पाल्पामा पहिरो जाँदा ४ सवारी बगायो, तीनको मृत्यु

असार ०९, २०७७

एटुजेड अनलाइन खबर


पाल्पाकाे तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा  तीन जनाको निधन भएको छ। एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ  । मृतकको पहिचान हुन सकेको छैन । घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिराले गाडी बगाएको थियो । ट्रक, पानी ट्याङ्कर, एक बोलेरो र एउटा कार पहिराबाट पुरिएको उनले बताए।

सडकमा कार र बोलेरो जीप जोखिमावस्थामा  छन् । सडक चौडा बनाउने क्रममा पहिरो गएको हो । पहिराका कारण तानसेन–हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।