प्रभावकारी बन्दै एसइई अनलाइन कक्षा

बैशाख ३०, २०७७

एटुजेड अनलाइन खबर


बाँके, वैशाख ३० : महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व नै आक्रान्त बनेको छ । महामारी फैलिन नदिन विभिन्न मुलुक पूर्ण रुपमा लकडाउनमा छन् । नेपालमा पनि देशव्यापी रुपमा चैत ११ गतेदेखि लकडाउन गरिएको छ । मानिसहरु सेल्फ क्वारेन्टाइनमा छन् ।

यस जटिल परिस्थितिमा स्कुल तथा क्याम्पसहरु पूर्ण रुपमा बन्द रहेकाले विद्यार्थीहरु भने मारमा परेका छन् । कोरोना भाइरसकै कारण चैत महिनामा सम्पन्न गरिने माध्यामिक शिक्षा परिक्षा एसइई पनि हालसम्म हुन सकेको छैन ।

अहिलेको यस विषम परिस्थितिमा विद्यार्थीको सुनौलो भविष्यलाई मध्यनजर गर्दै बाँकेको कोहलपुरस्थित एसइई परीक्षा दिन नपाएका विद्यार्थीलाई रेडियो तथा अनलाइनबाट पठनपाठन गराउँदै आइएको छ ।

लकडाउन समयमा सञ्चालनमा ल्याइएको तयारी कक्षाबाट एसइई परीक्षा दिने तयारीमा बसेका विद्यार्थीहरु लाभान्वित बन्न थालेका छन् । साथै रेडियो र अनलाइनबाट दिइएको तयारी कक्षा प्रभावकारी बन्दै गएको शिक्षकहरुको भनाई छ ।

कोहलपुरस्थित रेडियो मिसन ९०.६ मेगाहर्ज, रेडियोको फेसबुक पेज र अनलाइनबाट हप्ताको पाँच दिन पढाई भइरहेको छ । जसअन्तर्गत अनिवार्य गणित, अंग्रेजी, विज्ञान, नेपाली र सामाजिक शिक्षा विषयको पढाइ भैरहेको छ ।

एसइई परीक्षालाई लक्षित गरेर तयार गरिएको रेडियो कार्यक्रम आइतबार, सोमबार, मंगलबार, बुधबार र विहिबार विहान र बेलुका करिब एक घण्टा सञ्चालन हुने गरेको छ । विद्यार्थीहरुले नबुझेका कुरा फोन तथा एसएमएस मार्फत सोध्न सक्ने र शिक्षकहरुबाट समाधानमा सहयोग गर्ने व्यवस्था समेत रेडियोले मिलाएको छ ।

एसइई परीक्षाको तयारीलाई निरन्तरता दिंदै लकडाउको समयमा पनि अध्ययन बानीलाई थप प्रोत्साहित गर्ने, सरकारले जारी गरेको लकडाउनको बेला परीक्षाको मिति कुरेर बसेका विद्यार्थीको पढाईलाई फाइदा पुगोस भन्ने उद्धेश्यले तयारी कक्षा सञ्चालन गरेको तक्षशिला एकेडेमी बाँकेका प्रिन्सिपल चिरायुमान विश्वकर्माले जानकारी दिए ।

कार्यक्रमको तक्षशिला एकेडेमीका प्रिन्सिपल विश्वकर्मा र रेडियो संयाेजक एनबी साहुले सहजिकरण तथा सञ्चालन गरेका छन् ।

यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्यले नगर शिक्षा शाखा र यस क्षेत्रका विभिन्न विद्यालयहरुकोे सहकार्यमा कार्यक्रम सञ्चालमा ल्याइएको नगर शिक्षा प्रमुख अनन्त कुमार पौडेलले जानकारी दिए ।

२०७६ चैत्र ६ गते नै एसइई परीक्षा सञ्चालन भएर सकिने बेला भैसक्दा विश्व महामारीको रुप लिएको कोरोना भाइरस कोभिड–१९ ले गर्दा परीक्षा सुरु हुन सकेको छैन ।
कोभिड–१९ को जोखिम कम गर्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको छ ।

कोभिड–१९ को त्रास कम हुँदा वित्तिकै लकडाउन खुल्ला गर्ने योजना बनाएको सरकारले त्यसपछि मात्र एसइई परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।