डडेल्धुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु

जेठ १८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौँ, जेठ १८ : डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् ।

शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो । राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालक बिरामी भएपछि बिहान ३ बजे अस्पताल पुर्‍याउँदा मृत अवस्थामा रहेको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीशचन्द्र विष्टले वताए । क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने डडेलधुरा अस्पतालले जनाएको छ ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकेको निमित्त मेसु विष्टले जानकारी दिए । ‘रिपोर्ट आएपछि मात्र दाहसंस्कार गर्ने कि भन्ने कुरा चलेको छ,’ विष्टले भने, ‘यस विषयमा प्रशासनसँग छलफल भइरहेको छ ।’