श्वास फेरेर पनि मरिरहेको ‘म’

जेठ २४, २०७७

एटुजेड अनलाइन खबर


रञ्जना लामिछाने


हाम्रो अहिलेसम्मको सामान्य बुझाइमा मर्नु भनेको त श्वास फुस्कनु हो तर शिर्षक देखेर अचम्म लाग्न सक्छ तपाइलाई, कि कोही श्वास फेरिफेरि कसरी मर्न सक्छ ? यदि यो प्रश्नको जवाफ चाहनुहुन्छ भने यतिबेला निजी विद्यालयका शिक्षकलाई हेर्नुस् ।
केही समय अघिसम्म निकै गर्व लाग्ने आफ्नो पेसाप्रति आजभोलि हिनताबोध हुन थालेको छ कारण, शिक्षकको अवस्था नबुझी आफ्ना निर्णय लाद्ने संचालक, अभिभावकहरुका निमपत्ताजस्तै मिठा प्रतिक्रिया अनि जनप्रिय मेरो सरकारले गर्ने सौताने व्यवहार ।
हो सबैलाई थाहा छ, कोरोना महामारीका कारण देश लकडाउनमा छ । यतिबेला धेरै पेसा, व्यवसायका साथमा शैक्षिक संस्था पनि बन्द छन् तर धेरैलाई थाहा नहुन सक्छ विद्यालय बन्द भएपनि सिकाइ बन्द भएको छैन । जसरी यो समयमा आफुलाई जोखिममा राखी अग्रपंक्तिमा रहेर सुरक्षाकर्मी, स्वास्थकर्मी र पत्रकारहरुले आफ्नो पेसागत धर्म निभाईरहेका छन् । ठीक त्यसैगरी शिक्षकहरु पनि यो लकडाउनको कारणले घरमै बसेका बालबालिकाहरुमा मानसिक रुपमा नकारात्मक असर नपरोस् भनेर अप्रत्यक्ष रुपमा दिनरात खटिरहेका छन् ।
विद्यालय खुल्दा १० बजेदेखि ४ बजेसम्म काम गरे हुने शिक्षक, अहिले झन् २४ सै घन्टा व्यस्त हुनुपरेको छ । अहिलेसम्म मुखमा माड लाग्ने र नुनपानीको जोहो भएको संस्थाले काम गराउँदा चैतदेखि तलव पाएको छैन गर्दिन केही काम भन्न पनि मेरो नैतिकताले दिँदैन। ‘अभिभावकहरुलाई बेलाबेलामा फोन सम्पर्क गरेर सामिप्यता देखाउनुस है ।’ प्राचार्यको आदेश हुन्छ । हुन्न भनौं मेरो नैतिकताले दिन्न । म ‘हुन्छ’ त भन्छु तर मेरो मोबाइलले “your balance is getting low ” भन्दिन्छ । पीडा सुन्दा जाबो लाग्न सक्छ । तर दैनन्दिनको बाध्यतालाई जाबो भनेर पनि कहाँ धर पाईन्छ र ? म यो समस्या कसलाई सुनाऊ ?
‘जुम अनलाइन कक्षा सुरु गर्नुस् अनि कति विद्यार्थीको घरमा ईन्टरनेटको सुविधा छ र कतिकोमा छैन विद्यालयलाई तथ्यांक उपलब्ध गराउनुस है ।’ यो अर्को मान्नै पर्ने आदेश । ‘हस् म गरिहाल्छु नि यति काम त ।’ म विद्यालयको आदेश अनुरोधलाई नकार्ने हैसियत राख्दिन तर अनलाइन कक्षाका लागि मेरै ल्यापटपले नो इन्टरनेट कनेक्सनको हैसियत देखाईदिन्छ ।
पर्समा त पैसा महिनौंदेखि छिर्न पाएको छैन तैपनि बैंक एकाउन्ट चेक गर्न मन लाग्छ । थाहा छ । मासिक तलव नआएको तीन महिना बढि भयो तैपनि नेटमा हाल्ने पैसा पो छ कि ? रित्तो पर्सजस्तै रित्तो एकाउन्टले यति नमजाले गिज्याउँँछ नि । म लुत्रुक्क हुन्छु । न सहनु न कहनु कस्तो पिडा हो यो हामी शिक्षकहरुलाई ?
हुन त यो पेट पनि उस्तै । लकडाउन छ भनेपछि किन खान चाहिने ? बुझ्नुपर्दैन पेटले ? पसलमा गएर सामान किनेर साहुजी कति पैसा भयो यो सामानको ? मेरो उधारो खातामा लेख्दिनुस है । अब लकडाउन नसकिँदासम्म उधारो नै चलाउनुपर्ला भन्दा साहुजी व्यङ्ग्य गर्दै अहिलेसम्म जागिर खाएको पैसा कहाँ राख्यौ र भन्छन् ? के थाहा उनलाई मासिक १०/१५ हजारका लागि म यति मेहनत गरिराखेको छु र त्यो १०/१५ हजार आउँदा नआउँदै सकिन्छ भनेर ।
म पनि यदि सरकारी जागिरे हुन्थे भने बैंकमा जम्मा गरेको पैसा एटिएमबाट निकालेर लकडाउन अझै लम्बाउ सरकार भन्दै अगाडि मासुका नयाँ नयाँ परिकारहरुसहितको सेल्फी फेसबुकमा पोस्ट्याउँथे होला । खैर, मलाई त्यो रहर पनि जागेन । घरमा खाएका केही परिकार फेसबुकमा देखाएर अभावमा गुज्रनेहरुको अवस्थामा गिज्याउन आत्माले पनि दिएन ।

आफ्नो पेसा, व्यवसाय हुनेहरु त बिस्तारै बिस्तारै अब आफ्नो काममा सायद फर्कनुहोला। हामीहरुलाई त त्यो पनि सम्भव छैन । विद्यालय त झन् त्यस्तो ठाउँ हो जहाँ भिडभाड नगरी सुखै छैन। विद्यालय खुलाउन हतार गरेर चीन र इटालीकोजस्तो जोखिम हामी उठाउँदैनौं । हामीलाई हाम्रा विद्यार्थीको स्वास्थ्यको चिन्ता छ । त्यसैले अवस्था सामान्य भएर विद्यालय खुल्ने सम्भावना ज्यादै न्यून छ । यसका लागी अझै लामै समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

के त्यसो भए यहि धिकिर धिकिरमै हामी निजी विद्यालयका शिक्षक घिस्रिने हो त ? अब सम्बन्धित निकायले सोच्नु पर्ने बेला आइसकेको छ। निजी विद्यालयको छाता संगठन प्याब्सनले अब यस विषयमा गम्भीर चासो देखाएर सरकारलाई दबाब दिन सकेन र निकट भविष्यमै शिक्षकहरुले केही राहतको प्रत्याभुती पाउन सकेनन् भने श्वास फेरिफेरि मरिरहेका शिक्षकहरु दुई छाक खान नपाएर श्वास फेर्नै छोडेर मर्ने दिन अब धेरै पर छैन ।