किन सधैं विवादित बन्छ भारत ?

जेठ २१, २०७७

एटुजेड अनलाइन खबर


जगन्नाथ खतिवडा


भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही दिनअगाडि एक टेलिभिजन अन्तरवार्तामा नेपालको सीमा अतिक्रमणसम्बन्धी विवादका विषयमा सोधिएको प्रश्नमा उत्तर दिएका छन्, ‘नेपालसँग भारतको दाजुभाइको नाता छ, पारिवारिक नाता छ, यही मानेर अगाडि बढ्नुपर्छ, कुनै आपसी दूरी वा गलतफहमी (भ्रम) रहेछ भने बसेर कुरा गर्नुपर्छ ।’

उनको यो अभिव्यक्तिले नेपालको भौगोेलिक अखण्डता, सार्वभौमसत्ता एवं भूभागमाथिको अतिक्रमणलाई नजरअन्दाज गरेको, समस्याको गम्भीरतालाई अवमूल्यन गरेको र यो दाजुभाईको मनमुटाव मात्र हो, बसेर कुरा गर्दा मिलिहाल्छ भन्ने सतही तर्क गरेको अनुभूति हुन्छ ।

अर्थात नेपालले भ्रम बोकेको छ र भ्रमको आधारमा नक्सा जारी गरेको छ, तर भारत भ्रममा छैन । यथार्थमा त्थो नेपालको भूमि होइन भन्ने सार खिचेर ‘दाजुभाइ र पारिवारिक नाता’ जस्ता शब्दजालमा अल्मल्याउने चेष्टाका साथ बोलेको देखिन्छ ।

नेपालको भूमि प्रयोग गर्न अर्को देशसँग सम्झौता गर्नु, नेपालको भूमि आफ्नो देशमा समावेश गरेर नक्सा प्रकाशित गर्ने, नेपालले आपत्ति गर्दागर्दै नेपाली भूमिमा सेना राख्नु, सडक बनाउनु तथा सबै अतिक्रमणका कार्यहरु गर्नुलाई जायज ठान्ने भारत सरकारका लागि यो विषयलाई सामान्य ठान्दा यथास्थिति कायम गर्न सजिलो हुन्छ भन्ने लाग्दो हो । तर, नेपालका लागि यो धेरै नै सम्वेदनशील राष्ट्रिय सार्वभौकताको विषय हो भन्ने कुरा भारतले बुझ्न जरुरी छ ।

भारत सरकारले नक्सा जारी गर्नु, रक्षामन्त्रीले सडक उद्घाटन गर्नु र सेना प्रमुखले नेपाललाई लाञ्छित गर्ने शब्द प्रयोग गर्दै सैन्य हुकार गर्न लाउनु नेपालमाथि मनोबैज्ञानकि त्रास पैदा गर्ने सुनियोजित प्रयास थियो भन्ने सहजै जान्न सकिन्छ । त्यसमाथि नेपालको बारेमा ‘राम्रो जानकारी’ राख्ने भनिएका भारतीय कूटनीतिज्ञहरुको नेपालमाथि अपार सहानुभूति देखाएझै गरी रचनात्मक वार्ता गर्न, र वार्तामा के परिणाम निकाल्ने हो पहिले नै तय गर्न’ दिइएका गुलिया अभिब्यक्तिहरु आफैंमा भारतीय सत्ताको सपनालाई पूरा गर्ने मन्दविष पिलाउन प्रयत्न गरिरहेको शब्द-आडम्वर मात्र भएको पनि प्रष्टसँग चिन्न सकिन्छ ।

लिम्पियाधुरा, लिपुलेख र कालापानीलाई समेटेर नक्सा जारी गर्न नेपाललाई चीनले उक्साएको, रक्षामन्त्री राजनाथले कु समयमा सडक उद्घाटन गरेर प्रधानमन्त्री केपी ओलीको सरकारको आयु लम्ब्याएको, भारतीय सेना पहिले नै कालापानीमा बस्दा नेपालले विरोध नगरेको र अहिले गर्नुको कुनै औचित्य नभएको, नेपालमा चीनको भूमिका बढेको हुनाले नेपाल भारतसँग टाढा भागिरहेको, तथा नेपाललाई वर्तमान सरकारले फकाउन नजानेको आदि जस्ता कूटनीतिज्ञका हास्यास्पद तर्कहरुले उनीहरुकै नेपालप्रतिको ‘स्नेहिल’ भावका लोलोपोतोमय वाक चातुर्यलाई गिज्याइरहेको पनि देख्न सकिन्छ । सत्यभन्दा निकै टाढा पुगेका यस्ता तर्कलाई सारवान ज्ञान ठानेर भारतको कूटनीतिक यात्रा जारी रहृयो भने बुझ्नुपर्दछ कि द्वीदेशीय संकटका जराहरु धेरै परसम्म पुग्नेछन् र धेरै कठीन बाटो हिँड्नुपर्ने छ ।

