ब्राइटनसँग आर्सनल अभागी

असार ०८, २०७७

एटुजेड अनलाइन खबर


लन्डन, असार ८ : इन्जुरी समयमा नियल माउपेले उत्कृष्ट गोल गरेपछि शनिबार इङ्लिस प्रिमियर लिगमा आर्सनलले ब्राइटनलाई  २–१ को नतिजा सुम्पिँदा वेस्ट ह्याममाथि २–० को जित निकालेको उल्भरह्याम्पटन शीर्ष चारनजिक पुगेको छ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलले ६८औं मिनेटमा लिएको अग्रतालाई अन्तिम १५ मिनेट कायम राख्न नसक्दा नतिजा सुम्पन बाध्य बनेको हो। भ्रमणकारी टोली आर्सनलका लागि निकोलस पेपेले बुकायो साकेको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर ७५औं मिनेटमा घरेलु टोली ब्राइटनका लागि लुइस डंकले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए। कोरोनाका कारण विश्रामजस्तो भएपछि नतिजा सुखद ल्याउने लक्ष्यका साथ मैदान उत्रिएको ब्राइटनले आक्रामक खेल खेल्दा इन्जुरी समयमा नतिजा उल्टाउँदै आर्सनललाई निराश बनाएको हो।

शनिबार पराजित भएको आर्सनल तालिकाको १०औं स्थानमा रहँदा जित निकालेको ब्राइटन तालिकाको १५औं स्थानमा छ। आर्सनलको ३० खेलबाट ४० अंक छ भने ब्राइटनको समान खेलबाट ३२ अंक छ।

शनिबारै शीर्ष चारनजिक पुग्नका लागि वेस्ट ह्यामलाई उल्भरह्याम्पटनले उसैको मैदानमा २–० ले निराश बनायो। जितसँगै उल्भर तालिकाको छैटौं स्थानमा उक्लिएको छ। छैटौं स्थानमा पुगेको उल्भर चौथो स्थानको चेल्सीभन्दा २ अंकले पछाडि छ। चेल्सीले एक खेल कम खेलेको छ भने पाँचांै स्थानको म्यानचेस्टर युनाइटेडसँग उल्भरह्याम्पटनको समान ४६ अंक छ। युनाइटेड गोलअन्तरमा अगाडि छ। शनिबार रोमाञ्चक जित निकालेको उल्भरह्याम्पटन यसै कारण शीर्ष चारनजिक रहेको हो।

अग्रता लिएको आर्सनलले रक्षात्मक खेल्दै गर्दा ब्राइटनले अग्रता लिन पुगेको हो। माउपेको गोल गरेसँगै आर्सनलका गोलकिपर बेनार्ड लेनोलाई औंला देखाउँदै आक्रोश जनाएका थिए।

‘आर्सनलका केही खेलाडीले आफ्नो आवश्यकता के हो बुझ्न जरुरी हुन्छ। खेलभरि जथाभाबी बोलिरहेका थिए,’ माउपेले भने, ‘मैदानभित्र चाहिनेभन्दा बढी बोलेको परिणाम हो यो।’

यता आर्सनलका प्रशिक्षक आर्टेटाले खेल गुमाउनु निकै पीडादायी भएको प्रतिक्रिया दिए। ‘खेल गुमाउँदा हामीलाई असहज भएको छ। खेल अवधिभर हामीले धेरै अवसर गुमायौं। अग्रता लिएपछि दोस्रो गोलका लागि हामीले प्रयास पनि गरेनौं, जसका कारण नतिजा सोचेविपरीत भयो।’

प्रिमियर लिगअन्तर्गत शनिबारै भएको अर्को खेलमा लेस्टर सिटीले वाटफोर्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। लेस्टर ५४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा वाटफोर्ड १५औं स्थानमा छ।

कोरोनाका कारण विश्रामजस्तो भएपछि नतिजा सुखद ल्याउने लक्ष्यका साथ मैदान उत्रिएको ब्राइटनले आक्रामक खेल खेल्दा इन्जुरी समयमा नतिजा उल्टाउँदै आर्सनललाई निराश बन्न बाध्य बनायो। एजेन्सी