युट्युबमा हेर्न मिल्ने नेपाली फिल्म

बैशाख २३, २०७७

एटुजेड अनलाइन खबर


फिल्म हेर्न युट्युबजति सजिलो माध्यम अर्को कुन होला र! युट्युबमा कुन फिल्म छ-छैन भन्ने चाहिँ थाहा नहुन सक्छ। नेपाली फिल्म रुचाउने दर्शकका लागि यहाँ युट्युबमा भएका यी फिल्म लकडाउनको समय काट्ने राम्रो बहाना हुन सक्छ।

जात्रा 

तनावरहित बस्नुपर्ने यो समयमा हास्यप्रधान फिल्म ‘लाफिङ थेरापी’ बन्न सक्छ। जात्रा त्यस्तै फिल्म हो। जात्राको कथा सामान्य छ। आकस्मिक रूपमा ठूलो धनराशी भेटिएपछि पात्रहरूले पैसा पचाउन गरेको संघर्ष नै यसको कथा हो। यसमा पैसाको अभावमा बाँचिरहेका निम्न-मध्यमवर्गीय पात्रले नसोचेको पैसा पाउँदा उनीहरूको मनमा उब्जने फरक–फरक मनोदशाको चित्रण पाइन्छ।

हिन्दी फिल्म हेरेर हुर्केका दर्शकलाई जात्राको कथा नयाँ नलाग्न सक्छ। तर रमाइलो प्रस्तुति, स्वाभाविक अभिनय, रसिलो–चोटिलो संवादले तान्छ। काठमाडौंको पुरानो बजार असन आसपासको न्ह्योखाबहाल, इन्द्रचोक वरपरका परिवेश समेटिएकाले पात्र र दृश्यमा स्थानीय रङ भेटिन्छ।

फणिन्द्रको भूमिकामा विपीन कार्कीको जीवन्त अभिनय फिल्मको सशक्त पक्ष हो। कपाल काट्ने नाइको भूमिकामा देखिने रवीन्द्र झा र साहुजीलाई महिनौं भाडा तिर्न नसकेका पसलेको भूमिकामा रवीन्द्रसिंह बानियाँको अभिनय पनि कम छैन।

निर्देशक प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको जात्रामा माथि उल्लिखित तीन कलाकारबाहेक वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे लगायत कलाकार मुख्य भूमिकामा छन्।

गोपी

विपीन कार्की, सुरक्षा पन्त र बर्षा राउतको मुख्य भूमिका भएको गोपी पनि विषयका हिसाबले नयाँपन थप्ने अर्को नेपाली फिल्म हो।हरेक सिनेमामा फरक देखिने विपीन कार्कीले यसमा गाईपालकको भूमिका सुहाउँदो देखिन प्रशस्त मेहनत गरेका छन्।

गोपीले विदेशको मोह त्यागेर नेपालमै गाई पालेर जीविका चलाउन चाहने युवाको प्रयत्नको कथा भनेको छ। नेपालमा गाईपालनको अवस्था, दूधको बजार, किसान र उपभोक्ताका समस्या र सरकारी नीतिसम्मका प्रसंगलाई छोएको छ।गोपी मनपरे फ्लिम समीक्षक हुँदै निर्देशक बनेका दिपेन्द्र लामाको अर्को फिल्म ‘घामपानी’ पनि युट्युबमै छ, हेर्न सकिन्छ।

पशुपतिप्रसाद

दीपेन्द्र के खनालको निर्देशन र खगेन्द्र लामिछानेको मुख्य अभिनयको पशुपतिप्रसाद धेरैले रुचाएको फिल्म हो।गाउँबाट सहर पसेर हराउने युवा सपनाको कथालाई मौलिक र जीवन्त रूपमा देखाइएको पशुपतिप्रसाद नामजस्तै पशुपतिनाथ मन्दिर परिवेशमा खिचिएको फिल्म हो।

पशुपति क्षेत्रलाई दृश्यमा उतार्ने काम मात्र नगरेर त्यहाँको घाटे, जोगी, वृद्धवृद्धादेखि तस्करीसम्मका विषयलाई फिल्मको कथामा जोडिएको छ।भुइँचालोमा धेरैले धेरै कुरा गुमाए। पशुपतिप्रसाद भुइँचालोमा घर र आमाबा गुमाएर गाउँबाट काठमाडौं आएको पात्र हो। साहुको ऋणको भारी बोकेको पशुपतिप्रसाद आर्यघाटमा लास जलाएर बचेको मुढा ओसार्ने कामदेखि ठेलामा समोसा बेच्ने कामसम्म गर्न तयार छ।

