शिक्षकलाई उपचार खर्च

जेठ ०१, २०७७

एटुजेड अनलाइन खबर


हेलम्बु, जेठ १ : हेलम्बु गाउँपालिकाले यहाँका  एक शिक्षकलाई उपचार खर्च  दिएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार सरस्वती मावि ग्याल्थुमका निमावि अस्थायी दरबन्दीमा कार्यरत शिक्षक किशोरकुमार भट्टलाई  रु ५१ हजार ४२१ प्रदान गरिएको छ । पित्तथैलीको शल्यक्रियाको बिलअनुसार रकम उपलब्ध गराइएको शिक्षा प्राविधिक विश्वनाथ भण्डारीले जानकारी दिए ।

गाउँपालिकामा कार्यरत शिक्षकको प्रत्येक महिनाको तलबबाट रु १०० र गउँपालिकाको तर्फबाट रु १०० थपेर गाउँपालिको शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोष खडा गरेको छ । सोही कोषबाट शिक्षक भट्टलाई रकम उपलब्ध गराएको भण्डारीले जानकारी दिए ।

गाउँपालिकाले शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोषको संयोजक गाउँपालिका अध्यक्ष र सदस्यसचिवमा शिक्षा अधिकृत रहने गरी सात सदस्यीय समिति गठन गरेको छ ।

कोषमा गाउँपालिकाले शुरुमा रु १० लाख दिएको छ । प्रत्येक शिक्षकले वार्षिक रु एक हजार २०० कोषमा जम्मा गर्नुपर्छ । शिक्षक बिरामी पर्दा कोषले उपचार गर्छ । त्यसैगरी अस्थायी र करारमा रहेका शिक्षकलाई अवकाश कोष स्थापना गर्ने नीति लिएको छ । कोषमा प्रत्येक शिक्षकले मासिक रु ५०० जम्मा गर्नुपर्ने नियम छ ।

गाउँपालिकाले प्रत्येक अस्थायी र करार शिक्षकका लागि वार्षिक रु छ हजार जम्मा गरिदिन्छ । बीचैमा पेशाबाट बाहिरिनुपर्दा शिक्षकले अवकाश कोषबाट रकम पाउँछन् । इसिडी कक्षामा पढाउने शिक्षकलाई सरकारले दिने रु छ हजार तलबमा गाउँपालिकाले रु चार हजार थपेर रु १० हजार दिने व्यवस्था मिलाएको छ ।

उनीहरुलाई पोशाकभत्ता रु १० हजार पनि प्रदान गरिने नीति लिएको छ । लेखामा काम गर्ने शिक्षक र प्रअलाई थप भत्ताको व्यवस्था गरिएको छ । हेलम्बुमा २२५ शिक्षक कार्यरत छन् ।