‘बजेटकाे प्राथमिकतामा मन्दिर कि विद्यालय ?’

असार ०३, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, असार ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले राष्ट्रियसभाको आजको बैठकमा यतिबेला सरकारले शैक्षिक विकासका कार्यक्रममा भन्दा मन्दिरको मर्मत, सम्हार र संरचना निर्माणमा बजेट विनियाेजन गर्नु उचित नभएको बताएका छन् ।

‘सरकारले मन्दिर बनाउने हो कि विद्यालय ? गम्भीर प्रश्न खडा भएको छ । धर्मप्रति मेरो सम्मान नै छ तर आजको प्राथमिकता के हो ?’ भुसालले प्रश्न गरे । धर्म वैयक्तिक स्वतन्त्रताकाे विषय भएकाले विद्यालय निर्माण र शैक्षिक विकास आवश्यक भएको उनको भनाइ थियो ।

भुसालले कोभिड–१९ को महामारीको समयमा आएको मुलुकको बजेट समग्रमा सन्तुलित र मार्गनिर्देश दिने खालका विषय परे पनि संस्कृति रुपान्तरण गर्ने कार्यक्रम नरहेको बताए । उनले मन्दिरको मर्मत, सम्हार र संरचना निर्माणमा बजेट केन्द्रित भएको भन्दै आलोचना गरे ।

उनले नीति तथा कार्यक्रममा एक प्रदेशमा एक पर्यटन गन्तव्य बनाउने उल्लेख भएकोमा पर्यटन क्षेत्रको बजेट शीर्षक हेर्दा फलानो प्रदेशको फलानो पर्यटन गन्तव्य यो हो भनेर फेला पार्न नसकेको बताए । सिद्धान्त र व्यवहारमा फरक देखिएको र विगतमा गरिएका काममा समेत बजेट रोकिएको भुसालको भनाइ छ ।

उनले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ र शहीद गङ्गालाल श्रेष्ठको जन्मस्थल रामेछापको भँगेरीमा बन्न लागेको स्मृति पार्क र बिपी कोइरालाको पुख्र्यौली थलो सिन्धुलीको दुम्जामा बन्न लागेको स्मृति पार्कमा समेत बजेट नछुट्याइएको भन्दै आपत्ति जनाए । भुसालले भने, ‘त्यही नेताले यो मुलुकलाई यहाँसम्म ल्याएको हो, यस प्रकारको अपनामानलाई अत्य गर्नुपर्छ, राष्ट्रका निम्ति योगदान गर्ने नेताहरुको सम्मान विश्वभरि हुन्छ ।’

नेकपाकै अगमप्रसाद वान्तवा राईले पूर्वको चिया र अलैँची खेतीको विकासमा विदेशी संस्थाको भर पर्नुपर्ने अवस्था रहेकाले सरकारको लगानी जरुरी रहेको बताए । पूर्वी नेपालमा उत्पादन गरेको चिया भारतले आफ्नो लेभल लगाएर विदेश निर्यात गर्दै आएकाले नेपालमा नै लेभल लगाएर निर्यात गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

कोभिड–१९ सांसदहरुले बजेटमा राष्ट्रको आवश्यकता र प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, संस्कृति र कृषि क्षेत्रमा सन्तुलित रुपमा बजेट विनियोजन हुन नसकेको टिप्पणी गरेका छन् ।