संसारमा अर्को रोनाल्डोको जन्म हुनेछैन : रोवर्टो कार्लोस

जेठ ०६, २०७७

एटुजेड अनलाइन खबर


ब्राजिल, जेठ ६ : ब्राजिलका विश्वकप विजेता तथा रियल मड्रिडका पूर्व स्टार रोवर्टो कार्लोसको नजरमा रोनाल्डो नाजेरियो लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेमार जुनियरभन्दा उत्कृष्ट फुटबलर हुन्।

कार्लोस भन्छन्,‘रोनाल्डो त्यसबेला सबैभन्दा उत्कृष्ट थिए।’ त्यसबेला देखि हालसम्म आफूले रोनाल्डोजस्तो खेलाडी नदेखेको उनको भनाइ छ। सन् २००२ मा ब्राजिललाई विश्वकप जिताउन रोनाल्डोसँगै डिफेन्डर रोवर्टो कार्लोसको पनि उल्लेखनीय भूमिका छ।

कार्लोस भन्छन्,‘संसारमा कहिल्यै अर्को रोनाल्डोको जन्म हुनेछैन। अहिलेका स्टार मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेमार पनि रोनाल्डो नाजेरियोको तुलनामा आउँदैनन्।’

कार्लोसका अनुसार त्यस समयमा फुटबल खेल्न निकै कठिन थियो। स्किलभन्दा बढी शारीरिक शक्ति प्रदर्शन हुने त्यसबेला गोल गर्न निकै अप्ठेरो थियो।

तर रोनाल्डोले भने स्किलसँगै उत्कृष्ट गोलहरु गर्नसक्ने क्षमता त्यसबेला राख्दथे। रोनाल्डो र कार्लोसले ब्राजिलसँगै रियल मड्रिडबाट पनि सँगै खेलेका थिए। एजेन्सी