पत्रकारितामा यौन हिंसाका पीडा

जेठ ०९, २०७७

एटुजेड अनलाइन खबर


संयोग नै भनौं, पत्रकारिताको सुरुवात नै राजधानीको बिग मिडिया हाउसबाट भयो । भर्खरै स्नातक तह पहिलो वर्षमा भर्ना भएकी म कामको खोजीमा नाम चलेको मिडियामा पुगेँँ । कलेजमा पत्रकारिता विषय पढाउने सरकै सहयोगसहित उहाँकै चिनजानीका पत्रकारसँग उसले काम गर्ने सञ्चारगृहमा प्रवेश पाउनु मेरा लागि कम्ती खुशीको कुरा थिएन ।

सरले चिनेको पत्रकारसँग पहिले एउटा मिडियामा पुगेकी थिएँ । त्यहाँका सम्पादकले पत्याएनन् । शैक्षिक योग्यता, उमेर, अनुभव सोधीसकेर फर्काइदिए । म त बल्ल सिक्न, अझ भनौं दैनन्दिन गुजार्न पैसा आउने जागिर खोज्न हिँडेकी मान्छे ।

‘ह्या बहिनी, यो त पढ्ने उमेर हो, काम गर्नलाई पछिको उमेर छँदै छ नि’ मैले साँचो साँचो बताएपछि ती सम्पादकले भनेका थिए । उनका लागि काम गर्नलाई पछिको उमेर हुँदो हो, मेरालागि थिएन । खैर, पत्रकारितामा मेरो विवशता कसलाई बुझाउनु ? मौका दिए छिटो सिक्थें र काम गर्थें, पैसा आउँथ्यो भन्ने आशा बोकेर ती सम्पादकलाई भेटेका हातखुट्टा लुला भए । उनकै छत्रछाँयामा पत्रकारिता थाल्ने अवसर त्यतिबेलै हातबाट फुत्कियो । सरले चिनाएका पत्रकारले भन्थे ‘नआत्तिऊ, मैले काम गर्ने मिडियामा मान्छे खोज्यो भने खबर गर्छु ।’

केही दिनपछि सरले चिनाएका पत्रकारले फोन गरे र आफ्नो अफिसमा बोलाए । ‘एउटा मिडियाले नकारेर के भो, अर्कोमा त अवसर पाइने भो ।’ एकमनले भन्थ्यो । ‘यो पनि ठूलै मिडिया हो क्यारे, अघिल्लो जस्तै, पढाइ पुगेन वा उमेर छ भनेर फर्काए भने !’ अर्को मनले भन्यो ।

साँच्चै, रित्तो गोजीमा मान्छेको दिमाग पनि रित्तिन्छ हो ? यसपालिका सम्पादकले मलाई काममा राख्ने छनक दिए । तर, ६ महिनासम्म मूल्यांकन हुने भयो । राजी हुनुको विकल्प थिएन । मलाई त्यहाँसम्म पु¥याउने पत्रकारको आडभरोसामा ‘हुन्छ’ भनें ।

‘आत्तिनु पर्दैन, काम आफूले गरेर देखाउने हो, आवश्यक सहयोग म गर्छु ।’ उनको यही बोली मेरालागि ठूलो साहस भएको थियो ।

बिहान पढाइ, दिउँसो ११ बजे अफिस । औपचारिक जागीरे जीवन शुरु भयो । सम्पादकले चिनजान भएको र सम्पर्कमार्फत आएको भनेर ती पत्रकारलाई मेरालागि इस्यु दिने र गाइड गर्ने जिम्मा लगाए । सजिलो भयो, पहिलेदेखि कुरा जोसँग भइराखेको थियो उसैको अन्डरमा काम गर्न पाएँ ।

उनको आग्रह र निर्देशनअनुसार काम गर्दै गएँ । उनी बिहान काम गरेर ११ बजे निस्कने । म ११ बजे पुग्ने । दिउँसो फोन गरेर भए पनि म के गरौं, कसो गरौं भन्थें । उनले पनि बारम्बार फोन गरेर सिकाइरहन्थे । बाइलाइनमा नै समाचार आउन थालेको थियो । क्याम्पसमा पढाउने सरजस्तै गुरु भेटेकी थिएँ, नयाँ काम गर्ने ठाउँमा ।

तर, यो खुशी धेरै समय टिकेन, एकदिन चियाका लागि क्यान्टिनमा झरें । सँगै थिए, उनै पत्रकार । चिया खाँदा सामुन्नेमा रहेकी मलाई एकटकले हेरेका उनले जे बोले, त्यसले मुखभित्र पुगेको गुलियो चुस्कीलाई एकैचोटी तीतो बनाइदियो ।