नेपाल वास्तवमा मेल चाहान्छ- सार्थक मेल । राष्ट्रिय हितलाई सर्बोपरि राख्दै, एक देेशले अर्को देशको भौगोलिक अखण्डता, सार्बभौमिकता, स्वतन्त्रता र आत्मसम्मानको उच्च मर्यादा गर्दै, सामाजिक-सांस्कृतिक एकतालाई सुदुढ गर्दे अन्तरराष्ट्रिय भाईचाराको मूल्य प्रणालीमा भातृत्वपूर्ण प्रेम चाहान्छ भारतसँग । हामी आफ्नो भूराजनीतिको यथार्थसँग परिचित छौं । तर ‘रोटीबेटी,’ ‘सीताराम’ वा धर्म संस्कृतिका नाममा नेपाली स्वााभिमानमाथिको सौदावाजी कदापि मान्य हुन सक्दैन भन्ने भारतीय सत्ताले बुझ्न आवश्यक छ ।

भारतीय स्वतन्त्रता संग्राममा योगदान गर्ने र आफ्नो देशको स्वतन्त्रताको रक्षाको लागि बलिदान गर्ने नेपालीहरुलाई आफूले गरेको केही आर्थिक सहयोगको हजारौपटक रट लगाएर नतमस्तक बनाउन खोज्ने आडम्बर अर्थहीन हुनेछ भन्ने भारतीय सत्ताले बुझ्न पनि उतिकै आवस्यक छ ।

नेपाल जसरी सीता र रामको सम्बन्धले भारतसँग पारिवारिक र भावनात्मक छ, त्यसैगरी भृकुटी र श्रोङचोङ गम्पोको सम्बन्धले चीनसँग पनि उत्तिकै पारिवारिक र भावनात्मक छ । हिदू धर्म, संस्कृति र पशुपतिनाथले नेपाल र भारत दुवै देशमा समानरुपमा ऐतिहासिक सम्बन्धको परिपूरण गर्दछन् भने गौतम बुद्ध र बौद्ध धर्मले हामी तिनै देशका धर्म र संस्कृतिको न्यानोपनको परिपूरण गर्दछन्। यसले हाम्रो ऐतिहासिक गौरवलाई उजिल्याउँछ । तर, चीन र भारत अति निकटस्थ भइकन पनि नेपाल हजारांै वर्षदेखिको पृथक अस्तित्वको सगरमाथा हो र यसलाई कुनै देश विशेषको प्रतिस्पर्धा वा अहम् ग्रन्थीको शान्तिका लागि प्रयोग गर्न सकिँदैन, तर सहविकास र सहअस्तित्वका लागि सबल सहयात्री र इमान्दार पहरेदार बनाउन सकिन्छ ।

नेपालको सार्वभौमसत्तालाई आफ्नो हत्केलामा राखेर नचाउने, नाच्न नमानेमा भीरबाट लडाइदिने नाकाबन्दीमय भारतीय मित्रताको परिभाषाले विश्वासको कडी यसरी टुट्यो कि सबै देशभक्त नेपालीहरु भारतीय सत्ता र कूटनीतिज्ञले बोलेको कुरालाई आज धेरैपटक प्रश्न गर्छन्

नेपाल, चीन र भारतको सम्बन्ध सुधार र विकासको सेतु बन्न चाहन्छ । विकासमा सहकार्य गर्न र प्रतिफलको लाभ बाँड्न तयार छ, तर चीन देखाएर भारतलाई र भारत देखाएर चीनलाई दुरुपयोग र मानमर्दन गर्ने नीति अबलम्वन गर्न तयार छैन । भारतीय सत्तामा बेलाबखत देखापर्ने ‘चीन फोबिया’को सहयात्री नेपाल पनि बनोस् वा नेपाल पनि संरक्षित राज्य बनोस वा भारतीय राष्ट्रिय सुरक्षा नीतिको ब्याख्यामा नेपाल पनि स्वर मिलाएर गाउन थालोस् भन्ने ईच्छा पूरा हुन सक्दैन । किनकि, नेपालले आफ्नो आँखाले नेपालको राष्ट्रिय सुरक्षा नीतिको ब्याख्या गर्छ र छिमेकीहरुसँगको सम्बन्धको निरुपण गर्छ ।

