ट्राफिक लाइट पुनः सुचारु

असार ०८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असार ८ : बन्द रहेको काठमाडौं उपत्यका भित्रका ट्राफिक लाईट संचालनमा आएको छ । सवारी दुर्घटना कम गर्न र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उपत्यकाका ट्राफिक लाईटहरू पुनःसञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखा जनाएको छ ।

पद्मोदय–१, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, सिंहदरबार, गौशालाका स्थानका ट्राफिक लाईट सञ्चालनमा आएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिए। पुतलिसडक, पद्मोदय २, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाईट तुरुन्त सञ्चालन आउने गरी तयारी थालेको जनाएको छ।

सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्न जाने हुँदा सम्बन्धित सम्पूर्ण चालक तथा पैदलयात्रीहरूले सबै किसिमका ट्राफिक नियमहरूलाई पूर्ण रूपमा पालना गर्न प्रहरीले अनुरोध समेत गरेको छ।