उनको हेराइलाई असहज मान्दै चिया खाएँ, मलाई जसरी हुन्छ, ‘माथि’ पुग्नु थियो । हेराइमा टिप्पणी गर्न पनि सकिन । किनकि मलाई यहाँसम्म पु¥याउने बाबुसमानका मान्छे थिए उनी ।

कति राम्री छौ है, मलाई त अचेल तिम्लाई देखेपछि के हुन्छ हुन्छ, आफैंलाई थाहा हुन्न ।’ सिधा हेरेर भनेका कुराले शीर झुक्यो मेरो । जिउ सिरिंग भयो, एकाएक रगत तातेजस्तो भान भयो । तर सम्हालिएँ, उनको कुरालाई त्यति गहिरो गरी महŒव नदिईकनै भनें, ‘ह्या सर, यस्ता हावा कुरा नगर्नु न मसँग । यस्तो पनि चाहिने कुरा हुन्छ ?’ स्थितिलाई सामान्य बनाएर रिपोर्टिङका लागि निस्कें ।

मैले सामान्य बनाउन खोजेको विषय सामान्य रहेन । म विस्तारै आफंै विषयवस्तु छनोट गर्ने र त्यसलाई समाचार बनाउन सक्ने बन्दै थिएँ ।  बीचमा औपचारिक कुरा भइरहेको थियो ।

बुबाको उमेरका सबै मान्छे बुवाजस्तै नहुने रहेछन् । उमेरले उनीभित्रको कालो रूपलाई छेक्न सकेन । नयाँ र सानी भएर मलाई सहयोग गरेका होलान् भन्ठानेकी म, उनले ममाथि कुन ‘दृष्टि’ राखेर सहयोग गरेका रहेछन् भन्ने भेउ पाउन धेरै समय कुर्नु परेन ।

चिया गफमा उनी जिस्केका रहेनछन्, सानो दिमागले त्यतिबेला भेउ पाउनै सकिनँ । उनी साँच्चै नजिक हुन चाहेका रहेछन् । त्यो पनि शारीरिक सम्बन्धका लागि । घरमा श्रीमती र बालबच्चाभन्दा बाहिर उनको नजर मेरो शरीरमाथि परेको रहेछ । आफूलाई धिक्कारें, यस्ता मानिसको सहयोगले म कति ‘माथि’ जान्थें होला र ?

भर्खर १९ वर्ष पुगेकी । मेरो नैतिकताले तिनको स्वार्थमा होमिन सम्भव रहेन । अझ तिनको परिवार ? सिक्ने रहर भएकीलाई फसाउन खोज्ने उनको नियतमाथि धेरैपटक सम्झाउन खोजें । उनी मलाई बारम्बार फोन र म्यासेज गरिरहन्थे ।

यी दिनमा आउने फोन म्यासेज पहिलाझैं समाचारको विषय र समाचारबारे हुँँदैनथ्यो, यतिबेला उनले मलाई उपभोगका लागि दबाब दिइरहन्थे । एकप्रकारको यातना झेलिरहेकी थिएँ । कसलाई सुनाऊँ ? केही मेसो पाएकी थिइनँँ । अफिसमा भनौं, सुनिदेलान् र ? पत्याउलान् र ? या मैले सुनाएर न्याय नै पाउँला र ? त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा ब्लक गरें । केही दिनलाई त्यस्ता म्यासेज पढ्नु परेन । यत्तिमा पनि खुशी हुुनुपर्ने कस्तो होला है समय ?

एकदिन अफिसबाट ७ बजे मात्र डेरा पुग्न भ्याएकी थिएँँँ । म्यासेन्जर बज्यो । तारन्तार बजेको म्यासेज नयाँ थियो ।

‘हेल्लो भुन्टी ।’ खाना खानेबेला आएको म्यासेजले मन नै अमिलो बनायो ।

‘यो तिमीसँग गफ गर्न बनाएको नयाँ आइडी ।’ लगातारको म्यासेज थियो । उही मैले ब्लक गरेको पत्रकारको ।

‘म तिमीसँग शारीरिक सम्बन्ध राख्न चाहन्छु ।’ नयाँ आइडीबाट सिधैं लेखे । मलाई जीवनमा पहिलोपटक कुनै पुरुषदेखि सबैभन्दा घृणा जागेर आयो । रछ्यान के फोहोर हुन्छ र ? उनले त्यति फोहोरी व्यवहार देखाए मसँग ।

