किन बढ्दैछ आत्महत्या ?

जेठ २१, २०७७

एटुजेड अनलाइन खबर


सुनिता बराल


मानिस निस्कृय भएर बस्न थालेपछि नकारात्मक भावनाले जित्ने गर्छ । अनि गलत बाटो समात्नेदेखि आत्महत्यासम्म गर्ने गर्दछ । यो मानिसमा हुने आवेगात्मक मनोविज्ञानमा हुने कुण्ठा पनि एउटा कारण मानिन्छ ।

प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्याका घटना भएको देखाँउछ । कारण त अनुसन्धानले देखाउलान् नै, तर आत्महत्याको शैली लकडाउनमा बदलिएको छ । हिँडडुलमा प्रतिबन्ध भएर हुन सक्छ, विष खाएर र हामफालेर गरिने आत्महत्याको संख्यामा कमी आएको छ । तर, झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको तथ्याङ्काले देखाउँछ ।

अर्को दर्दनाक र नियन्त्रण गर्नैपर्ने पाटो बलात्कार पनि हो । जबर्जस्ती करणीका घटना सामान्य अवस्थामा दिनमा ६ वटा हुने गरे पनि लकडाउनको सुरुवाती दिनमा यसको संख्यामा उल्लेख्य कमी आएको थियो । त्यतिबेला जबर्जस्ती करणीका घटना सरदर दिनमा दुईवटा भएका थिए । त्यसपछिका ४५ दिनमा भने औसतमा चारवटा घटना भएका छन् ।

प्रहरीका अनुसार लकडाउन सुरु भएयता जेठ १० गतेसम्मको ६१ दिनमा मात्रै २ सय १४ वटा घटना प्रहरीमा दर्ता भएका छन्। प्रहरीका अनुसार लकडाउनले प्रहरी कार्यालयसम्म नपुग्ने र घर/समुदायभित्रै घटना लुकाउने सम्भावना बढी भएकाले यस्तो संख्या अझै उच्च हुन पनि सक्छ।

सामान्य दिनमा औसतमा दैनिक दुईवटा जबर्जस्ती करणी प्रयास हुन्थ्यो भने लकडाउनमा यस्तो घटना दिनमा एकभन्दा पनि कम भएको देखिन्छ । लकडाउनको ६१ दिनमा जबर्जस्ती करणी प्रयासका ५७ घटना भएका छन् । लकडाउनमा बालयौन दुराचारका घटना पनि वृद्धि भएका छन् ।

सामान्य अवस्थामा मासिक १९ बालबालिका बालयौन दुराचारको सिकार हुन्थे । लकडाउनका दुई महिनामा भने महिनामा १६ जनाको दरले बालयौन दुराचारका घटना भएका छन् । परिवारका सबै सदस्य घरभित्रै रहने बेला र बाहिरका मानिससँग सम्पर्क कमजोर भएका बेला पनि यतिका धेरै बालबालिका यौन दुराचारमा पर्नुले भने परिवार र आफन्तबाटै बालबालिका दुराचारमा परिरहेका हुन सक्नेतर्फ इंगित गर्छ ।

लकडाउन छ । मानिस ज्यान जोगाउन घरैमा खुम्चिएका छन् । यस्तो विषम परिस्थितिमापनि किन मृत्यू रोज्छन् मानिस ? अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । उहिलेदेखि नै मान्छे मृत्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृत्युलाई धकेल्दै मान्छेले जीवन लम्बाउने यत्न गर्छन् । जतिसुकै जटिल रोगलागे पनि मान्छे हार्न चाहँदैनन् । रोगसँग जुधेर बाँच्न चाहन्छ । एकबारको जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन् ।

मृत्यु स्वभाविक हो र सत्य पनि । तर, सत्य र अवस्यंभावी मृत्युलाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ । केही गर्न चाहन्छ । मान्छेलाई आफ्नो जीवनप्रति त्यति प्रेम छ ।लोभछ ।

यद्यपि यो हाम्रो देशको मात्रै समस्या भने होइन । विश्वमा प्रतिवर्ष १० लाख मानिसहरु आत्महत्याका कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाइन्छ । प्रायः सबै देशमा १५ देखि २४ बर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ ।

मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशत बढेको छ

जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्छ । संसारमा बर्षेनी लगभग ८ लाख व्यक्तिले आत्महत्यागर्छन । हरेक ३ सेकेन्डमा १ जनाले प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । १५-२९ बर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ ।

आत्महत्या विश्वव्यापी घटना भएता पनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरुमा हुने गरेको तथ्याङ्क छ । आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ, त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुनेगर्छ ।

प्रायः महिलाहरु पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्छन् । तर, तथ्याङ्कका अनुसार खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरुले महिलाको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ ।

विश्वमा आत्महत्याका माध्यमहरु मध्ये विष सेवन, झुण्डिएर तथा शरीरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेको डब्ल्युएचओको तथ्यांकमा उल्लेख छ ।

नेपालमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दा प्रत्येक बर्ष सरदर ४ हजार ६७४ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्यासम्बन्धी घटना दर्ता हुने गरेका छन, जसमा अधिकांश महिला छन् ।

विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौं स्थानमा छ भने आत्महत्या गर्ने महिलाको संख्यामा तेस्रो स्थानमा छ ।

आत्महत्या किन ?

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । यो संख्या अझ बढी हुने सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ ।

प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर, यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।

धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सीधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशत बढेको छ । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ ।

सामाजशास्त्री दुर्खिमले आत्महत्याको सामाजिक सिद्धान्त प्रतिपादन गरेका छन्, जुन सिद्धान्त निकै चर्चित छ । अर्का समाजशास्त्री हेन्डिनले आत्महत्याका बारेमा छुट्टै सिद्धान्त विकास गरेका छन् । तर, यहाँ उल्लेखनीय कुरा के छ भने आत्महत्या केवल सामाजिक कारणले मात्र हुने गर्दैन । आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहन्छ ।

वास्तवमा आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । त्यसैले आत्महत्याका विविध कारणहरू हुन सक्छन् । तर आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित भएका हुन्छन् । तर, सबै मानसिक रोगहरूले आत्महत्या तथा आत्मक्षति गर्छन् भन्ने छैन ।

डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या गर्छन् । मानिसलाई डिप्रेस्ड बनाउने निम्नलिखित सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्छ । गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदि । परीक्षामा असफलता ।

केही उमेर समुहमा प्रेममा बिछोड तथा असफलता..! घरेलु हिंसा तथा पारिवारिक कलह । बेरोजगारी तथा आर्थिक समस्या । बलात्कारको पीडा । आत्महत्याको पारिवारिक इतिहास आदि आदि ।

जैविक दृष्टिमा आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनिन आदि स्नायु रसायनहरूको कमी हुन्छ । यस्ता रसायनहरूको कमी भयो भने मानिसलाई संवेदना नियन्त्रण गर्न कठिन पर्छ र उनीहरूमा आक्रमक तथा विध्वंसक आचारण बढ्छ, जसले गर्दा मानिस आत्महत्या गर्न पुग्छन् । वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्छन् ।

अन्त्यमा,

यो अनमोल जिन्दगी प्राप्त छ । यो जन्म संयोग होइन, माता पिता र जन्मस्थान का लागि केही न केही योगदन दिएर अनि प्राप्त आयू पूर्ण भोग गर्न हरेक मानिस ईच्छुक हुन्छ । तथापि कतिपयलाई जीवन बोझ बन्छ । अनियन्त्रित ईच्छा, लालच, देखासिकी, अति महत्वाकांक्षा, अभाव वा कुण्ठाले मानिसलाई जीवनभन्दा मृत्यु रोज्न बाध्य पार्छ भन्छन् समाजशास्त्री र मनोवैज्ञानिकहरु ।

त्यसैले भौतिक बस्तु प्राप्तिका समानान्तर रेखा जस्ता मोह त्याग गरी तय भएको समयमा मोक्ष रोज्नुपर्छ । जीवन सुन्दर छ, अनमोल छ । न शक्तिले जित्न सक्छ, न सम्पत्तिले । सकारात्मक सोचले जीवन आनन्दित बनाउनुपर्छ ।