छिमेकीको गितार मागेर धुन रच्दै गायक युवराज

बैशाख २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, वैशाख २७ : गायक युवराज चौलागाई अहिले चितवनमा छन् । कोरोनाले गर्दा आफ्नो कामहरु ठप्प भएपछि उनले घर फर्किन उचित ठाने । उनी घर फर्किएको दोस्रो दिनमै नेपाल पूर्ण रुपमा लकडाउन भयो ।

विगत डेढ महिनादेखि युवराज आफ्नो परिवारसँग समय बिताइरहेका छन् । चाडपर्वको समयमा मात्र घर आउने युवराजलाई एक महिनादेखि आफ्नै काखमा पाउँदा परिवार दंग छन् । युवराज पनि आफ्नो परिवारसँग समय बिताउन पाएकोमा खुशी छन् ।

तर, उनको मन रेकर्डिङ स्टुडियो र स्टेजको माइकमा अल्झिरहेको छ । युवराज भन्छन्, ‘सबैभन्दा बढि याद आउने भनेको नै आफ्नो काम रहेछ । मलाई स्टुडियो र स्टेजको यादले सताइरहेको छ ।’

युवराज एउटा एल्बम निकाल्ने तयारीमा थिए । त्यसैको धमाधम काम भइरहेको थियो । त्यो काम अहिले पूर्ण रुपमा रोकिएको छ । युवराज भन्छन्, ‘अहिले एल्बम फाइनल भइसक्ने थियो । कोरोनाले रोकिदियो ।’

केही समय अगाडि मात्रै युवराजको नयाँ गीत रिलिज भएको थियो । उक्त गीतको प्रचार गर्न नपाएकोमा पनि युवराजलाई दुःख लागेको छ ।

चितवन पुगे पनि युवराजले आफ्नो संगीतकर्मलाई छोडेका छैनन् । उनी त्यहाँ पनि सृजनामा नै भुलिएका हुन्छन् । उनले भने, ‘मैले हामोनियम नै ल्याइनँ । त्यसैले छिमेकी भाईको गीतार मागेर संगीत सृजना गरिरहेको छु ।’

फुर्सदमा युवराज चलचित्र हेर्ने गर्छन् । युवराज आफूलाई मन परेका र पहिला हेर्न छुटेका नेपाली चलचित्र हेरिरहेको बताउँछन् । उनले भने, ‘म त पूरानो चलचित्रहरु हेरेर रमाइलो गरिरहेको छु । पूरानो चलचित्र हेर्दा रमाइलो लाग्छ मलाई त ।’

युवराज आफ्नो स्वस्थ्यलाई लिएर पनि निकै सतर्क छन् । आफूलाई फिट राख्नको लागि व्यायाम गरिरहेका छन् । युवराजले मोटो बन्दै गएको शरीर घटाउने उत्तम समय पाएका छन् ।