सानो सहरबाट ठूलो फड्को

असार ०९, २०७७

एटुजेड अनलाइन खबर


मिलान, असार ९ : अर्जेन्टिनी सहर लगुना लर्गा, जहाँको जनसंख्या मात्र ६ हजार छ। सो सहर कार्डोबानजिकै छ। त्यहाँको क्षेत्रीय क्लब इन्सिट्युटोमा पाउलो डिबालाका बुबा एडल्फोले आफ्ना छोरोलाई व्यावसायिक फुटबल खेलाडी बनाउने उद्देश्यले त्यहाँको युवा एकेडेमीमा भर्ना गरिदिएका थिए। विश्वका अन्य राष्ट्रजस्तै अर्जेन्टिनामा पनि फुटबलको लगाव ज्यादा छ। पाउलो डिबालाले एक पटक मजाक गर्दै भनेका थिए, ‘अर्जेन्टिनामा बच्चाहरूलाई खेल्नका लागि पुतली दिनुभन्दा पहिले फुटबल दिइन्छ।’ त्यहाँका अन्य बालबालिकाजस्तै डिबालाको पनि एउटा सपना थियो, व्यावसायिक फुटबल खेलाडी बन्ने।

एडल्फोले डिबालामा छुट्टै क्षमता देखेर युथ एकेडेमीमा भर्ना गरेका थिए। क्लब इन्सिट्युटोले पनि उनको फरक क्षमताको पहिचान ग¥यो। क्लबले डिबालालाई युवा टोलीबाट खेल्न प्रस्ताव ग-यो। डिबालाले इन्सिट्युटो हँुदै इटालियन सिरी ‘ए’ महारथी युभेन्ट्स र अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेले। यस क्रममा उनी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीका टोली सहकर्मी बने। मेसी र रोनाल्डोसँगै एकै टोलीको सदस्यका रूपमा रहँदै खेल्न पाउनु आफ्नो कल्पनाबाहिरको कुरा रहेको डिबालाले बताउँदै आएका छन्।

‘सत्य के हो भने, मैले कहिल्यै पनि यो उचाइमा पुग्छु होला भनेर कल्पनासमेत गरेको थिइनँ,’ सिएनएनसँगको अन्तर्वार्तामा डिबालाले भने, ‘म सधैं फुटबल खेलाडी बन्न चाहन्थें। मैले सधंै मिहिनेत गरें, यो खेलप्रतिको लगाव सधैं कायम रह्यो। तर म यो उचाइमा पुग्छु भन्ने कहिल्यै सोचेको थिइनँ। युभेन्ट्स ठूलो क्लब हो। यहाँबाट खेल्नु आफैंमा विशेष हो। अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्न पाउनु अझ विशेष रह्यो। यस क्रममा मैले विश्व फुटबलका महान् खेलाडी रोनाल्डो र मेसीसँग खेल्न पाएँ।’

कोरोना भाइरसको महामारीका कारण तीन महिनादेखि रोकिएको सिरी ‘ए’ सुरु भइसकेको छ। ‘म अहिले प्रत्येक दिन रमाइरहेको छु किनभने यो सानो सहरबाट आएर यति उचाइमा पुग्नु कल्पनाबाहिरको कुरा हो,’ डिबालाले थपे, ‘अहिले मैले यी सबै सपना पूरा गरिरहेको छु। म थप उचाइमा पुग्न चाहन्छु, जुन मेरा बुबाका साथै मेरो परिवारले सपना देखेका छन्।’

सन् २००८ मा डिबाला मात्र १४ वर्षका थिए,उनका बुबा एडल्फोको क्यान्सरका कारण असामयिक निधन भयो। आफ्ना बुबाको निधनपछि भने डिबालाले आफ्नो व्यावसायिक खेलाडी बन्ने लक्ष्य पूरा नहुने सोचिसकेका थिए। तर डिबालालाई परिवारका अन्य सदस्यले भने निरन्तर सहयोग गरिरहे।

‘म सोच्न पनि सक्दिनँ, यदि अहिले मेरो बुबा मसँगै हुनुहुन्थ्यो भने म कति खुसी हुन्थें भनेर,’ डिबालाले भने, ‘यस्तो हुन लेखिएको हुनुपर्छ सायद। मलाई भाग्यले साथ दियो, परिवारले पनि। मैले यो समय पार गर्न किनै कठिनाइ झेल्नुप-यो। तर पनि मैले फुटबल गतिविधिलाई निरन्तरता दिएँ। टोली सदस्य र अन्य साथीहरूसँग समय बिताएँ। मलाई फुटबलले नै पीडाबाट बाहिर आउन मद्दत ग-यो।

