डेनमार्कका संक्रमित नेपालीको तथ्यांक छैन

चैत २२, २०७६

एटुजेड अनलाइन खबर


कोपनहेगन (डेनमार्क), चैत २२ : डेनमार्कको अवस्था पनि तैं चुप, मै चुपको छ । कति नेपाली कोरोना भाइरसबाट संक्रमित छन् वा छैनन् आधिकारिक तथ्यांक छैन ।डेनमार्कमा धेरैजसो नेपालीहरु सफाइ, रेष्टुरेन्ट र होटलमा काम गर्छन् । यो अवस्थामा सफाइ गर्नुपर्ने भएका कारण काममा जानुपर्ने बाध्यता छ ।

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालका अनुसार रोगबाट संक्रमित भएकोबारे अहिलेसम्म रिपोर्ट आएको छैन । भ्रमण भिसामा आएका केही व्यक्तिहरुको भिसा सकिएको बाहेक अन्य समस्याहरु दूतावासमा आएका छैनन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कमा पनि नेपालीहरुमा कोरोना संक्रमित भएको आधिकारिक जानकारी आएको छैन । फेब्रुअरीबाट शैक्षिक सत्र सुरु भएकाले कलेजमा आएका नयाँ विद्यार्थीहरुलाई बढी कठिनाइ भएको जनाउँदै एनआरएनए डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले उनीहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको बताए ।

फेब्रुअरी सिजनका लागि करिब ५० जना विद्यार्थी नेपालबाट यहाँ आएका खड्काले जनाए । डेनमार्कमा करिब ५ हजार नेपाली छन् । विश्वभर छरिएका धेरै नेपालीहरुलाई कोरोनाले थलाइरहेको भए पनि कोरोनाबाट नेपाल जोगिएकोमा भने प्रवासमा रहेका नेपालीहरु खुसी छन् । उनीहरुको चाहना छ, नेपालले अन्य मुलुकको जस्तो महामारी भोग्नु नपरोस् ।

युरोपका विभिन्न देशमा रहेका नेपाली तथा नेपाली मूलका विदेशीहरु पनि कोरोना भाइरसबाट संक्रमित हुनबाट अछुतो रहेनन् । बेलायतमा २ जना र अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।