भारतको स्वतन्त्रता (सन् १९४७) पश्चातका ७० वर्षहरु नै वास्तवमा नपाल-भारत सम्बन्धको मानक हो । यो कलिलो सम्बन्धका सबै आयामहरु हाम्रा मस्तिष्कमा जीवित छन् र आँखामा ताजा दृश्यहरुका रुपमा सजीव भएर सल्बलाइरहन्छन् । धेरै उतार-चढावका वीचबाट गुज्रेको यो सम्बन्धलाई प्रधानमन्त्री नरेन्द्र मोदीको प्रथम नेपाल भ्रमणको समयका लचकदार, लक्षदार र नेपाली स्वाभिमानको सम्मानजनक शब्द- आभूषणले निकै राम्रो बाटो निर्दिष्ट गरेझैं लाग्दथ्यो । तर, नेपालको गणतान्त्रिक संविधान जारी गर्ने समय (बिसं २०७२) सम्म आइपुग्दा मित्रताका धेरै आयामहरु धुजाधुजा हुन पुगे ।

नेपालको सार्वभौमसत्तालाई आफ्नो हत्केलामा राखेर नचाउने, नाच्न नमानेमा भीरबाट लडाइदिने नाकाबन्दीमय भारतीय मित्रताको परिभाषाले विश्वासको कडी यसरी टुट्यो कि सबै देशभक्त नेपालीहरु भारतीय सत्ता र कूटनीतिज्ञले बोलेको कुरालाई आज धेरैपटक प्रश्न गर्छन् ।

नेपालमा प्रधानमन्त्री मोदीको लोकपि्रयता र विश्वसनीयतामा यति धेरै क्षयीकरण भइसकेको छ कि मानिसहरु भारतीय स्वतन्त्रतापश्चात जन्मेका मोदी पनि यति धेरै उपनिवेशवादी चिन्तनवाट ग्रसित देखिनु दुर्भाग्यपूर्ण ठान्छन् र उनको ‘नेपाल मोह’ बन्धुत्वको भावमा नभएर प्रभुत्वको सपनाको छद्म स्वरुप हो भन्ने सम्झन्छन् । यो अविश्वास नीतिगत स्पष्टता र व्यवहारिक सौहाद्रताबाट मात्र मेट्न सकिन्छ । यसका लागि भारतले नेपाल सम्बन्धी नीतिमा ‘यूटर्न’ गर्न तयार हुनुपर्छ ।

भारतीय कूटनीतिले नेपाली मनोविज्ञानलाई सही रुपमा चिन्न सक्दैन । सदा स्वतन्त्र देशका नागरिकहरुको मस्तिष्कको गहिराइमा राष्ट्रिय स्वभिमान र उच्चताबोधको तरंग कसरी प्रवाहित भइरहेको हुन्छ र राष्ट्रवादको चेतना कति बलियो हुन्छ भन्ने मापन नै गर्न सक्दैन ।

केही पदलोलुप र शक्तिपिपासु नेताहरु र केही द्रब्य-आशक्त पात्रहरुको खोजी गरी तिनलाई आश र त्रासको बन्धनमा बाँधेर आम जनता र राष्ट्रको सार्बभौमसत्ताको उपेक्षा गर्ने भारतीय कूटनीतिको पुरानो शैलीले अब काम गर्दैन ।

एकातिर नेपाललाई सफ्ट पावरूका रुपमा देख्न चाहने भारतको अभिलाषा र अर्कोतिर आफ्नो स्वार्थका लागि साना र कमजोर छिमेकीहरुको स्रोत दोहन गर्न र रणनीतिकरुपमा आफ्नो कठपुतली बनाउने अभ्यासको वीचमा ठूलो अन्तरविरोध देख्न सकिन्छ ।

सीमा मिच्ने, सैन्य अतिक्रमण गर्ने, अर्को देशको राजनीति र अर्थतन्त्रमा माइक्रो मेनेजमेण्ट गर्ने र आफ्नो हितको लागि अर्को देशको स्वाभिमानलाई बली चढाउन तत्पर हुने भारतीय छिमेक नीति रहेसम्म भारतले दुई देशीय मित्रतामा धेरै कुरा गुमाई नै रहनेछ ।

नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक, नेपाल भारत सम्बन्धको एउटा यस्तो कडी हो जसले दुई देश वीचको सूदुर भविष्यसम्मको सम्बन्धलाई परिभाषित गर्नेछ ।

देशका अन्य भागमा भएका सीमा अतिक्रमण र विवादहरुले पनि यही महत्व राख्छन् । भारतीय व्यवहारकै कारणले भारतीय सत्ताप्रति सदैव आलोचनात्मक बन्न बाध्य नेपाली नागरिकको पुरानो पुस्ता त छँदैछ । तर, हरेक नयाँ पुस्तामा भारत असल छिमेकी हो भन्ने प्रमाणित गर्ने व्यवहारको साँचो पनि आज भारतकै हातमा छ ।

(खतिवडा नेकपाका केन्द्रीय सदस्य हुन्)