थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९५६१ पुग्यो

असार ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असार ९ : नेपालमा गत २४ घण्टामा थप ५३५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुगेको छ। त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ३७० जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार १ सय ४२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२/१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।

अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७३० जना छन् । यस्तै हालसम्म एक लाख ८१ हजार २७१ नमुनाको आरटी सीपीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १०३ र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको मन्त्रालयले जनाएको छ ।