बेलायती स्तम्भकारको अकाउन्ट ट्विटरले गर्‍यो स्थायी निलम्बन

असार ०८, २०७७

एटुजेड अनलाइन खबर


सानफ्रान्सिस्को, असार ८ : एक बेलायती दक्षिणपन्थी स्तम्भकारको अकाउन्ट ट्विटरले स्थायी रूपमै निलम्बित गरेको छ । बेलायती स्तम्भकार क्याटी हकिन्सले लगातार घृणासम्बन्धी आचरण नीतिको उल्लंघन गर्दै आएको ट्विटरले जनाएको छ । ट्विटरका एक प्रवक्ताले हकिन्सले कसरी नीति उल्लंघन गरिन् भन्‍ने स्पष्ट बताएनन् ।

“ट्विरलाई सुरक्षित राख्नु हाम्रो मुख्य प्राथमिकता हो । दुर्व्यवहार र घृणित आचरणलाई हाम्रो सेवामा कुनै स्थान छैन,” ती प्रवक्ताले भने, “हाम्रो नियम तोडियो भने कारवाही जारी राख्‍ने छौं ।”

स्तम्भकार हकिन्स आप्रवासी विरोधी विचारका लागि चर्चित छिन् । गत जनवरीमा पनि ट्विटरले उनको अकाउन्ट बन्द गरिदिएको थियो । उनी सन् २००७ मा बेलायतको टेलिभिजन सो ‘द अपरेन्टिस’की प्रतियोगीका रूपमा चर्चामा आएकी थिइन् । विस्तारै उनी रुढीवादी टिप्पणीकारका रूपमा चिनिन थालिन् । आप्रवासी र मुसलमान समुदायप्रति अनुदार मानिन्छिन् ।