जावेद अख्तरलाई ‘रिचर्ड डाँकिन्स पुरस्कार’

जेठ २६, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, जेठ २६ : बलिउडका सफल गीतकार जावेद अख्तरलाई विश्व चर्चित ‘रिचर्ड डाँकिन्स पुरस्कार’बाट सम्मानित गरिएको छ । जावेद यो पुरस्कार प्राप्त गर्ने पहिलो भारतीय नागरिक समेत बनेका छन् ।

यो पुरस्कार विश्व चर्चित अंग्रेजी विकासवादी जीव वैज्ञानिक रिचर्ड डाँकिन्सको नामबाट प्रदान गरिन्छ । यो पुरस्कार सन् २००३ बाट प्रदान गर्न थालिएको हो ।

यो पुरस्कार विज्ञान, खोज, शिक्षा र मनोरञ्जन क्षेत्रमा काम गर्ने एक यस्तो व्यक्तिलाई प्रदान गरिन्छ, जसले सार्वजनिक रुपमै धर्मनिरपेक्षताको रक्षाका लागि काम गर्दछन् ।

अवार्डको बारेमा सामाजिक संजालमा जानकारी दिदै अख्तरकी श्रीमति नायिका शबाना आजमीले लेखेकी छिन्–‘म निकै खुशी छु । मलाई थाहा छ कि, रिचर्ड जावेदलाई प्रेरणा दिने नायकको रुपमा रहेका थिए । यो पुरस्कार यसकारण पनि महत्वपूर्ण छ कि, आजको समयमा धार्मिक कट्टरपन्थी धर्मनिरपेक्षतामाथि हमला गरिरहेका छन् ।’