‘हाम्रा लागि यो ठूलो धक्का थियो, तर यही समयबाट हामीले निर्णय लिन थाल्यौं। सानै उमेर भए पनि परिवारप्रतिको मेरो जिम्मवारी मेरो काँधमा आयो,’ भावुक हुँदै डिबालाले भने, ‘हामीले धेरै दुखकष्ट झेल्याैं। मैले फुटबल खेल्दा सधैं  बुबाले कहीं कतैबाट मेरो खेल हेरिरहेजस्तो लाग्थो। यसले पनि मलाई सधैं प्रेरणा मिल्यो।’

१७ वर्षको उमेरमा डिबालाले क्लब इन्सिट्युटोबाट आर्जेन्टिनाको दोस्रो डिभिजन  खेल्न थाले। उनको खेल क्षमता देखेर स्थानीय पत्रकारले उनलाई ला जोयाको नाम दिएका थिए। उनले आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाका विश्वकप  विजेता खेलाडी मारियो केम्पसको नाममा ४१ वर्षदेखि कायम रहेको इन्सिट्युटोबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। त्यहाँ एक सिजन बिताएका उनी अर्को सिजनका लागि इटालियन क्लब पालेर्मोमा १४ मिलियन डलरमा आबद्ध भए । पालेर्मोबाट डिबालालाई युभेन्ट्सले ४० मिलियन डलरमा भित्र्याएको थियो।

पछिल्लो दुई सिजन २६ वर्षे डिबालाले आफूलाई युरोपमा एक उत्कृष्ट खेलाडीको रूपमा उभ्याएका छन्। गत सिजन उनलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मनले पनि इच्छा देखाएका थिए।

डिबालाले सन् २०१८ मा रोनाल्डो, युभेन्ट्समा भित्रिएपछि उनीबाट धेरै कुरा सिकेको बताए। यता सन् २०१५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि भने उनले लियोनल मेसीबाट पनि धेरै कुुरा सिक्ने अवसर जुरेको बताए।

‘मैले भिन्नता देखेको छु, तर म तुलना गर्न चाहन्नँ,’ रोनाल्डो र मेसीमध्ये को उत्कृष्ट खेलाडी हो भन्ने प्रश्नको कूटनीतिक जबाफ दिँदै डिबालाले मुस्कानका साथ भने, ‘म दुवै जनासँग खेल्न र अझै धेरै कुरा सिक्न रुचाउँछु। दुवै जना इतिहासकै अद्भुत खेलाडी हुन्,जसलाई सधैं सबैले याद राख्नेछन्। मैले दुवै जनासँग बोल्ने, सिक्ने र एउटै टोलीबाट खेल्ने अवसर पाएको छु।’

मार्चमा डिबालासँगै उनकी प्रेमिका ओरियाना साबाटिनीमा कोरोना पोजेटिभ देखिएको थियो। युभेन्ट्सकै डानियल रुघानी र ब्लासे मातौडीमा पनि पनि कोरोना भाइरस पुष्टि भएको थियो।

‘मलाई गम्भीर समस्या देखिएन, जसका कारण मैलै धेरै तनाव लिन परेन,’ डिबालाले भने, ‘तर मैले सावधानी भने सधैं अपनाएँ। म निरन्तर चिकित्सकको निगरानीमा रहें। दुई महिनाको उपचारपछि म कोरोनामुक्त भएँ।’

युभेन्ट्स र एसी मिलानबीच कोपा इटालियन कपको सेमिफाइनल पहिलो लेगसँगै इटालीमा करिब तीन महिनापछि फुटबल गतिविधि फर्किएको थियो। कोरोना भाइरस संक्रमणको त्रासका कारण रोकिएको फुटबल गतिविधि पुनः सुचारु भए पनि सबै खेल बन्द रंगशालामा हुनेछ।

‘बन्द रंगशालामा खेल्नु अनौठो लाग्यो,’ डिबालाले भने, ‘तर आशा छ अगस्टमा सुचारु हुने च्याम्पियन्स लिग अन्तिम १६ का खेलहरूसम्म अवस्था सामान्यतर्फ फर्कने र दर्शक मैदानमा उपस्थित हुनेमा म आशावादी छु।’  ‘हामीले धेरै दुखकष्ट झेल्याैं। मैले फुटबल खेल्दा सधैं  बुबाले कहीं कतैबाट मेरो खेल हेरिरहेजस्तो लाग्थो। यसले पनि मलाई सधैं प्रेरणा मिल्यो।’