तर उसको दुःख घट्दैन। बढ्दै बढ्दै एउटा उत्कर्षमा पुगेर चुँडिन्छ।मुख्यपात्रसँगै यसका हनुमानजी र भस्मे पात्र उत्तिकै चर्चित छन्। पशुपतिप्रसादका निर्देशक दिपेन्द्र र अभिनेता खगेन्द्रको सहकार्यको धनपति पनि युट्युबमा हेर्न पाइन्छ।

टलकजंग भर्सेज टुल्के

विश्वप्रसिद्ध चिनियाँ लेखक लु शुनको ‘आह क्यूको साँचो कथा’ लाई आधार बनाएर नेपालीमा अनुप बरालको निर्देशनमा टलकजंग भर्सेस टुल्के नाटक मञ्चन भएको थियो। त्यही नाटकलाई पछि निश्चल बस्नेतले निर्देशन गरे।

टलकजंग अर्थात टुल्के भूमिका खगेन्द्र लामिछानेले निर्वाह गरेको यो फिल्ममा रवीन्द्रसिंह बानियाँ, ऋचा शर्मा र दयाहाङ राईको मुख्य अभिनय छ।

यसको कथा वर्गसंघर्ष र माओवादी आन्दोलनको सेरोफेरोमा बुनिएको छ। शोषण, जालझेल, प्रतिशोध र विद्रोहका तहहरु पत्रपत्रमा खुल्ने यो फिल्म आत्मसम्मान चाहने युवाको कथा हो।

साँघुरो

शुशांक मैनाली, दिया मास्के, अरुणा कार्की र दयाहाङ राईको मुख्य भूमिका रहेको साँघुरोलाई नेपाली सिनेमाको दायरा फराकिलो बनाउने फिल्म मानिन्छ।

सुकुम्बासी बस्तीको गरिब दम्पत्तीले भोग्नुपरेको समस्या नै फिल्मको मुख्य विषयवस्तु हो। यौन मनोविज्ञानमा आधारित साँघुरोमा सहरी गरिब परिवारको कथा छ। के सपना अनि के विपना! फिल्मको नामजस्तै उनीहरू खुम्चिएका छन्।

सुकुम्बासी बस्तीको एउटा छाप्रोभित्र दुःखसुख जिन्दगी कटाइरहेका आमा र छोरा छन्। हकर काम गर्ने कृष्ण र उनले पत्रिका पुर्याउन जाने एक जना ग्राहकको घरमा काम गर्ने कमलाबीच प्रेम बसेपछि बिहे हुन्छ। बिहेपछि शारीरिक सम्बन्ध राख्न उनीहरूका लागि परिस्थिति अनुकूल हुँदैन। कृष्णकी आमा र यो जोडी बस्ने कोठा एउटै छ। उनीहरूका लागि आमाको उपस्थिति बाधक बन्दै जान्छ र कथाले नयाँ मोड लिन्छ।

सानो कथा सानै परिवेश, मानवीय कुण्ठा र मनोविज्ञानको सूक्ष्म चित्रण साँघुरोको सबल पक्ष हो। जोयस पाण्डेले निर्देशन गरेको फिल्मका लेखक विनोद पौडेल हुन्।

सुनगाभा

सुनगाभा केटी-केटीबीचको प्रेमकथा हो। यसमा दिया मास्के र निशा अधिकारी मुख्य भूमिकामा छन्। दिया परम्परागत नेवार परिवार र निशा आधुनिक देखिने परिवारमा हुर्केका हुन्छन्। उनीहरू आफ्नो प्रेममा समर्पित छन् तर परिवार र समाजले नबुझ्दा उनीहरूको सम्बन्ध जोखिममा पर्दै जान्छ।

नृत्य शिक्षिकाको भूमिका निर्वाह गरेकी दिया मास्केको सशक्त अभिनय रहेको सुनगाभामा निशाको अभिनयमा सहजता भेटिन्छ। निर्देशक सुवर्ण थापाको यो फिल्म पनि विदेशी महोत्सवमा चर्चा पाउन सफल भएको थियो। यसमा सौगात मल्ल निशा अधिकारीका दाइको भूमिकामा छन्।

निर्देशक थापाको ‘फन्को’ फिल्म पनि युट्युबमा फेला पार्न सकिन्छ।

उमा

द्वन्द्वकाल चित्रण गरिएको उमा हेर्नयोग्य फिल्म हो। माओवादी छापामार उमा (ऋचा शर्मा) र प्रहरी मिलन (सौगात मल्ल) एकअर्कालाई अगाध माया गरेर पनि दुवै विपक्षी हुन्। यी दुईको चेपुवामा उनीहरूकी आमा (मिथिला शर्मा) परेकी छन्। नेपाललाई मिथिला शर्माको भोगाइसँग जोड्ने हो भने देशको हालत पनि मिथिलाको जस्तै थियो।

