका चाङ यहां छन्

उत्तर तर किन मौन रहन्छन ?

 

त्रिभुवन विश्वविद्यालय नेपाली विभागका सह–प्राध्यापक समेत रहनुभएका डा. परिश्रमीले विश्वभरी प्रश्नहरूको चाङ थुप्रिएता पनि उत्तर मौन रहनुको कारण कोरोना भएको आफ्नो रचना मार्फत उल्लेख गरे । सिद्धार्थ साहित्य परिषदको कोषाध्यक्ष सिता ढुंगाना काफ्ले कोरोनाले बिश्व त्रसित बनाएको भन्दै मुक्तकमा यसरी व्यक्त गरे ।

 

विश्व त्रसीत बनेको छ आज

बाचेंर बचाउ भनेको छ आज ।

सारा ब्रहमान्ड एउटै ठाउमा उभिएर

हत उठाई मुक्तक गर्नेको छ आज ।।

 

अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन रुपन्देहीको अध्यक्ष लक्ष्मी शर्माले लकडाउनको बेला धेरै लखर लखर नहिड्न आग्रह गर्दै मुक्तक मार्फत आग्रह गर्छन ।

कोरोना भाइरसले यो धनी यो गरिब भनी रोज्दैन ।

कोरोना भाइरसले यो राम्रो यो नराम्रो भनी खोज्दैन ।।

ए युवा, कोरोना हो कोरली हैन लखर लखर पछि नलाग

कोरोना लाग्यो भने तिमिलाइ मात्र लान्छु भनी सोच्दैन ।।

प्राज्ञ सभाका सदस्य प्राध्यापक डा. कपिलदेव लामिछानेले हाईकु मार्फत कोरोनालाई यता नहेर्न यसरी आग्रह गर्छन ।

हाई कोरोना

यता हेर्दै नहेर

बाई कोरोना ।।

 

मगर लेखक संघ प्रदेश ५ अध्यक्ष उमेश लाटोमगरले कवितामा यसरी सचेतनाका कुरा गरे ।

कोरोना महामारी क्षितिज पारी

साबुन पानीले हात धुनु माडीमाडी

आछ्यू खोकी मुख छोपी

टाढा दुरी अत्यन्तै जरुरी ।।

कोरोनाको कारण मुलुकमा लकडाउनको अवधि थपिएको प्रति कवि देवी धीर ले हाईकुमा उल्लेख गरेका छनः कोरोना याद, घरको काम गर्न, थपियो म्याद ।।