फिल्म राधेको सुटिङ तयारीमा सलमान खान

असार ०८, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, असार ८ : भारतमा लकडाउन चरणबद्ध रूपमा खुकुलो हुँदै गएपछि अभिनेता सलमान खानले आफ्नो फिल्म राधे (योर मोस्ट वान्टेड भाइ)को छायांकन सुरु गर्ने भएका छन् । यो फिल्म हालै सम्पन्न इदमा रिलिज गर्नुपर्ने थियो । तर, लकडाउनका कारण यो फिल्म इदमा आउन सकेन ।

महाराष्ट्र प्रदेशले आफूहरूले जारी गरेको नियमलाई पालना गर्दै सुटिङ गर्न सिनेकर्मीहरूलाई अनुमति दिएको छ । यसैक्रममा अभिनेता सलमान खानको फिल्म राधेको पनि छायांकनको अनुमति लिइएको छ ।

यो फिल्मको बाँकी एउटा गीत अब सुटिङ गरिने भएको छ । फिल्मका निर्देशक प्रभु देवाका अनुसार यो फिल्मका एउटा विशेष गीतमा अभिनेता सलमान र अभिनेत्री दिशा पटानीले छायांकन गर्दै छन् । फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु भएको पनि निर्देशक देवाको भनाइ छ ।

अभिनेता सलमान फिल्म राधेको काम सकेर अर्को फिल्म दवंग–३ लाई पनि तत्कालै पूरा गर्ने पक्षमा छन् । उनको यो फिल्म आगामी समयमा तीनदेखि चार महिनाको फरकमा रिलिज हुने बताइएको छ । त्यसैले, उनी आफ्नो यो दुवै फिल्मको तयारी पूरा गरेर चाँडै काम सक्ने पक्षमा रहेको पनि निर्देशक प्रभु देवाको कथन छ ।

फिल्म राधेलाई अब आगामी तिहारमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको छ । फिल्मको ८० प्रतिशत छायांकन सकेर पोस्ट प्रोडक्सन भइरहेको पनि निर्देशकले बताएका छन् । निर्देशक प्रभु देवाका अनुसार अब एउटा गीत र केही दृश्यको छायांकन बाँकी छ । गीतलाई पहिला बाहिरै खिच्ने भनिए पनि सलमानले स्टुडियोमा गर्ने सुझाव दिएपछि यो गीतलाई स्टुडियोमै छायांकन गरिने भएको छ ।