बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी

जेठ ०४, २०७७

एटुजेड अनलाइन खबर


नारायण ढुङ्गाना

‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा छ । गाउँ आकर्षक र सुन्दर छ । चारैतिर सेताम्मे हिमालको पर्खाल छ ।

दिउँसो घाम छिप्पिएसँगै सेतो हिमाल चम्किन्छ र गाउँतिर फर्किएर हाँस्छ । अनि यसै त सुन्दर यो गाउँलाई झनै आकर्षक र उज्यालो बनाइदिन्छ । आकाश खुलेपछि हिमाली वातावरण अझ उज्यालिएर आउँछ । त्यसपछि त्यही मौसम सुहाउँदो गरी चिटिक्क पारेर बनाइएका घर ठाउँ ठाउँमा थुपुप्क मिलेर बसेझैं देखिन्छन् ।

पत्रे ढुङ्गामा सेतो माटोको जडानले बनेको घरको गाह्रो, सुदूरपश्चिमको शैलीमा कुँदिएका काठका बान्की परेका दलिन, झ्याल र ढोकाले सजिसजाउ देखिन्छन् घरहरु । कतै जस्ता, कतै काठ त कतै ढुङ्गाले नै मोडेको छानो माथिबाट हेर्दा रङ्गीन बुटाझैँ आकर्षक देखिन्छ ।

ढुङ्गाको छपनीको आँगनसँगै चौकुना जोडिएका साना साना तर हिँड्न सजिलो हुने गरी बनाइएका गल्ली छन् । चारैतिर हिउँले ढाकिएको पहाडले थप सिङ्गारिदिएको दार्चुला जिल्लाको हिमाली क्षेत्र व्याँस गाउँपालिका–१ को छाङ्रु बस्ती ।

कतिपय घर आधुनिक शैलीका भए पनि अधिकांशले स्थानीयतालाई नै रुचाएको देखिन्छ । त्यसैले घर निर्माणका लागि स्थानीय उत्पादन नै प्रयोग गरेका छन् । कुनै घरमा बार्दली निकालेर रङरोगनले टिलिक्क पारिएको छ । बुट्टेदार काठका झ्याल र ढोकामा काठकै चम्किलो रङ सुहाएको देखिएको छ ।

फूलका गुच्छा बाँधिएझै मिलेर बसेको बाक्लो बस्तीभित्र बनाइएका गोरेटो बाटो भने भित्रभित्रै मानिस हराउलाझै निकै घुमाउरा छन् । करिब ५०० मिटर तल रहेको गागामा पनि उस्तै छन् घर । गागामा जितबहादुर बोहराले बनाएको घर त्यस गाउँकै नमूना मानिन्छ । रिसोर्ट जस्तै मन लगाएर बनाइएको घरमा पुग्ने जो पनि लोभिन्छ । त्यही घरमा उनले पछिल्लो समय होटल पनि सञ्चालन गरेका थिए ।

बस्ती र घर जति सुन्दर र चेतनशील देखिन्छ मानिसको बसाइँको अभावले त्यति नै सुनसान छ छाङ्रु । यहाँको ११५ घरधुरीका मानिस सदरमुकाम खलङ्गा र त्यस आसपासमा बसाइँ सरेका छन् । गाउँले नफर्किंदा त्यति सुन्दर गाउँमा चहलपहल शून्य छ । हरेक घरका ढोकामा ताल्चा झुण्डिएका छन् । खिया लागेर पछि नखुल्ला भनेर होला सायद ताल्चाको माथिबाट प्लास्टिकले मोडिएको देखिन्छ ।

घरका चेपमा दाउराको चाङ सजिएको छ । घरका खुला झ्यालबाट मानिस छिर्न नसकोस् भनेर दाउराले टम्म पारिएको छ । आ–आफ्नो घर बारीलाई दाउराले बारेर छुट्याइएको छ । कतिपयको बारीमा कलकलाउँदो लसुनले पोटी हालेको देखिन्छ । तर धेरैको बारी बाँझै छ । स्याउका बिरुवामा फूल खेल्न थालेको छ । कतै नयाँ बिरुवा हेरचाहको कमीले सुक्न पनि थालेको देखिन्छ ।

यति सुन्दर बस्तीमा विकास र आयआर्जनका कार्यक्रम सञ्चालन भएको कुरा यहाँ टाँसिएका साइन बोर्डबाट प्रष्ट हुन्छ । बोर्डमा ब्याँस ऋषि सामुदायिक संस्थाले गरेका गतिविधि प्रष्टसँग उल्लेख छ । उक्त बस्तीका समुदाय गलैँचा बुन्ने, होटल व्यवसाय, आरन व्यवसाय, जडीबुटी सङ्कलन, मौसमी व्यापारका कार्यक्रम सञ्चालन भएको प्राप्त विवरणबाट थाहा हुन्छ । हिमाली क्षेत्र भए पनि छाङ्रुको बस्ती अन्य बस्तीको तुलनामा विकसित छ ।

तर ६ महिना बाक्लो हिउँ पर्ने भएकाले उनीहरु बेंसी झर्छन् । ६ महिना मात्रै गाउँमा बस्छन् । यसपालि गत असोजमा बँेसी झरेका उनीहरु अहिलेसम्म फर्केका छैनन् । सुनसान गाउँमा एकजना चाउरे तामाङको परिवार बाध्यताबस बस्ने गरेको छ । एउटा घरमा काम गर्न बसेकाले अन्त कतै जाने ठाउँ नपाएर गाउँमै बस्नुपरेको चाउरेले बताए ।

‘बेंसी झरेका कोही फर्किएर आएका छैनन्, म मात्रै गाउँमा’, उनले भने । उनका अनुसार फापर, गहुँलगायत गाउँमा हुने अन्नबाली अहिले हराभरा भइसक्नुपर्ने थियो । तर त्यो बारी घाँसे चौर जस्तो बाँझो छ । उनी बेलाबेलामा जङ्गलमा च्याउ खोज्न जान्छन् । एक्लैले खेती गर्न सक्ने कुरा पनि भएन ।