बलेवा विमानस्थल कालोपत्रको काम प्रभावित

जेठ ०१, २०७७

एटुजेड अनलाइन खबर


बलेवा, जेठ १ : एक वर्षमा सक्नेगरी काम सुरु भएको बलेवा विमानस्थल कालोपत्रको काम प्रभावित भएको छ । काम गरिरहेका मजदुर एकाएक लकडाउनमै घर हिँडेपछि विमानस्थल कालोपत्रको काम प्रभावित भएको हो ।

नेपाल सरकारले सामाजिक दूरी कायम गरी आवश्यक सुरक्षा सावधानीसहित काम सञ्चालन गर्न आग्रह गरेको भए पनि विमानस्थलको काम सुरु हुन नसकेको हो । विमानस्थलको धावनमार्ग ग्रेडिङको काम चलिरहेकाले ग्रेडर र स्काभेटर चालकलाई निर्माणस्थलमा ल्याउने प्रक्रिया थालिएको निर्माण कम्पनी काष्ठमाण्डप एण्ड उमा जेभीले जनाएको छ ।

यातायात सहज नहुँदा अपरेटरलाई निर्माणस्थलसम्म ल्याउन कठिन भइरहेको कम्पनीका साइड इन्चार्ज वासु थापाले बताए । काम थालेको केही दिनमै लकडाउन भएपछि रोकिएको काम पुनः सञ्चालन गर्न बागलुङ नगरपालिकाले ताकेता गरेको छ ।

करिब दुई महिनादेखि बन्द रहेको काम तत्काल सञ्चालन नगरे निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले निर्माण कम्पनीलाई काम थाल्न अनुरोध गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

उता निर्माण कम्पनीका प्रतिनिधि थापाले भने दुई महिना काम रोकिएकाले निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने प्रतिक्रिया दिए । “हामी काम गर्न तयार छौँ तर वातावरण बनेको छैन”, साइड इन्चार्ज थापाले भने, “मुख्य काम चल्ने समयमा बस्नु परेकाले तोकिएको समयमा काम सकिन्न ।” विमानस्थललाई बाह्रै महिना सञ्चालन गर्ने गरी नागरिक उडड्यन प्राधिकरणले कालोपत्रको काम थालेको हो ।

अहिलेसम्म बलेवा विमानस्थलमा सानो टुइनेटर जहाजमात्रै चल्न सक्ने अवस्था छ । धावनमार्ग कालोपत्र भएपछि ठूलो जहाजले समेत उडान भर्न सक्ने नगरप्रमुख पौडेलले बताए ।

नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षमा चार करोड रकम विनियोजन गरी निर्माणकार्य अगाडि बढाएको हो । विमानस्थलको ७ सय मिटर लम्बाइ ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र हुने निर्माण कम्पनीले जनाएको छ ।

विसं २०७७ फागुन महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ । २६ वर्षसम्म बन्द रहेको बलेवा विमानस्थल बागलुङ नगरपालिकाको पहलमा विसं २०७४ चैत ९ गतेदेखि पुनः एक वर्ष सञ्चालनमा आएर बन्द भएको थियो ।

धावनमार्गकै कारण जहाजले नियमित उडान गर्न नसक्ने भएकाले कालोपत्र गरेर नियमित उडान गर्ने योजनाअनुसार काम थालिएको पौडेलले बताए ।

विमानस्थलसम्म पुग्ने सडक कालोपत्र नहुँदा समस्या हुनसक्ने भएकाले बागलुङ बजारदेखि विमानस्थलसम्मको सडक कालोपत्रका लागि सडक विभागलाई अनुरोध गरिएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।