व्यवसायीद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री

जेठ ०१, २०७७

एटुजेड अनलाइन खबर


लुम्बिनी, जेठ १ : युवा व्यवसायी सुनिल रायमाझीले भैरहवास्थित भीम अस्पताललाई यस्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेका छन् ।

होटल निर्वाणाका अध्यक्ष रायमाझीले अस्पताल सञ्चालक समिति सदस्यसमेत रहेका सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीलाई आज पाँच थान पिपिई, एक हजार थान मास्क, एक थान थर्मल गन र पञ्जा हस्तान्तरण गरेका हुन् ।

प्रदेश कोरोना विशेष अस्पतालका रुपमा सञ्चालित उक्त अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको प्रयोजनार्थ आफूले उक्त सामग्री प्रदान गरेको व्यवसायी रायमाझीले बताए ।  कोरोनाका लागि २८ शय्या सन्चालनमा रहेको उक्त अस्पतालमा हाल कोरोना पोजिटिभ देखिएका १९ बिरामीको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

उनका अनुसार अहिले अस्पतालमा कपिलवस्तुका चार, रुपन्देही गैडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिकाका चार र एक भारतीय गरी कुल १९ जना कोरोना पोजिटिभ बिरामीको उपचार भइरहेको छ ।

रुपन्देही जिल्लाको सबैभन्दा पुरानो भीम अस्पताल भैरहवालाई कोरोना भाइरस पोजिटिभ देखिएको बिरामीलाई उपचार गर्नेगरी कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरिएको छ ।

उक्त अस्पतालमा कोरोना बिरामीका लागि विशेष उपचार कक्ष सञ्चालन गरिएको छ । तीन भेन्टिलेटरसहित पाँच आइसियु बेड रहेको उक्त अस्पतालमा ३० स्वास्थयकर्मीले सेवा दिइरहेका छन् ।