कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गर्नेको संख्या २ लाख २८ हजार ४०५

चैत २२, २०७६

एटुजेड अनलाइन खबर


काठमाडौं, चैत २२ : कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार २०४ देश यो महामारीबाट प्रभावित छन्। नेपालमा पनि ६ जनामा कोरोना देखिएको छ। एक जना उपचार पछि घर फर्केका छन् भने पाँच जनाकाे उपचार भइरहेको छ।

कोरोना भाइरसका कारण विश्वका ११ लाख मानिस संक्रमित बनेका छन्। चीनको वुहानमा पहिलोपटक देखिएको यो भाइरसका कारण ५९ हजार १४१ को ज्यान गइसकेको छ।

कोरोनाका कारण संक्रमण र मृत्यु भइरहे पनि यसबाट निकाे भएर घर फर्कनेको संख्या पनि उस्तै बढिरहेकाे छ । यसले कोरोना भाइरस लागे मृत्यु नै हो भन्ने गलत बुझाई भएको देखाएको छ। कोरोनाबाट स्वास्थ्यलाभ गर्नेको संख्या पनि दैनिक बढेको नै देखिन्छ। वर्ल्डओमिटर्सका अनुसार २ लाख २८ हजार ४०५ जनाले स्वास्थ्य लाभ गरेका छन्। चीनमा संक्रमण देखिएका ७६ हजार ५७१ जनालाई निकाे भएर घर फर्केका छन्।

त्यस्तै स्पेनमा ३० हजार ५१३, जर्मनीमा २४ हजार ५७५, इटालीमा १९ हजार ७५८, इरानमा १७ हजार ९३५, फ्रान्समा १४ हजार र अमेरिकामा १२ हजार २८३ जना उपचार पछि निकाे भएर घर फर्केका छन् ।

यसरी हेर्दा भाइरस मुक्त हुनेको संख्या पनि धेरैनै देखिएकाे छ। यसले के देखाउँछ भने कोरोना लाग्दैमा मृत्यु भइहाल्छ भन्ने होइन। तर ज्येष्ठ नागरिक, दिर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई भने यसले छिटो प्रभावित गर्ने डाक्टरहरू बताउँछन् । औषधी पत्ता लगाइ नसकेको अवस्थामा यसबाट बच्न नियमित सावुन पानीले हात धुने, दुरी कामय गर्ने, घरबाहिर ननिस्कने जस्ता सावधानी नै अपनाउनु पर्ने देखिन्छ।