‘लाइभ्स म्याटर’ लाई सघाउन लिलामीमा चित्रकला

असार ०९, २०७७

एटुजेड अनलाइन खबर


लस एन्जल्स, असार ९ : प्रहरी नियन्त्रणमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको हत्या भएपछि जारी ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनले निरन्तरता पाइरहेको छ । अमेरिकाभर चर्किएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनलाई निरन्तरता दिनको लागि आर्थिक सहयोग जुटाउन एक ग्यालरीले कलाहरू अनलाइनमार्फत लिलामीमा राखेको छ ।

लस एन्जलस नाइट ग्यालरीले ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनले विभिन्न चित्रकलाहरू ‘आपतकालिन’ अनलाइन लिलामीमार्फत बिक्री गरिरहेको छ । लिलामीबाट उठेको शतप्रतिशत रकम ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनसहित चार अभियानलाई प्रदान गरिने जानकारी लस एन्जलस नाइट ग्यालरीले दिएको थियो ।

आगामी जुन २२ सम्म चल्ने सो लिलामीमा कन्डिस विलियम्स, मारिसा टकल, ग्रान्ट लुसेरो र एवल एरिज्कुका कलात्मक कामहरू समावेश छन् । ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनलाई समर्थन गर्दै सेलिब्रेटीहरूले आर्थिक सहयोग गरेका छन् ।

फ्लोयडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकासहित संसारभर प्रदर्शन भइरहेका छन् । सेता जातिका प्रहरीले फ्लोयडको घाँटी थिचेको फुटेज सार्वजनिक भएलगत्तै चार जना प्रहरीहरूलाई बर्खास्त गरिएको थियो । फ्लोयडको पोस्ट मोर्टम रिपोर्टमा उनलाई मुटु समस्या रहेको र प्रहरी अधिकारीहरूको थिचाइले मृत्यु भएको उल्लेख गरिएको थियो ।

रिपोर्टमा प्रहरीले फ्लोयडको घाँटीमा आठ मिनेट ४६ सेकेन्डसम्म थिचेको भनिएको थियो । घटनासम्बन्धी एक फुटेजमा विवाद कसरी भयो भनेर नदेखिएपनि प्रहरीको घुँडाले फ्लोयडको घाँटीमा राखेको देखिन्छ । फुटेजमा उनले ‘मैले सास फेर्न सकिरहेको छैन’ र ‘मलाई नमार’ भनेको सुनिन्छ ।