‘म भोलि नै सम्पादकसँग कुरा गरेर काम छोड्छु, तपाईजस्तो स्वार्थी पुरुष भएको ठाउँमा काम गर्नु छैन मलाई ।’ म्यासेन्जरमा अन्तिम अस्त्र प्रहार गरें । उसले ‘सरी’ भन्दै अर्कोपटक गल्ती नगर्ने बतायो । माफी नै मागेपछि त के गर्ला र ? नयाँ आइडी त्यही दिन ब्लक लिष्टमा थपियो ।

एकदिन अफिसमा काम गरिरहेको बेला एकजना सहकर्मीले ‘तपाईंको फोन आएकोे छ’ भन्दै बोलाउनुभयो । अफिसको ल्यान्डलाइनमा फोन ? त्यो पनि मेरो नाममा ? मैले ‘हैन होला’ भनेर इन्कार गरें । किनकि मैले कसैलाई पनि अफिसको नम्बर दिएकै थिइन । त्यसरी अफिसमा फोन गर्ने मेरो कोही थिएन पनि । तर, सहकर्मीले तिम्रै फोन हो भनेपछि बोलें ।

फोन त ती पत्रकारकी श्रीमतीले पो गरेकी । म फलानो हो भन्नेबित्तिकै ममाथि खनिइन् । श्रीमान््को च्याट हेरेर फोन गरेकी उनले अनेक लाञ्छना लगाइन् । जवाफ दिने स्थितिमा थिइनँ । वरिपरि सहकर्मीको बीचमा बोल्नुभन्दा ‘म्याम, म तपाईंलाई फोन गर्छु’ भन्दै फोन काटिदिएँ । आफ्नै मोबाइलबाट कुरा गर्न उनको नम्बर टिपें ।

उनी एकोहोरो गाली गरेकी थिइन् । मानौं कि म उनको सौता बन्दै छु । मलाई श्रीमान््को यातना त थियो नै अब उनले पनि थपिन् । अलिकति होस भएकी भए च्याट हेर्दा म्यासेज हेरेर बरु श्रीमान््लाई सुधार्न कोसिस गर्दिहुन् । तर, कठै आफ्नो श्रीमान्् रछ्यानमा हुँदा पनि सभ्य ठान्ने उनले ममाथि लगातार आक्रमण गरिरहिन् ।

लगातार फोनमा धम्की आउन थालेको एक÷दुई दिन हुँदै हप्तादिन, महिनादिन पुग्न थाल्यो । मसँग झगडा मात्र होइन, अब ती पत्रकारकी श्रीमतीले त अफिसका अरू सहकर्मीलाई समेत मेरो नराम्रो बताउन भ्याइसकेकी थिइन् । उनले मलाई मान्छे लगाएर मार्नेसम्मको धम्की दिइन् । सहारा पाएँ भनेर नचिनेको मान्छेको पछि लागी पत्रकार बन्न होमिएकी म अब आफ्नै ज्यान जोगाउन मुस्किल पर्ने अवस्थामा पुगें ।

श्रीमान्को यातना एकातिर र उनको ज्यान मार्ने धम्की अर्कोतिर । यी सबै घटना अफिसका अरू सहकर्मीलाई सुनाउने आँट नै गर्न सकिन । कारण त्यहाँ न त मेरा कुरा सुन्ने कोही थिए, न त मेरो पक्षमा बोल्ने नै ।

चुपचाप सहेर काम गर्छु, एक न एक दिन त यो सबै कुरा सेलाउला नि भन्ने थियो मनमा । तर अफिसका अरू सहकर्मी सामु उनले मेरो चरित्रबारे नराम्रो कुरा फैलाइन् । सबैले मलाई चरित्रहीनका रूपमा बुझ्न थाले । त्यसपछि मेरो दह्रो बनाउँछु भनेको मुटु यसै गल्यो । अब त्यो अफिसमा बसेर काम गर्नु मेरा लागि आगोको रापमा हिँड्नुसरह थियो । तर, जागिर छाड्छु भनेर कसलाई भन्ने ! हाकिमसँग कुरा गर्नै प¥यो । किन भनेर सोधे भने के जवाफ दिने ?

