डुब्यो नेपाली रंगमञ्च

जेठ ०८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, जेठ ८ : केही फिल्म निर्माताहरूले फिल्म प्रदर्शनका लागि युट्युबलाई माध्यम बनाउन थालेका छन्। तर रंगमञ्चको गतिविधि भने प्रायः शून्य अवस्थामा छ।

कीर्तिपुर रंगमञ्च थिएटर मलका सञ्चालक केदार श्रेष्ठले केही साता पहिले लकडाउनमा फेसबुक लाइभमार्फत दुई दर्जनभन्दा बढी नाटक देखाए। यसले नेपाली रंगमञ्चका लागि थोरै राहत दिए पनि यो समग्रमा वैकल्पिक उपाय थिएन। श्रेष्ठको आकलनमा सिंगो रंगमञ्च क्षेत्र अहिले माइनसको अवस्थामा पुगेको छ।

लकडाउन खुले पनि यसको प्रभाव र डर केही समयसम्म रहिरहन्छ जसले गर्दा तत्काल रंगमञ्चमा नाटक मञ्चन गर्न सम्भव हुँदैन। यसको प्रत्यक्ष असर अन्य विधाभन्दा रंगकर्मीमा बढी पर्ने श्रेष्ठ बताउँछन्।

‘फुल टाइम यसैमा आबद्ध भएर गुजारा चलाइरहेका रंगकर्मीलाई लकडाउनले निकै समस्या निम्त्याएको छ’, उनी भन्छन्, ‘चलचित्रकर्मीहरूले बरु एनिमेसन वा अन्य विकल्प अपनाएर बनाउन सक्छन् तर, रंगमञ्च भनेको प्रत्यक्ष रूपमा दर्शक सामु जानुपर्छ। जुन सम्भव छैन।’

घुम्ती रंगमञ्चको रूपमा २०७५ सालमा स्थापित पकेट थिएटरका अध्यक्ष प्रणव आकाशले लकडाउनका कारण सबै योजना ठप्प भएको बताउँछन्।

‘यो विशेषगरी उपत्यका बाहिर नाटक मञ्चन गर्ने थिएटर भएकोले आर्थिक मन्दीका कारण लकडाउन खुलेलगत्तै नाटक गर्ने योजना छैन’, उनी भन्छन्, ‘तर हामी अहिले पछि कसरी लैजाने भन्नेबारे खाका बनाउँदैछौं।’

उता सर्वनाम थिएटरले ‘कस्तुरी’ नामक गीतिनाटकको रिहर्सल र एउटा इन्टरनेसनल वर्कसप र विन्टर क्याम्पको तयारीमा जुटिरहेको बेला लकडाउनका कारण स्थगित भएको बताउँछन्, सर्वनामका संयोजक तथा रंगकर्मी राज शाह। ‘रंगमञ्च सामूहिक रूपमा काम गर्ने क्षेत्र भएकोले लकडाउन खुले पनि रंगमञ्चको काम तत्काल हुने सम्भावना निकै कम छ’, उनी भन्छन्, ‘यो समय रंगकर्मी र रंगमञ्चका लागि निकै ठूलो चुनौती सावित भएको छ।’

वरिष्ठ रंगकर्मी सुनील पोखरेल लकडाउनका कारण रंगमञ्चको अवस्था के हुने ? कस्तो हुने ? भन्न नसक्ने बताउँछन्। लकडाउन नहुँदा पनि नाटक मञ्चन गर्न समस्या भएको रहेको अवस्थामा लकडाउनले झनै ठूलो समस्या र चुनौती निम्त्याएको बताउँछन् उनी। \

‘लकडाउन नभएको भए एउटा नाटक गर्ने तयारीमा थिएँ। त्यो रोकियो’, पोखरेल भन्छन्, ‘लकडाउन खुले पनि हामी कुन अवस्थामा हुन्छौं, त्यो भन्न सकिने अवस्था छैन। त्यसैले अहिले रंगमञ्चका लागि सोच विचार गर्ने, पढ्ने लेख्ने समय हो जस्तो लाग्छ।’

थिएटरको सबैभन्दा ठूलो समस्या भनेको आफ्नै भवन नहुनु हो। त्यसमाथि रंगमञ्च दर्शकमा नै निर्भर हुन्छ। यस्तो बेलामा लकडाउनले झनै समस्या निम्त्याएको बताउँछिन्, मण्डला थिएटर नेपालकी अध्यक्ष तथा कलाकार

सृजना सुब्बा। भाडामा रहेको मण्डलाको म्याद सकिन दुई वर्ष मात्र बाँकी रहेकाले नयाँ ढंगले काम गर्ने योजना बनाएको तर, लकडाउनका कारण स्थगित भएको बताउँछिन्, सुब्बा, ‘नयाँ नयाँ डाइरेक्टरहरू हायर गरेर काम गर्ने योजनामा थियौं।

तर, लकडाउनको कारण हुन सकेन।’ कौसी थिएटरकी सञ्चालिका तथा रंगकर्मी आकांक्षा कार्कीले लकडाउनका कारण रंगमञ्चलाई प्रत्यक्ष रूपमा असर पारेको बताइन्। तर, जस्तोसुकै परिस्थितिमा पनि हार नमानी आफ्नो कामलाई निरन्तरता दिनुपर्ने बताउँछिन् उनी।

‘रंगमञ्चले हामीलाई सिकाउने भनेकै समस्यासँग जुध्न हो’, उनी भन्छिन्, ‘यसले हामीलाई अब भविष्यमा यस्ता समस्या आउँदा रंगमञ्चलाई कसरी निरन्तरता वा विकल्प के हुन सक्छ भन्ने सोच्न सिकाएको छ।’

रंगमञ्चमा मात्र आ िश्रत हुनेहरूका लागि ठूलो समस्या भएको र यसमा मात्र निर्भर हुँदा समस्या हुने स्वीकार्छिन्, उनी। त्यसैले आयआर्जनको वैकल्पिक उपाय पनि खोज्न सुझाउँछिन्।

रंगमञ्चले समाज परिवर्तन र कला साहित्यका लागि ठूलो योगदान पुर्‍याए पनि सरकारले कहिल्यै सहयोग नगरेकोमा गुनासो प्रकट गर्छन् रंगकर्मी। कोरोना महामारीपछि राज्यले यो क्षेत्रलाई पनि हेरोस् भन्ने उनीहरूको सामूहिक स्वर छ। अन्नपूर्ण पोष्टबाट साभार