द्वन्द्वकालको वरिपरि बनेका अरू फिल्मभन्दा यसको विशेषता के भने, यो महिलाप्रधान सिनेमा हो। बन्दुक बोकेर युद्धमा होमिएकी सशक्त भूमिकामा ऋचा शर्मा जमेकी छन्। प्रवीण खतिवडा, पुष्कर गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा लगायतका पात्रहरुसमेतको फिल्ममा मुख्य भूमिका छ।

निर्देशक छिरिङरितार शेर्पाको निर्देशनको ‘उमा’ हेर्न पाइए पनि उनको सशक्त फिल्म मुकुण्डो भने युट्युबमा भेटिन्न।

कबड्डी

त्रिकोणात्मक प्रेम कथा कबड्डी मुस्ताङको सुन्दर परिवेशमा खिचिएको छ। मैंया (रिश्मा गुरूङ) लाई फकाउन काजी (दयाहाङ राई) र विवेक (सौगात मल्ल)बीच हुने हानथाप नै फिल्मको रमाइलो पक्ष हो।

फिल्मको कथाले मुस्ताङको परिवेशसँगै थकाली परम्परा र स्थानीय राजनीतिलाई समेत जोड्दै लान्छ। मुख्यपात्र बाहेक कबड्डीमा विजय बराल, बुद्धि तामाङजस्ता कलाकारको उपस्थितिले पनि फिल्मलाई रोचक बनाएको छ।

‘कबड्डी’ मनपरे युट्युबमै भेटिने ‘कबड्डी कबड्डी’ पनि हेर्दा हुन्छ।

बलिदान

नेपालको राजनीतिक र सामाजिक जीवनमा २०४६ सालको आन्दोलनको विशेष महत्व छ। तीस वर्ष लामो एकदलीय पञ्चायती व्यवस्था परिवर्तनका लागि हजारौं नेपालीले बलिदान दिएका थिए। देश र प्रजातन्त्रका लागि ज्यानको बाजी थाप्नेहरुको कथा हो, बलिदान फिल्म।

मोदनाथ प्रश्रितको कथा र राल्फाली रामेशको संगीतमा रचिएका राजनीतिक चेतनाले भरिएका गीतहरू भएको बलिदान तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म हो। यसमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अञ्जना श्रेष्ठ, नीर शाह आदिको मुख्य भूमिका छ।

लुट

सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मालगायत मल्टिस्टार लुटले नेपाली फिल्ममा सुकेको बजार मात्रै उकासेन, फिल्मको ट्रेन्ड नै बदलिदियो। लुट युवा पुस्ताको नयाँ सोचको प्रतिनिधि फिल्म बन्न पुग्यो।

लुटको कथा हाकु कालेको बैंक लुट्ने मास्टरप्लान पूरा गर्ने प्रयाससँगै अघि बढ्छ। सौगात मल्लले निर्वाह गरेको हाकु कालेको भूमिका नेपाली फिल्मको सर्वकालीन यादगार पात्र हो। निर्देशक निश्चल बस्नेतको यो फिल्मले बेरोजगार सहरी युवा र पैसा कमाउने दबाबमा उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथा भन्छ। कथाभन्दा प्रस्तुतिका कारण रुचाइएको लुटको पटकथा, संवाद र अभिनयका कारण प्रशंसा कमाएको फिल्म हो। यसमा काठमाडौंका गल्लीदेखि भट्टीसम्मका दृश्यलाई सुन्दर ढंगले खिचिएको छ।

लुटजत्तिकै सशक्त नभए पनि लुटकै कथाबाट अघि बढ्ने यसको सिक्वेल ‘लुट २’ हेर्दा लकडाउनको समयमा रमाइलै लाग्न सक्छ।

यो सूचीमा परेका फिल्म प्रतिनिधि नाम हुन्, जसले विषय वा प्रस्तुतिका हिसाबले नयाँपन दिन सफल भए। यीबाहेक पनि युट्युबमा पुरानाे डुंगा, बधशाला, फिटकीरी, सानाे संसार, चपली हाइट, प्रेमपिण्ड, बसन्तीजस्ता धेरै फिल्म पाइन्छ जुन यो समयका लागि राम्रो खुराक बन्न सक्छ। सेताेपाटी