एकमनले भन्थ्यो हिम्मत नहारेर सबैका सामु आफूमाथि परेको बज्रपातबारे बोल । अर्को मन भन्थ्यो होइन, मलाई पत्रकार बनाउने मान्छे हो त्यो । अरू सबै अवगुण भए पनि कम्तीमा मलाई लेख्न सक्ने बनाएको त्यो कार्यालय र तिनै पत्रकार त हुन् । फेरि उसका बालबच्चा छन्, चुपचाप बहाना गरेरै अफिस छाड्नुपर्छ ।

मनभित्रको वादविवादमा दोस्रोले जित्यो । अफिस छाड्ने निर्णय गरें । आखिर अब त अन्त जागिर खोजे पनि पाउँछु होला भन्ने जीजीविषा थियो मनभित्रको एउटा कुनामा ।

असारको महिना । बाहिर सिमसिम पानी परिरहेको थियो । बाहिर परेको पानीभन्दा पनि ठूलो साउने झरी त मेरो मनभित्र थियो । म रुझेर निथ्रुक्क परेको बिरालोझैं हाकिमको क्याबिनमा पुगें । बोल्दिनँँ, बहाना गर्छु भनेकी म हाकिमका अगाडि घटना बेलिविस्तार लाउन पुगेछु । भनिन्छ, भाग्यमा जे लेखिएको छ, त्यो भएरै छाड्छ । मेरो कुरा सुनिसकेपछि हाकिमले भरोसा देलान्, आँट भर्देलान् । भर्खर तातेताते गर्न लागेकी बच्चीलाई डोहो¥याउलान् भन्ने थियो ।

तर, मेरो आशामा त्यहीँ बाहिर परेको झरी खनियो । मैले नभनेको भए पनि उहाँलाई केही कुरा थाहा भइसकेको रहेछ । ममाथि कुदृष्टि लगाउने ती पत्रकारकी श्रीमतीले प्रचार राम्रैसँग गरेकी रहिछन् । कार्यालय त मलाई निस्के राम्रो भन्ने मनस्थितिमा पो रहेछ । नत्र मैले एकैदिन बताएको भरमा मै अफिसबाट निस्केपछि सबै कुराको समाधान हुन्छझैं किन गर्थे र हाकिमले ? मैले मेरो समाचार सम्पादकलाई म्यासेजबाट जानकारी गराएँ ।

सानैदेखि खुब ठुल्ठूला संघर्ष गरेर हुर्किएकी म नराम्रोसँग हारेँ । कार्यालयबाट निस्कने निर्णयले मन भारी भयो । अग्रजहरूले मलाई अन्यायमा परेको बुझेनन् । गल्ती मेरो थिएन, मैले बुझाउन सकिनँ । तर, मैले मसँगै ममाथि शोषण गर्ने, यातना दिने ती कर्मचारीको कुरा राखें । कार्यालयले मलाई ‘तपाईं छाड्नुस्, उसलाई हामी जसरी पनि निकाल्छौं’ भनेजस्तो गर्यो । बिचरी म, पहिला जसै उसको भर परेकी थिएँ, अहिले कार्यालयको भर परें । म एउटा स्वार्थी नरपिचासको अगाडि घुँडा टेकेर क्षमताले खाएको जागिरबाट हात धुन बाध्य भएँ ।

त्यसपछि म त्यो कार्यालयबाट मलाई हिंसा गर्ने त्यो नरपिचास निस्केको देख्न चाहन्थें । मलाई ‘उसलाई निकाल्छु’ भनेर वचन दिएका हाकिमहरू उसैको प्यारा पो भए कि ? म त निस्किहालें, दोष मेरै भो ।

ठूलो मिडिया, राष्ट्रिय मिडिया भनेर दंग पर्ने म पहिलो गाँसमै लागेको ढुंगाले अझै चकित छु । चलेका मिडियामा त झनै असुरक्षित पो भइँदोरहेछ । मेरो भोगाइले यही भन्यो । बोलौं आँट नआउने, सहयोग नपाइने, नबोलौं आफू सधैं हेपिइरहने । एउटा कर्मचारीले मलाई यस्तो भयो जागिर छाड्छुभन्दा हुन्छ छाड् भन्ने कि होइन हामी कार्यालयको तर्फबाट पहल गर्छांै, अनुसन्धान गर्छांै भन्नुपर्ने ?

ती पत्रकारलाई अफिसले कारबाही गरेको भए, मैले न्यायको कथा लेख्थें होला । कसैलाई रहर हुन्न, सायद खाटा बसेको घाउ कोट्याउन । तर, यो मन छ नि कहिल्यै निको भएन, म अनाहक हिंसामा परें, हेपिएँ, जागिरबाट हात धोएँ ।

अहिले पनि उसकी श्रीमतीले मलाई यातना दिन छाडेकी त कहाँ छ र ? बस् मलाई गरेका म्यासेज र फोन रेकर्डका आधारमा म उनीहरू दुवैलाई कानुनी उपचारको खोजीमा छु । मुलुकको बागडोर सम्हाल्ने सांसद, सभामुख नजोगिएका बेला अन्यायमा परेकी ममा थोरै आशा पलाएकै छ । जन आस्थाबाट साभार ।