‘कोभिड-१९ ले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै छैन’ : पूर्वप्रधानमन्त्री देउवा

जेठ ०४, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौँ, जेठ ४ : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोभिड १९ ले पार्न सक्ने क्षतिबारे ज्ञान नै नरहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा संसदको छलफलमा भाग लिँदै देउवाले महामारी नियन्त्रण गर्न सरकार असफल रहेको बताए । उनले महामारी नियन्त्रण सम्बन्धमा सरकारको नीति तथा कार्यक्रमले सम्बोधन नै नगरेको आरोप लगाएका छन् ।

कोरोनाका कारण मृत्यु भएकी महिला, उनको परिवार, कोरोना परिक्षणको प्रतिक्षामा बसेका तथा प्रकोप बढ्दै गए स्थिति के होला भनेर त्रासमा बसेका नागरिकलाई सरकारले आफू अभिभावक भएको अनुभूति गराउनुपर्ने उनको जोड छ ।

‘हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरि समस्याको उचित समाधान गर्नेछ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ । उनले थपें, ‘पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन ।’